२०७२ वैशाख १२ गते शनिबार नेपाली नागरिकका लागि महाविपत्ति लिएर आएको दिन । पाँच वर्ष अगाडिको त्यही दिन हो, नेपालमा महाभूकम्प गएको । सोही २९ मा गएको अर्काे शक्तिशाली पराकम्पसमेतले ८ हजार बढी नेपालीको ज्यान लियो । हजारौं घरहरु पूर्ण क्षति भए भने त्यही संख्याको घरमा आंशिक क्षति भयो । हाम्रा ऐतिहासिक, धार्मीक र सांस्कृतिक सम्पदाहरु आंशिक र पूर्ण रुपमा नष्ट भए । हजारौ नागरिकको नाना, छाना र खाना खोसियो । सानो भूगोल र सोही आकारको जनसंख्या भएको हाम्रो देशमा ८ हजार बढीको ज्यान जानु सानो कुरा थिएन ।
महाभूकम्पले हामीलाई लडाएको थियो । हामी उठ्ने प्रयत्नमा थियौं । ६ महिना वित्दा नवित्दै छिमेकी भारतले लगाएको नाकाबन्दीले हामीलाई अझ असजिलो बनायो । तर हामीले हारेनौं । यसबीच गणतान्त्रिक संविधानको कार्यान्वयनका लागि स्थानीय, प्रदेश र संघीय निर्वाचन भए । देश संघीयताको कार्यान्वयनमा अगाडि बढ्यो र संगै आर्थिक संमृद्धिको मार्गमा पनि । तर जनअपेक्षा अनुरुप काम भने हुन सकेका छैनन् । महाविपत्तिको पाँच वर्ष पूरा हुँदै गर्दा पनि पूनः निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पूनः निर्माणको काम ६० प्रतिशत आसपास मात्र पूरा हुनुले भूकम्प पिडितहरुलाई राज्यले आफुहरुको अभिभावकत्व ग्रहण गर्न नसकेको अनुभूत हुन थालको छ । अझ कोरोना भाइरसका कारण गर्नु परेको लक डाउनले पूनः निर्माणको कामलाई अझ पछि धकेल्ने र पिडितले आकशलाई छानो बनाएर बस्नुपर्ने अवस्था लम्बिने निश्चित जस्तै भएको छ ।
आफ्ना नागरिकलाई विपत्तिको त्रासबाट मुक्त बनाउन त्यस पछिका सरकारहरुले ढिला गरेकै हुन् । राजनैतिक स्वार्थमा अल्झँदा पिडितले राहत पाउने काममा ढिलाई भएकै हो । तर अब राज्यले गम्भीर भएर तिब्रताकासाथ घर तथा सम्पदाको पूनः निर्माणको कामलाई अगाडि बढाउनु पर्ने देखिन्छ । विश्वव्यापि रुपमा माहामारीको रुपमा फैलिएको कोरोनाले हामीलाई थप असजिलोमा पारेको छ । तर हामीले संयमता पूर्वक सबै विपत्तिको समानामा लाग्नुको विकल्प छैन । सबै मिलेमा विपत्तिलाई हामी सजिलै पार लगाउन सक्छौं ।
मिलेर विपत्तिको समना
previous post