क्रमशः
हामीले कस्तो संस्कृतीको विकास गरिरहेका छौं ? भन्ने कुरा सोच्ने बेला आएको छ । काम विशेषले कुनै युवती, छोरी एक्लै बाटोमा हिंड्दा कुनै पुरुषले देखेको छ भने उक्त पुरुष उक्त युवतीलाई आँफूप्रति आकर्षण गर्नकै लागि उक्त युवतीलाई अघि पछि गर्दै हिंड्ने, सुसेल्ने, गीत गुनगुनाउने, ताली पिट्ने जस्ता गतिविधि गर्ने गरेको पनि देखिन्छ । एउटी युवती छोरी खुला भएर निर्धक्कका साथ हिंड्दा, एक्लै बाटोमा हिंड्दा पनि कठिन परिस्थितीको सामना गनुपर्ने हुन्छ । कुनै पुरुषले छोरी भएर सोच्दैनन् । चाहे प्रौढ नै किन नहोस् । कसैले यस्तो गर्नु राम्रो होइन भन्ने हो भने फूल माथि भ्रमरा त बसिहाल्छ नि ! भनेर सहजै बताउँछन् । कति सहज रुपमा लिन्छन् । पुरुष नारी माथिको खिसी टिउरीलाई । यसरी छोरीको अस्मिता माथि खेलवाड गर्ने एउटा पुरुष भमरा जस्तो किरासँग पनि आँफूलाई तुलना गर्न पछि पर्दैन । हो फूल सँग तुलना गरेकी छोरीलाई फुलकै रुपमा दृष्टि दिन अनि सम्मान गर्न सक्दैनन् । बरु किरा बनेर फूलको रस चुस्दै फुल फुल डुल्नमा नै उद्यत देखिन्छन् ।
फूल भमरासँग तुलना गरी छोरीलाई अनेकौं बहानाले नाङ्गो बनाउने, उक्त छोरीको चरित्र हत्या गर्ने अनि समाजमा अनेकौं टिका टिप्णी गर्दै पुरुष नै हिड्छन् । दिनभर महिला आन्दोलन र महिला मुक्तिको भाषण गर्दै हिड्ने पुरुष नै हुन्छ । उहि पुरुष जो दिनभर भाषण गर्दागर्दै थाकेको हुन्छ । उहि पुरुष थकाई मार्न र दिनभर बोलेका र गरेका विश्लेषण, संष्लेषण गर्न कुनै भट्टिमा पसेर रक्सिका बोत्तल सँग महिलालाई तुलना गर्न समेत पछि पर्दैनन् भने घरमा पुग्दा, घरको काम नसक्दा उनकै श्रीमतिले अनेकौं किसिमका अपमानित कुरा सुन्नु पर्छ अनि व्यवाहार भोग्नु पर्छ । त्यसो त सबै पुरुषको नियति प्रवृत्ति एउटै नहुन र नरहन सक्छ । तर पुरुषले आँफूले बिहे गरेर ल्याएको भन्दैमा श्रीमति आफ्नो इच्छामा मात्रै चल्नु पर्छ भन्ने सोच राख्नु कति सम्म न्याय सँगत हुन्छ ? त्यासो भन्दै गर्दा पुरुषले भनेका कुनै कुरा मान्य नहुने र महिलालाई जे भने पनि हुने भन्ने पनि होइन । तर आफ्ना, आफन्त र परिवार छोडेर आएकी महिला पुरुषको मनोरञ्जनको साधन मात्र बन्नुपर्ने अनि सन्तान जन्माउने मेसिन भएर आँफूलाई एउटा पुरुषमा समर्पण गर्नु नै हो त छोरीको पूर्ण जीवन ? एउटा पुरुषको इच्छा अनुसार पुरुषको चाहना पुर्ति गर्नु अनि अनि पुरुषको खुशिमा आँफूलाई बगाउनु हो त छोरीको पुर्ण जीवन ? पुरुषका खुशीका लागि महिलाले कैयौं इच्छा चाहनालाई तिलाञ्जली दिनु पर्ने कस्तो समाजको निर्माण गरेका छौं । हामीले हरेक वर्ष म हिला विरुद्ध हुने हिंसा घटाउनको लागि अभियान चलाइन्छ । अभियानलाई एउटा पर्वको रुपमा मनाउने गरिन्छ । तर आम महिलाका समस्याहरु जहाँको त्यहीं रहेका छन् । अझै पनि महिला हिंसा घट्न सकेको छैन् । सुन्दैमा अत्यास लाग्ने, सहजै कल्पना सम्म पनि गर्न नसकिने दर्दनाक घटनाहरु समाजमा दिन प्रतिदिन बढिरहेका छन् । ग्रामीण समाजमा घट्ने घटना प्रायः गरी मादक पदार्थ सेवन गरी महिला माथी यौन हिंसा, शारीरिक तथा मानसिक हिंसा हुने गरेका छन् । यतिवेला महिला माथि हुने हिंसाका विरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर शहरका सडक तताई रहँदा, विभिन्न कार्यक्रम गरिरहँदा गाउँमा भने त्यसको कुनै प्रभाव परेको हुँदैन् । शहरका ठुला सभाहलमा महिलाको हक अधिकार सम्बन्धि कार्यक्रम हुँदै गर्दा ग्रामिण वस्तीका महिला भने त्यसबाट पुरापुर बेखबर छन् । हेर्दा लाग्छ यस्ता कार्यक्रम गाउँका अशिक्षा, अभाव, पिडामा बाँच्न विवश अनि शारीरिक तथा मानसिक हिंसा हुने महिलालाई होइन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै यस्ता घरेलु हिंसा विरुद्ध अभियानको रुपमा कार्यक्रम गर्दा गर्दै गाउँका महिलाहरु आफ्नै श्रीमानबाट पिटिएर, थिलिएर अनि भोको शरिर लिएर मेलामा काम गरिरहेका हुन्छन् । घरको धन्दा गरिरहेका हुन्छन् । छोरा, छोरी, भाई, बहिनिको स्याहार गरिरहेका हुन्छन् ।
स्तन्त्रताको अनि समानताका रटान लगाएता पनि महिला प्रति गरिने व्यवाहार सोचाइमा तथा भावनामा सकारात्मक परिवर्तन नआए सम्म छारीहरु आफ्ना बाध्तालाई सहेर मृत्युलाई रोज्न बाध्य हुन्छन् । सदियौं देखि संसकार अनि प्रथाको रुपमा विकास भएको पितृसतात्मक सोचको जरा उखेलेर नफाले सम्म आम छोरीहरुले मुक्तिको स्वास फेर्ने छैनन् ।