कलेस्ती/व्यास नगरपालिका वडा नं. ७ ले ट्राफिक पोष्टको माग गरेको छ । वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको अध्यक्षतामा असार २ गते बसेको बैठकले वडाभित्र एक ट्राफिक पोष्ठ माग गर्ने निर्णय गरेको हो । व्यास मार्गमा गुड्ने सवारी चाप बढेपछि वडामा ट्राफिक पोष्ट अपरिहार्य भएको वडावासीले महसुस गरेका थिए । वैठकमा टोलविकास समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो । दमौलीदेखि लमजुङको भोर्लेटार र सोतीपसलसम्म हुँदै भानु नगरपालिकाको पोखरीछापसम्म पुग्ने मार्गहरु विस्तार भएसँगै सवारी चाप र नियम पालना नगरी मोटरसाइकल लगायत दुईपांग्रे सवारी चलाउनेहरु बढेकोले ट्राफिक चेक पोष्ट राख्न आवश्यक ठानेर निर्णय गरिएको वडा अध्यक्ष न्यौपानेले बताए । आफूहरुले कानुनको पूर्ण पालना गरी सभ्य र समुन्नत समाज स्थापित गर्न चाहेकोले पनि पोष्ट राख्न अनुरोध गर्ने निर्णय गरिएको उनले बताए । ‘व्यास मार्ग साँगुरो छ,’ उनले भने, ‘तर दुईपांग्रे सवारी चलाउनेहरुको संख्या झनै बढ्दो छ । नियममा बाँधिएर सवारी चलाउन प्रोत्साहन मिल्ने ठानेर ट्राफिक पोष्ट स्थापना गरिएको उनले बताए । बैठकमा वडा सदस्यहरु युवराज गुरुङ, कुलदिप बानियाँ, पम्फा वाग्ले र भक्तमाया विक लगायतले सबैको साथ र सहयोग जुटाउन पनि बैठक बोलाईएको बताएका थिए । प्रहरी चौकी कलेस्तीका प्रहरी सहायक निरिक्षक झनक महतले व्यास मार्ग क्षेत्रमा दैनिक करिव २ सय सवारी साधन चल्ने भएकोले पनि ट्राफिक पोष्ट राख्न आवश्यक ठानिएको बताए । वैकल्पिक व्यवस्था नभएसम्म तत्कालको लागि एक जना ट्राफिकलाई आफूहरुले वसाई व्यवस्थापन गर्न सक्ने समेत उनले बताए । ट्राफिक पोष्ट माग गर्ने विषयमा व्यास ७ का नागरिक समाज, टोलका अध्यक्ष लगायतलाई छलफलमा बोलाएर निर्णय गर्दा प्रभावकारी हुने ठानेर बैठक बोलाएको वडा सचिव सुमित्रा बरालले बताईन् ।
प्रहरी र नागरिक विच आपसी समन्वय हुन सकेमात्रै समुन्नत समाजको निर्माण हुने भएकोले प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै हुनु पर्ने पत्रकार पूर्ण विकेले बताए । प्रहरी एक्लैले समाजमा शान्ति र सुरक्षा स्थापित गर्न नसक्ने भएकोले नागरिक समाजको साथ अपरिहार्य भएको उनले बताए । बैठकमा व्यास ७ का अगुवा मनबहादुर गुरुङ, तोरिखर्क खानेपानी उपभोक्ता समिति अध्यक्ष पूर्णवहादुर गुरुङ, कलेस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष रामचन्द्र परियार, कलेस्ती टोल विकास संस्थाका अध्यक्ष रमेश वाग्ले, कलेस्ती युवा क्लवका अध्यक्ष शिवलाल प्रधान, महिला अगुवा कल्पना केसी लगायतले टूाफिक पोष्ट आवश्यक रहेकोमा जोड दिएका थिए ।