म किसान
‘किसानैको राम्रो सुखमय आहा जीवन काल
खनीखोस्री रोपी लहलह बनाई सव खला !’
कवि शिरोमणि लेखनाथ पौडेलले किसानको प्रसंसामा रचना गर्नुभएको कविताको एक अंश हो यो । किसान मानव मात्रको अन्नदाता नभएर सम्पूर्ण प्राणी जगतकै उदरपुरक भन्दा पनि फरक नपर्ला ! पृथ्वीमा जति मान्छे छन् ती सबलाई जीउँदो बनाई उभ्याउने चीज खाना हो । खाना जे सुकै खाउन, जस्तो सुकै नाम गरेको खाउन, आखिर त्यो खानाको श्रष्टा किसान हो । जलचर, स्थलचर जेसुकै हुन् किसानकै उपजको लित्कोपित्कोले धानेको हुन्छ । घरपालुवा वा जंगली प्रत्यक्ष वा अप्रत्यक्ष कृषि उपजले नै भरण पोषण गरिरहेको हुन्छ । दुई खुट्टे वा चार खुट्टे, मुसा हुन वा खरायो, दुम्सी मिर्ग, हरिण, गैडा हात्ती र कमिला समेतलाई पनि किसानकै पसिना पाखुरीको उपजको स्वादले रमाउँछन् । यसरी भन्दा सबैका पालनकर्ता किसान । यी सबैसंग पंखेजोरी खेल्नु पर्ने किसान ।
किसानले गरेको उत्पादन कसैले किनेर खान्छन् । कोही मागेर, कोही खोसेर, कोही लुकेर, चोरेर, फकाएर, झुक्याएर जे गरेर हुन्छ खान्छ खान्छ । एक दिन खान नपाए रन्थनिन थालिहाल्छ । ओठ मुख सुक्छ । हातखुट्टा बाउँडिन थाल्दछ । उ लखतरान हुन्छ । मै हूँ भन्ने बलविर पनि लठ्ठीको साहारामा उभिन पर्ने हुन्छ । यी सबका पालनकर्ता किसानको न मान छ, न इज्जत । भर्जन्म खेती गरी बजारतिर झरेकाहरुले समेत पाखे भन्ने रे ! उनै पाखेले लगिदिएको दुई चार माना कोदो, मकै, मास, भट्ट तथा आलू, पिँडालु, लसुन, प्याज, साग मुला पाउँदा खुशी हुँदै गाउँबाट ल्याएको अग्र्यानिक भन्दै लुछाचुडी गरी खान पर्ने ! भैंसी पाल्दा दुःख हुनेलाई बजार झ¥यो कि त्यही गाउँको घिऊ चाहिने ? यस्ता नकच्चराहरुले अलिकति सोंचुन्, आफैले दुःख लागेर छाडेको त्यही चिज अर्काले उब्जाएको खान ।
एक्काईसौं शताब्दी, विज्ञान र प्रविधिले चरमउत्कर्षमा पुगेको यो युग र म जस्ता किसानले जोत्ने गरेको हलोलाई दाँजेर हेरौं, सायद त्रेता, द्वापर युगतिर बनेको हलो होला, त्यसमा ठोकिने एउटा ठेडीसम्म नयाँ खालको बनाएर प्रयोग गरेको देखेको छैन । फाली, करुवा, अनौ, हरिस, सापो, जुवा, नारा, जोतारा जस्ताको तस्तै छन् । एउटा चिज पनि सुधार गरी त्यसलाई अझै सरल बनाउन जस्तो सुकै कृषि विज्ञ वा अनुसन्धानकर्ताले अझसम्म सकेको देखिएन । हाम्रा पुर्खाले त्यो खाले हलो नबनाई दिएको भए खेती को त कुरै छोडौं, गिठ्ठा म्याकुर खाएर बसेका हु्ने थियौं होला हामी । यो भन्दा कतिलाई कन्सिली तात्ला ? टेक्टर देखेकै रहेनछ कि भन्लान ? आधीले हलो पुगेको ठाउँमा ट्याक्टर पुग्छ ? हलो जस्तै सर्वसुलभ छ ? म जस्ता सबै किसानले किन्ने र चलाउने हैसियत छ ? खेतवारी सबैमा टेक्टर लाग्छ ? अहँ छैन । फेरी आयो कुरा उही हलो कै । जस्तो ठाउँमा नि जोत्ने, जस्ताले नि जोत्न जान्ने, न तालिमको झन्झट, न पाटपुर्जा नपाईने पिर, न आयात निर्यातमा ट्याक्स, विग्रयो कि उतिखेरै बनाउन सकिने । यस्तै नेपालका कुना काचाको माटोले मन पराएको हलो जस्तै सर्वसुलभ यन्त्र आविश्कार गर्न वैज्ञानिकलाई कति बर्ष लाग्ने हो ? कि यता कसेको ध्यान नपुगेको होला ?
यसो विचार गर्दा मेरो खेती गर्ने तौर तरिका पनि अचम्मको लाग्दछ । बाह्रै महिना केही न केही खेती लगाएकै हुन्छु । बाह्रै महिना याने कि महिनै पिच्छे खेती स्याहारि राख्या नि हुन्छु । मलाई कुनै महिना फुर्सद छेन । कि त खेती लगाउने काम हुन्छ, कि त स्याहार्ने । ताजुवको कुरा खाना पकाउने बेलामा कि त चामल हुँदैन । कि त तरकारी । एउटा न एउटा समस्या मलाई आउँदछ । बाह्रै महिना खेती लगाउने र स्याहार्नेलाई कम्तिमा खान त पुग्नु पर्ने हो । तर पुक्दैन । यसको अर्थ मैल अझै बुझेको छैन । सायद आफैले उत्पादन गरेको उपजले आफैलाई खाना पुग्दो रहेनछ । मेरा साथी कृषक धेरै हुनुहुन्छ होला ।
आखिर म कस्तो किसान ?
१) कहिल्यै फुर्सद नहुने ।
२) खेती गरेको छ, आफैलाई खाना नपु¥याउने ।
३) पृथ्वीमा उत्पादन हुने सबै खेती गर्न मन हु्ने, रोप्ने बेलामा बीऊ पनि किन्नु पर्ने ।
४) भैसी पाल्ने, अन्नजति त्यसैलाई ख्वाएर सक्ने ?, घ्याू नभएर तेलको भुटुन खाने ।
५) पकाउने बेलामा तरकारी नभएर खोज्दै हिड्ने, वा किनेर बजारको खाने ।
६) आफूले निर्णय नगर्ने, अर्काले खेती गरेको देखेपछि मात्र
आत्तिने ।
७) उत्पादन र खर्चको लेखाजोखा नगर्ने । धान काट्ने, उठाउने, दायीँ गर्ने काममा विहेको भन्दा ठूलो भोज गरेर शान देखाउने
८) घर हुँदा प्रवाह नगर्ने, सकिएपछि ठण्डाराम भएर
बस्ने ।
९) अलिकति बढी भएको उत्पादन उधारो दिई असामी लगाउने ।
१०) नयाँ प्रविधि, ज्ञान सीप तालिम मल वीउ अनुदानको खोजी नगर्ने । सबले भन्दा बढी जानेको छु भनेर घमण्ड गर्ने ।
११) आफूले नगर्ने अर्कोलाई सिकाउने ।
म र मै जस्तो कृषि प्रणालीलाई बेलैमा सुधार गरिएन भने भोकमरी पहिला किसानबाट शुरु हुने भो । अरुको त कुरै छोडौं ।