मंसिर १४ मा संघिय संसदका लागि एक स्थान र प्रदेश सभा सदस्यका लागि ३ स्थान समेत गरी विभिन्न ५२ स्थानका लागि उप निर्वाचन सम्पन्न भयो । प्राप्त पछिल्लो नतिजा अनुसार सत्ताधारी नेकपाले ३७ जिल्लाका ५२ स्थान मध्ये ३१ स्थानमा जित हासिल गरेको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसले विभिन्न १३ स्थानमा जित हासिल गरेको छ । अरु साना दलहरुले पनि केही स्थानमा जित हासिल गरेका छन् ।
कतिपय अघिल्लो पटकको निर्वाचनमा विजय हासिल गरेका स्थानमा यस पटक सत्ताधारी दलले गुमाएको छ भने प्रतिपक्षी कांग्रेसको अवस्था पनि उस्तै छ । तर समग्र निर्वाचन परिणामलाई हेर्ने हो भने जनमतले सरकारलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेको देखिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा रहेको भरतपुर मनपा वडा नं १६ को नतिजा, भक्तपुरको प्रदेश सभा सदस्य पदमा सत्तारुढ दलको पराजय र धरान उपमहानगर पालिकाको प्रमुख पदमा भएको निर्वाचनमा नेकपाको घटेका मतले यहि कुरा दर्शाएको छ ।
उप निर्वाचनलाई जन अभिमत बुझ्ने अवसरका रुपमा लिएको प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि यसले सच्चिन आग्रह गरेको छ । पहिले जितका कतिपय ठाउँमा भएको हारको अर्थ यही हो । प्रतिपक्षको रुपमा जुन शसक्तता नेपाली जनताले कांग्रेसबाट अपेक्षा गरेका थिए त्यो नभएको जनाउ पनि हो यो । चितवनको विजयको अर्थ अरुलाई स्थानीय सरकारको सत्ता बागडोर दिनेगरी होइन आफ्नै नेतालाई दिने अवस्था आए हामी अवसर प्रदान गर्न तयार छौं हामी त्यो ल्याकत राख्छौं भन्ने कुराको सन्देश सायद देउवालाई दिन चाहेका हुन् । तर यस अघि कहिल्यै नजितेको धरानको जित, भक्तपुरको जितले गुट उपगुट त्यागेर आए आफुहरुको साथ रहने सन्देश मतदाताले दिएका छन् ।
वैकल्पिक शक्तिको रुपमा आफुहरुलाई उभ्याउन चाहेका साझा र विवेकशिल जस्ता दलहरुलाई भने मतदाताले पत्याएको देखिएन । वैकल्पिक शक्ति बन्छौं भन्दै गर्दा जुन विश्वास आम मतदातामा जगाउन सक्नुपर्ने हो त्यो कुरामा यी दलहरु चुकेका हुन् । अझ निर्वाचन सम्पन्न भएपछिको रविन्द्र मिश्रको वक्तव्यले त मतदातालाई विच्क्याउने प्रयत्नमात्र गरेको छ । मतदातालाई धन्यवाद दिनुसाटो भ्रष्टाचारलाई अनुमोदन गरेका भनेर आएको मिश्रको विज्ञप्तीले आगामी दिन सजिलो हुने देखिएको छैन ।