दमौली/राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आव्हान गरेका छन् ।
राष्ट्रपति पौडेलले सोमबार अजरबैजानको बाकु सहरमा सुरु जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) लाई मंगलबार सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन् । उनले पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई संकटमा पु¥याउँछ भन्ने विश्वले बिर्सन नहुने समेत बताए । विश्व नेताहरुको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै पौडेलले हिमालदेखि समुद्रसम्मको एकिकृत र समष्टिगत अनुकुलन अवधारणालाई औपचारिक सम्वादको विषय बनाउन प्रस्ताव समेत गरे ।
जलवायु परिर्वतनको मारबाट पृथ्वीनै संकटमा रहेको बताउँदै राष्ट्रपति पौडेलले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको उल्लेख गरे । पौडेलले गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीरकण गर्दै मानव सभ्यताको बचाउमा उपयोग गर्न समेत विश्व समुदायलाई आग्रह गरे ।
नगन्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेका उल्लेख गर्दै पौडेलल विशेषगरी गरिव, अल्पविकसित, विकासशील तथा साना टापु मुलुकहरू यसको पीडाबाट बढी प्रभावित रहेको बताए । विश्व समुदायको हित र पृथ्वीको रक्षाको लागि नेपालले प्राकृतिक स्रोतसाधनको उपयोगमा अनुशासन कायम राख्दै कार्बन उत्सर्जन न्यूनीकरणको महत्वाकांक्षी एनडीसी योजना कार्यान्वयन गरिरहेको, वन क्षेत्र बढाएको, स्वच्छ उर्जा उत्पादन र आपूर्तिमा जोड दिएको तथा अन्य थुप्रै सकारात्मक प्रयत्नहरु गरेको उनको जिकिर थियो । हिमाली एवम् अल्पविकसित मुलुकहरुलाई जलवायु न्याय एवम् दिगो विकास सुनिश्चित गर्न सम्मेलनले ठोस प्रतिबद्धता गर्ने राष्ट्रपति पौडेलको विश्वास थियो ।