पछिल्लो समयको नेपाली राजनीतिक घटनाहरुलाई नियाल्दा केही पात्रहरुको भूमिकाले बालापनको यादहरुको स्मरण गरायो । अहिलेका केटाकेटीहरुमा पनि त्यो व्यवहार देखिन्छ, हामी सानो छँदा हाम्रा व्यवहार पनि त्यस्तै थिए । सायद त्यो बालापनको प्राकृतिक प्रवृत्ति पनि होला । खासमा कुरा के भने सानोमा साथीहरुसंग खेल्दा कहिले त्यही साथीसंग असाध्यै
मिलिन्थ्यो । फेरी कहिले काहीँ सानो कुरामा नमिलेर त्यही साथीसंग बोली बाराबारको अवस्था पनि आउँथ्यो । बालसुलभ भाषामा कट्टी गरेको
भनिन्थ्यो । आफ्नो समूहको अन्य साथीहरुलाई सकेसम्म आफुतर्फ अकर्षित गर्ने प्रयास हुन्थ्यो । कट्टी गरेको साथीसंग अरु साथीहरु सकेसम्म नबोलुन्, नखेलुन् भन्ने खालको मनसाय पनि हुन्थ्यो । कहिले काहिँ कट्टी गरेको साथीसंग एकदम आवश्यक काम पर्दा न साथीले बोलाउने न आफुले बोलाउने भएर अप्ठ्यारो पर्दा कट्टी गरेकोमा पछुतो पनि लाग्थ्यो । धन्न सुखद कुरा चाहिँ बचपनको त्यो रीस, आक्रोष २÷४ दिन भन्दा ज्यादा
रहन्थेन । ती कुराहरु स्मरण गर्दा लाग्थ्यो सायद त्यो बालापनको विशेषता होला, प्रवृत्ति होला तर अहिले आएर आफ्नो सोचाई पूर्ण सत्य होइन कि जस्तो भान
हुन्छ । किन भने ६० कटेका वृद्धहरुले पनि पछिल्लो समय त्यस्तै त्यस्तै व्यवहारहरु देखाइरहेका छन् । गाउँ घरतिर केटाकेटी र बुढाबुढी उस्तै हुन् भन्ने भनाई छ । सायद साँच्चै रहेछ क्यारे ?
धेरै लामो भूमिका नबाँधिकन प्रष्ट रुपमा भन्दा मैले यहाँ को पात्रहरुको कुरा गर्दैछु भन्ने कुरा राजनीतिक विषय प्रति सामान्य चासो राख्नेले बुझिसक्नु भएको छ । मैले यस आलेखमा कुरा गर्न चाहेको नेकपाको पछिल्लो राजनीतिक घटनाक्रम र त्यहाँ भित्रको केही नेता भनिनेहरुको बारेमा हो । जो नेता बन्न लायक छैनन भन्ने कुरा फेरी एकपटक प्रमाणित भएको छ । प्रधानमन्त्रीको कुर्सी र पार्टी अध्यक्ष पद यो दुइ कुराको भागवण्डामा कुरो नमिलेपछि र मिल्ने छाँटपनि नदेखिएपछि प्रचण्ड कथित एकिकृत भनिएको नेकपाबाट छुट्टिएको कुरा घाम जस्तै छर्लङ्ग छ । पार्टी भित्र आफ्नो साख गुम्दै गएको हो कि भन्ने अड्कल काटेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु जसलाई ओलीको व्यवहार मन परिरहेको थिएन, उनीहरु पनि प्रचण्ड पथमै लागे । ओली पक्ष र प्रचण्ड–माधवकुमार पक्ष दुबैले आफुलाई असली नेकपा भनेर दावा गर्ने । सूर्य चिन्ह आफुहरुको भएको दावा दुवै पक्षले गरे । आपसी भनाभन, गाली गलौज, कटाक्ष गर्नु पर्ने र गर्न मिल्ने जति सबै गरे । तर अन्तिममा आएर अदालतले फैसला गरिदियो तिमीहरु एक भएकै छैनौं । माओवादी, माओवादी नै हौ । एमाले, एमाले नै हौ । तिमीहरु दुबै पुरानै अवस्थामा छौं । कत्रो आपत जनता झुक्याउन यत्रो विधि, नानाभाँती गरिसकेपछि अदालतबाट यस्तो फैसला । माधबकुमार–प्रचण्ड लगाएतले अदालतको यस्तो निर्णयको अपेक्षा गरेका हुँदा हुन् कि
नाई ? नमानौं सर्वाेच्च अदालतको फैसला कसरी नमान्ने, मानौं आफ्नो सबै योजना स्वाहा । भविष्य शून्य, सपना चकनाचुर । यस्तो अवस्थामा माधवकुमार नेपाल र प्रचण्डलाई भेट्न पाए सोध्न मन छ, हिजो त कुम जोडेर हामी यता भन्दै थियौ, अब चाहिँ हामी कता ?
अस्ति पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको एउटा अन्तवार्ता पढ्दा बडो अचम्म लाग्यो । उनको आशय थियो, प्रचण्डको पछि लाग्दा म बर्बाद भएँ । भोली यस्तो दिन पनि आउन सक्छ भनेर प्रधानमन्त्री भईसकेका नेपालले कति पनि विचारै गर्न सकेका थिएनन् र अहिले आएर प्रचण्डलाई दोष दिएको ? हुन त माधवकुमार नेपालले प्रचण्डसंग सहकार्य गरेर पार्टी फुटाउने सुर कस्नु आफैमा ताज्जुबको कुरा थियो किनभने तिनै माधवकुमार नेपालले कुनै समय मान्छे मार्ने ज्यानमारालाई पनि प्रधानमन्त्री बनाउनु हुन्छ ? भनेर प्रचण्डको धज्जी उडाएका थिए । तिनै नेपाल पछि आएर राजनैतिक सिद्धान्त र विचार नै नमिल्ने प्रचण्डसंग मिलेर आफ्नै पार्टीबाट अलग हुन खोजे । अहिले फेरी उनै नेपाल प्रचण्डको पछि लागेर म वर्वादभएँ भनेर बिलौना गर्दैछन् । कस्तो दोहोरो चरित्र हो यो ? माधवकुमार नेपालको अबको राजनीतिक भविष्य के ? के उनी जोखिम मोलेरै भएपनि प्रचण्डकै पछि लाग्ने आँट गर्न सक्छन् या रुझेको बिरालो जस्तै लुरुक्क परेर केपी ओलीकै शरण लिन जान्छ्न । माननिय ज्यू अब कता ?
माधवकुमार नेपालको भन्दा पनि बेहाल त यतिबेला प्रचण्डको भएको छ । लागै लागको सिंढी चदेर शिखरमा पुगेका प्रचण्ड नराम्रोसंग पछारिएका छन् । कुनै समय नेपालकै सबैभन्दा ठूलो पार्टीको अध्यक्ष प्रचण्ड जसलाई राजनीतिको माहिर खेलाडी भनेर मानिन्थ्यो अहिले यता न उताका भएका छन् । आफ्नो व्यक्तिगत स्वार्थ र राजनीतिक भविष्यको सुरक्षाको लागि पहिलेबाट एक्कासी तेस्रो पार्टीमा खुम्चिएको माओवादी केन्द्रलाई तत्कालिन एमालेमा विलय गराए । त्यही एमाले भित्र पनि आफु माथि उक्लिने दाउपेच नमिल्दा पार्टी नै फुटाउने सुर कसे । तर अन्तिममा आएर सर्वाेच्चले तिमी नेकपा होइनौं माओवादी नै हौ भन्दियो । पार्टीभित्र एकछत्र राज गर्न बलिया बाङ्गा जतिलाई त प्रचण्डले पहिल्यै पाखा लगाईसक्याथे । अब त बादल पनि अर्काकै बारीमाथि देखिन्छ । उतै पानी पार्ला, सिंचाई पुगेपछि उब्जनी पनि उतै होला । सर्सर्ती हेर्दा प्रचण्डलाई लामै खडेरी लाग्ने सम्भावना देखिन्छ । यस्तो अवस्थामा प्रचण्ड के गर्लान्, बचेखुचेको शक्ति लिएर फेरी एकपटक राजनीतिक मैदानमा प्रतिस्पर्धा गर्लान् या फेरी पहिले जस्तै कसैको शरणमा पुग्लान् ? के प्रचण्डसंग फेरी पेरिसडाँडामा हरियाली ल्याउने क्षमता छ या कसैलाई भाडामा देलान् ? प्रचण्ड जी अब कता ?
यतिबेलाको दृष्यलाई सरसर्ती नियाल्ने हो भने सबैभन्दा फाइदामा प्रधानमन्त्री केपी शर्मा ओली छन् । तर उनलाई पनि त्यति सजिलो त कहाँ छ र ? हिजो आफ्नै मनोमानी र तानशाही प्रवृत्तिले गर्दा सहकर्मीहरु भड्किएको कुरा उनले राम्रैसंग बुझेका छन् । पुराना साथीहरु खुरुखुरु घर फर्किए त अवस्था सहज होला तर ती असन्तुष्ट सहकर्मीहरुले सम्झौताको साटो वार कि पारको बाटो अंगाले भने ? उनका उखान टुक्काहरुलाई रुचाइन छाड्यो भने ? केपी जीलाई पनि सोध्नुपर्ने हुन्छ,“बा अब कता ?”
विघटित संसदलाई पुनःस्थापना गरेर सबैको मन जितेको सर्वाेच्चको पछिल्लो निर्णय प्रति भने केही सोच्नु पर्ने ठाउँहरु पनि छन् । किनभने तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकिकरण पश्चात नामाकरणको कुरामा मुद्दा परेको आजको कुरा होइन् । तीन–तीन वर्षसम्म किन सर्वाेच्चले यो विषयमा फैसला सुनाएन ? के अदालत यही समयको पर्खाइमा थियो ? के अदालतले कसैलाई गुनको पैंचो तिर्नुपर्ने कुरा हो र ? होइन भने अदालतको कसैलाई माओवादी केन्द्र र एमाले अझैपनि छुट्टाछुट्टै पार्टी भएको कुरा त स्पष्ट पारिदियो तर केपी ओली र प्रचण्ड संगसंगै मिलेर तीन वर्षसम्म गरेका कामहरु, निर्णयहरु, सहमतीहरु जुन नेकपाको नामबाट भयो, त्यसको बारेमा के गर्ने ? तीनलाई पनि एमालेले गरको र माओवादीले गरको भनेर छुट्याउन पर्ने त होइन कतै ?
नेपालको वर्तमान राजनीतिक परिदृष्यहरु बडो अचम्मको ढंगबाट अगाडि बढिरहेको छ । कुनै सिनेमाको कहानीभन्दा कम रोचक छैन । छिनछिनमै परिवेशहरु परिवर्तन भइरहेका छन् । पेरिसडाँडातिर भेटघाट सुरु भएको छ । पार्टी कार्यालयका साइन बोर्डहरु धमाधम फेरिँदै छन् । देउवा निवास तिर पनि नेताहरुको आउजाउ बाक्लिँदै छ रे । प्रतिस्पर्धीहरुको एकता टुटेकोमा प्रधानमन्त्री खुसी छन् भन्ने गाईगुईं पनि चल्न थालेको छ, बजारमा । राजनीतिक गुटहरुको कहिले जुट, कहिले फुट, जुटेपनि फुटेपनि मिलेर लुट, बाँडिएका आश्वासन सबै झुठ । विकास र समृद्धिका कुरा सधै अधुरा । सबै मिलेर बनाइराछन् देशको चिता, आखिर कहिलेसम्म हो यो रमिता ? हैन ए नेता ज्यू नढाँटी भन त अब तिमी कता, हामी कता अनि देश कता ?