दमौली/टंकनाथ शैक्षिक प्रतिष्ठानले टंकनाथ पराजुलीको दशौं स्मृति दिवसका अवसरमा प्रकाशनमा ल्याएको ‘टंकनाथ पराजुली स्मृतिदर्पण’ सोमबार मंसिर २४ गते लोकार्पण गराएको छ ।
दशौं स्मृति दिवसका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले स्मृति दर्पणको लोकार्पण गरेका थिए ।
टंकनाथ पराजुलीलाई तनहूँले एक शिक्षाविद्को रुपमा चिन्दछ । सामुदायिक विद्यालयको खस्केको गुणस्तर उकास्नमा पराजुली नेतृत्वको सत्यवती टिम सफल भएपछि यो विशेषणको पुष्टि भएको थियो । पराजुली परिवारको शैक्षिक विकाशमा टंकनाथ पराजुलीले निर्वाह गरेको भूमिकाले आजका दिनसम्म पनि आर्दश सदस्यको रुपमा अपनाएको छ ।
पराजुलीले सत्यवती माध्यमिक विद्यालयका पूर्व प्र. अ, जनज्योति क्याम्पसका प्रमुख र नेपाल शिक्षक युनियन तनहुँका प्रथम अध्यक्षको रुपमा जिम्मेवारी निर्वाह गरी आफ्नो जीवनकालमा समन्वयकारी भूमिकामा सफल व्यक्तित्वको रुपमा आफ्नो छुट्टै पहिचान टंकले बनाएका थिए ।
टंकनाथ पराजुलीको दशौ स्मृति दिवसको अवसरमा टंकनाथ पराजुली स्मृतिदर्पणको विमोचन एवं “वर्तमान शिक्षा प्रणालीमा परिमार्जन आवश्यक “ विषयक एक दिवसीय विचार गोष्ठी समेत सम्पन्न गरेको थियो । विचार गोष्ठीमा प्रा.डा. कुसुमाकर न्यौपानेले प्रस्तुत गरेको कार्यपत्र माथि अर्का शिक्षाविद् शेषमणि आचार्य र सूर्यभक्त सिग्देलले टिप्पणी गरेका थिए । दशौं स्मृति दिवसमा प्रमुख अतिथि शंकर भण्डारी लगायत नेकाका केन्द्रिय सदस्य एव ँसंविधानसभा सदस्य धु्रब बाग्ले, ब्यास न. पा. का मेयर बैकुण्ठ न्यौपाने, तनहु काँग्रेसका उपसभापति देव कुमार श्रेष्ठ, पूर्व डिन प्रा डा कृष्ण गौतम, शिक्षक महासंघका पुर्व उपमहासचिव बिजय पौडेल, प्रजातन्त्र सेनानी सँघका अध्यक्ष समुन्द्र गोदार, जनज्योति क्याम्पस भिमादका प्रमुख केशव काफ्ले ,सत्यवति मा विका प्र अ पूष्पकला भट्टराई लगायतका वक्ताहरुले स्व टंकनाथ पराजुलीको शैक्षिक योगदान र शैक्षिक प्रणालीको परिमार्जनको सन्दर्भमा आ–आफ्नो धारणा राख्नु भएको थियो । माधव भारद्वाजले उहाँको योगदानको बारेमा कविता बाचन गर्नुभएको थियो । टंकनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रेम प्रकाश भट्टराईको अध्यक्षतामा भएको उक्त समारोहमा उपाध्यक्ष कृष्ण हरि गैरेले स्वागत, स्वर्गिय टंकनाथकी धर्मपत्नी एवँ सँस्थाकी सँरक्षक राधा पराजुलीले धन्यवाद र सचिव खिमाकान्त पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । प्रतिष्ठानले प्रत्येक बर्ष नयाँ नयाँ कार्यक्रम गरेर स्व. टंकनाथको योगदानको अभिलेखिकरण गरिरहेको छ ।