दमौली/वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत तनहुँका १० वटै तहको नर्वाचन परिणाम आइसकेको छ । प्राप्त नतिजाले अघिल्लो निर्वाचनमा जिल्ला समन्वय समिति एकल रुपमा बनाउन सफल नेपाली कांग्रेस यस पटक अरुको सहयोग माग्नु पर्ने अवस्थामा पुगेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा १० मध्ये ६ वटा पालिकाको प्रमुख/अध्यक्ष तथा ६ वटै पालिकाको उपप्रमुख/ उपाध्यक्ष जितेर सहजै जिल्ला समन्वय समिति बनाएको कांग्रेसले यस पटक भने पाँच वटा पालिकाको प्रमुख/अध्यक्ष तथा त्यत्तिनै संख्यामा उपप्रमुख/उपाध्यक्ष जितेको छ । दोस्रो ठूलो दलको रुपमा रहेको एमालेले चार पालिका प्रमुख जितेको छ भने दुइ उपप्रमुख जितेको छ । अर्काे दल माओवादी केन्द्रले एक प्रमुख तथा तीन उपप्रमुखमा जित हात पारेको छ । पालिकाका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/ उपाध्यक्ष मतदाता हुने जिससको निर्वाचनमा जित हात पार्न कम्तिमा ११ मत आवश्यक पर्छ ।
निर्वाचन आयोगका अनुसार ऋषिङ गाउँ पालिकाको प्रमुखमा नेपाली कांगेसका राजेन्द्रकृष्ण श्रेष्ठ पुनः निर्वाचित भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकै गिनुमायाँ थापा निर्वाचित भएकी छन् । ऋषिङमा २०७४ को निर्वाचनमा ८ वटै वडा जितेको कांग्रेसले तीनवटा वडा गुमाएको छ । वडा नं १ मा माओवादी केन्द्रले जित हात पारेको छ भने वडा नं ७ र ८ स्वतन्त्र उम्मेदबारले जितेका छन् । ८ को वडाध्यक्षमा निर्वाचित भरतकृष्ण श्रेष्ठ शहीद सरस्वतीकृष्ण श्रेष्ठका छोरा हुन ।
अघिल्लो निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा कांग्रेसले जितेको म्याग्देको अध्यक्षमा यस पटक एमालेले जित हात पारेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्देको अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने बालकृष्ण घिमिरे दोहोरिएका छन् । उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदबार थिए । वडा फरक परेपनि अध्यक्षका संख्यामा भने कांग्रेस र एमालेको अघिल्लो निर्वाचनमा जस्तै ४/३ रहेको छ ।
जिल्ला सदरमुकाम रहेको व्यास नगर पालिकाको प्रमुख तथा उपप्रमुखमा पहिले जस्तै नेपाली कांग्रेसले जित हात पारेको छ । तर अघिल्लो निर्वाचनमा १४ मध्ये १३ वडाध्यक्ष जितेको कांगेसले थप दुइ वडा गुमाएको छ । व्यासमा एमालेले कांग्रेसबाट दुइ वडाध्यक्ष खोस्न सफल भएको हो । यहाँ एमालेका ४, ५ र ७ मा गरी तीन वडामा वडाध्यक्ष छन् । यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्ष दुबै पद जितेको कांग्रेसले आँबुखैरेनी गाउँ पालिकाको भने दुबै पद गुमाएको छ । आँबुमा माओवादी केन्द्रले दुबै पदमा जित हात पारेको हो । आँबुको अध्यक्षमा माओवादीका शुक्र चुमान तथा उपाध्यक्षमा माकेकै दुर्गा अर्याल निर्वाचित भएका हुन् । अघिल्लो निर्वाचनमा ६ मध्ये ५ वडाको वडाध्यक्ष जितेको कांग्रेस यस पटक दुइवटा वडामा खुम्चिएको छ भने माओवादी केन्द्रले तीनवटा वडा जितेको छ । एमालेको अवस्था समान एक वडाध्यक्ष जित्ने रहेको छ ।
अघिल्लो निर्वाचनमा अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा जितेको माओवादी केन्दले बन्दिपुरमा दुबै पद गुमाएको छ । यहाँको अध्यक्षमा एमालेका सुरेन्द्रबहादुर थापा तथा उपाध्यक्षमा नेपाली कांगेसकी पञ्चमायाँ गुरुङ्ग निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा माकेले ३, नेकाले २ तथा एमालेले एक वडा जितेको बन्दिपुरमा यसपटक एमालेले ३, माकेले २ तथा नेकाले एक वडाध्यक्ष जितेका छन ।
यस अघिको निर्वाचनमा पालिका प्रमुख सहित ३ वडाको वडाध्यक्ष कांग्रेसले जितेको शुक्लागण्डकीमा यस पटक उसले प्रमुख सहित पाँच वटा वडाको वडाध्यक्ष जितेको छ । शुक्लाको प्रमुखमा कांग्रेसका कृष्णराज पण्डित विजयी भएका छन् । यसअघि उपप्रमुख सहित सात वडाका वडाध्यक्ष जितेको एमालेले उपप्रमुखका अतिरिक्त एक वडा गुमायो । माओवादी केन्द्रले उपप्रमुखमा जित हात पारेपनि अघिल्लो पटक जितेका दुइ मध्ये एक वडा गुमाएर एक वडामा सिमित हुन पुगेको छ । यहाँ माओवादी केन्दका खुमबहादुर विक उपप्रमुख निर्वाचित भएका छन । उता भानुको प्रमुख तथा उपप्रमुखमा कांग्रेस आफुलाई यथावत राख्न सफल भएको छ । यहाँ नेपाली कांग्रेसका आनन्दराज त्रिपाठी प्रमुख तथा सोही दलकी उमा गोतामे उपप्रमुखमा निर्वाचित भएका छन् । भानुमा यस अघि नेपाली कांग्रेसले १३ मध्ये ६ वटा वडाको वडाध्यक्ष जितेकोमा यस पटक ९ वडामा जित हात पारेको छ । एमाले ७ वडाबाट खुम्चिएर दुइ वडामा सिमित हुन पुगेको छ । भानुको वडानं ११ र १३मा स्वतन्त्र उम्मेदबार वडाध्यक्षमा निर्वाचित भएका छन् ।
तनहुँको व्यापारिक केन्द भीमाद बजार रहेको भीमाद नगरपालिकामा एमालेले आफ्नो वर्चस्व कायम गर्न सफल भएको छ । भीमदमा एमालेका दधीराज सुवेदी प्रमुख तथा शारदा खनाल उपप्रमुखमा निर्वाचित भएका
छन् । यहाँका पाँच वडामा एमाले तथा चार वडामा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । ०७४ निर्वाचनमा पनि अवस्था यही थियो ।
पाँच वटा वडा रहेको र एमालेको गढ भनिने घिरिङमा उसले आफ्नो गढ कायम राखेको छ । यहाँ एमालेका होमबहादुर थापा अध्यक्ष तथा राधादेवी अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा ३ वडाध्यक्ष जितेको एमाले तथा २ वडाध्यक्ष जितेको कांग्रेसले आफुलाई सोही स्थानमा कायम राख्न सफल भएका छन् । पवित्र धार्मीकस्थल देवघाट रहेको देवघाट गाउँ पालिकामा नेपाली कांग्रेसका तिलबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् भने माओवादी केन्दका भवनसिं गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् । यसअघि ३ वडाध्यक्ष जितेको कांग्रेसले अहिले पनि त्यत्ति नै वडा जितेको छ भने एमाले पनि दुई वडामै कायम
छ ।
जिल्ला भरिका ८५ वडा मध्ये अघिल्लो निर्वाचनमा ५० वडाध्यक्ष जितेर पहिलो दलका रुपमा रहेको कांगेसले यासपटक चार वडाध्यक्ष गुमाएको छ ।
३० वडाध्क्ष जितेको एमालेले २ वडाध्यक्ष गुमाएको छ भने माओवादी केन्द पाँचबाट सातमा उक्लेको छ । यसपटक भानुमा २ तथा ऋषिङमा दुइ गरी चार स्वतन्त्र उम्मेदबार वडाध्यक्षमा निर्वाचित देशभर चलेको स्वतन्त्रको माहोल बचाएका छन् ।
स्थानीय निर्वाचन–२०७९ नतिजा बदलिँदै तनहुँको शक्ति समिकरण
previous post