दमौली/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँ गाउँमा विकासको पूर्वाधार कांग्रेस नेतृत्वको सरकारका पालामा तयार भएको बताएका छन् ।
शुक्रबार वीपी स्मृति भवन दमौलीमा आयोजित नेपाली कांग्रेस व्यास नगरको नगर सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने,अब गाउँ गाउँमा रोजगारीको अवसर सृजना गरेर आम्दानी प्राप्त गर्ने अवस्था निर्माण गर्नुपर्छ । वर्तमान सरकार दुइतिहाइको अहंकारले ग्रस्त भएको भन्दै सरकारको संविधान विरोधी क्रियाकलापका कारण सूर्यमा मतदान गर्नेहरु पछुताउन थालेको उल्लेख गरे । बहुमतको आडमा संविधानलाई उल्ट्याउनतर्फ कम्युनिष्ट सरकार लागिपरेको दावी गर्दै पौडेलले प्रेस स्वतन्त्रता, मौलिक अधिकार र ट्रेड युनियन स्वन्तत्रतालाई कानुन बनाएर कुष्ठित गर्ने प्रयासमा समेत ओली सरकार रहेको बताए ।
नेपाली कांग्रेस व्यास नगरका सभापति शान्तिरमण वाग्लेको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं केन्द्रीय सदस्य शंकर भण्डारीले विगतका कमि कमजोरीबाट पाठ सिक्दै अनि गुट उपगुट निर्माणबाट आफुलाई पर राख्दै पार्टीलाई बलियो बनाउनु पर्नै बताए । नेपाली जनताले प्रतिपक्षको रुपमा काम गर्ने जनादेश दिएकाले कांग्रेसले आफ्नो भूमिका सफलता पूर्वक निर्वाह गर्नुपर्ने भण्डारीको कथन थियो ।
अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कार्यकर्तामा अनुशासनको आवश्यकता औल्याउँदै अनुशासित कार्यकर्ता भएमा मात्र पार्टी संगठन बलियो हुने बताए । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक समापति जितप्रकाश आले, संविधान सभा सदस्य धु्रव वाग्ले लगाएतले आ–आफ्ना धारणा राख्दै सरकार जनअधिकारको संकुचनमा तथा भ्रष्टाचारमा लिप्त भएकोले यसको विरोधमा कांग्रेसले आवाज उठाउनु पर्ने साथै आम मतदाताको मन जित्न गरि काम गर्नुपर्नेमा जोड दिएका थिए ।