हिजो संसारभर विश्व रेडियो दिवस मनाइयो । फेब्रुअरी १३ लाई संसारभर विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदानको स्मरण गरिन्छ । समाज परिवर्तनमा रेडियोको योगदानको सम्मान गर्दै संसारभरका रेडियोकर्मीहरुले विश्व रेडियो दिवस मनाउने गर्दछन् ।
आजभन्दा एकसय २५ वर्ष अगाडि ईटालीका बैज्ञानिक मार्काेनीले रेडियो बनाएका थिए । शताब्दी अघिको यो घटनाले सञ्चार जतगमा क्रान्ती नै ल्याएको थियो । युनेस्कोले सन् २०११ बाट रेडियोले सस्तो तर सशक्त ढंगले विश्व समूदायका लागि निरन्तर रुपमा प्रभावकारी सञ्चारको माध्यम बनेर दिएको योगदानस्वरुप रेडियोकर्मी र श्रोताको सम्मानमा विश्व रेडियो दिवस मनाउन थालेको हो । त्यसैले रेडियोकर्मी र रेडियो प्रेमीहरुका लागि यो महत्वको दिन हो ।
नेपालमा रेडियोको इतिहासको कुरा गर्दा वि.सं. २००७ सालतिर फर्कनु पर्ने हुन्छ । वि.सं. २००७ साल फागुनमा १०४ वर्ष लामो जहानीया राणाशासनको अन्त्यसंगै प्राप्त स्वतन्त्रताको उपभोग गर्दै सोही चैत्र २० गते नेपालमा रेडियोको स्थापना भएको हो । नेपाली नागरिकले सूचना प्राप्तिको सहज साधनको रुपमा प्रजातन्त्र रेडियो प्राप्त गरे । जसको घोषणा गरेका थिए, रेडियोका प्रमुख तारणीप्रसाद कोइरालाले । अनि दक्षिण एशियामै पहिलो सामूदायीक रेडियो स्थापनाको अवसर पनि नेपालले नै पाएको छ । वि.सं. २०५४ जेठ ९ मा १०२.४ मेघाहर्जको फ्रिक्यन्सी मोडुलेसनमा पहिलो सामूदायीक रेडियो रेडियो सगरमाथाको परिक्षण प्रसारण प्रारम्भ भयो । झण्डै २२ वर्ष अगाडि प्रारम्भ भएको सामूदायीक रेडियो प्रशारणको कार्यले अहिले देशभर व्यापकता पाएको छ । देशभर सयौं रेडियोहरु स्थापना भएका छन् । निकट विगतलाई हेर्ने हो भने यी रेडियोको नेपालमा लोकतन्त्र स्थापनामा रहेको भूमिका सहजै बुझ्न सकिन्छ । वि.सं. २०६२÷०६३ दोस्रो जनआन्दोलनलाई सफल बनाउन नेपालका सामूदायीक रेडियोको योगदान अत्यन्त महत्वपूर्ण रहेको थियो ।
यसपछि पनि लोकतन्त्रलाई संस्थागत गर्न र नेपाली समाजलाई समृद्धिको मार्गमा अग्रसर गराउन रेडियोहरुको महत्वपूर्ण योगदान रहेको छ । समूदायको सवलीकरण र समस्याहरुको समाधानमा स्थानीय रेडियोहरुको योगदान अविष्मरणीय छ । रैथाने ज्ञानको संरक्षण, भाषा र संस्कृतिको संरक्षण आदिमा यी रेडियोहरुको योगदान अतुलनिय छ । आवज विहिनहरुको आवज बनेर आएका रेडियोहरुले दलित, विपन्न, सीमान्तकृत समूदायको आवजलाई सत्तासिनहरुसम्म लैजाने र सुन्न बाध्य तुल्याउने काम पनि यिनै रेडियोहरुले गरेका छन् । यस अर्थमा नेपाली समाजलाई स्वतन्त्रताको स्वाद प्रदान गर्न र समृद्धिको मार्गमा अग्रसर हुन रेडियोको योगदान अविष्मरणीय रहेको छ ।