हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वर१६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ । आज यसको सुरुवातको दिन अर्थात नोभेम्बर २५ । वर्ष २०२१ मा महिला हिंसा अन्तका लागि सुन्तला रंगको प्रतिक प्रयोग गर्दै यस वर्ष विश्व समुदायले विश्वलाई सुन्तला रंगमा रंगेर महिला हिंसालाई अन्त गर भन्ने बिम्बको प्रयोग गरिएको छ, नारा मार्फत ।
विभिन्न अध्ययनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्ययनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ । महिला र केटीहरू विरुद्धको हिंसा आज हाम्रो संसारमा सबैभन्दा व्यापक, निरन्तर र विनाशकारी मानवअधिकार उल्लङ्घनहरू मध्ये एक हो जुन यसको वरिपरि रहेको दण्डहीनता, मौनता, कलंक र लाजको कारणले धेरै हदसम्म रिपोर्ट नगरिएको छ । पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगरै उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ ।
महिला विरुद्ध हुने हिंसाको अन्त्यका लागि विश्व समुदायसंगं हामीसबै सचेतता पूर्वक लागि पर्नु पर्ने भएको छ । जबसम्म समुदायमा महिलाले निर्भय पूर्वक बाँच्ने अवस्था बन्दैन तबसम्म हामीले खोजेको दीगो विकासको परिकल्पना साकार हुन सम्भव छैन । त्यसैले यो १६ दिने अभियानले सबैलाई महिला हिंसाको अन्त्यमा लाग्ने प्रेरणा प्रदान गरोस्, यही कामना ।