विशेष सम्वाददाता
दमौली/नेपाली काँग्रेसको १४औं अधिवेशनमा पालिकास्तरको निर्वाचनले अबका जिल्ला, प्रदेश, संघीय अधिवेशनको दृष्टिगोचर गरेको छ । तनहुँको दश पालिका मध्येमा देवघाट, शुक्लागण्डकी, घिरिङ्ग पालिकाको अधिवेशन सर्वसम्मत नेतृत्व छनौट भएको देखिएता पनि यथार्थमा त्यस्तो रहेको देखिदैन । ऋषिङ्ग र भिमादमा तोकिएको असोज ९ गते सम्पन्न हुन नसकेर १० र ११ गते परिणाम आउनुले पनि सम्बद्ध क्षेत्रको नेतृत्वको असक्षमता देखाएको छ ।
शुक्लागण्डकी नगर समितिको सभापतिमा काँग्रेसका अग्रज नेता गोपिबहादुर गुरुङ सर्वसम्मत देखिएको भएतापनि अन्य पदमा निर्वाचन हुनुले रणनीतिगत सर्वसम्मती हो भन्ने देखाएको छ । त्यस्तै घिरिङ्ग गाउँपालिकाको नेतृत्व चयनमा पनि देखिंदा सर्वसम्मत देखिएको भएतापनि कुटिलता र कपटपूर्ण रणनीतिको परिणाम हुँदा कार्यकर्ताहरु बीच निर्वाचनको परिणाम भन्दा पनि बढी तिक्तता र असझदारीको अवस्था देखिएको छ । साथै प्रदीप पौडेल समूहको मानमर्दन गरेका साथै रणनीतिक असक्षमता देखाएको छ । देवघाटको अवस्था पनि देखिएको जस्तो समझदारीपूर्ण होइन भन्ने सन्देश गएको छ ।
पालिका तहको १४औं अधिवेशनले चार नगरपालिका मध्ये व्यास, भानु, भिमादमा चुनावबाट नेतृत्व चयन भएको छ । छ गाउँपालिका मध्ये म्याग्दे, ऋषिङ्ग, आँबुखैरेनी, बन्दिपुरको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन भएको छ ।
यसरी हेर्दा व्यासमा सूर्यचन्द्र हड्खले, भानुमा रामकुमार श्रेष्ठ, शुनपामा गोपिबहादुर गुरुङ्ग, नेतृत्वमा नगर समिति बनेको छ । भिमादको बिहिवार निर्णय हुने बताएको छ । म्याग्देमा रामभक्त घिमिरे, बन्दिपुरमा कर्णबहादुर खत्री, आँबुखैरेनीमा विष्णु पन्त, देवघाटमा तिलबहादुर थापा, घिरिङ्गमा यमबहादुर थापा, ऋषिङ्गमा तिलबहादुर थापा नेतृत्वको समिति बनेको छ ।
पार्टी सभापतिको लागि निर्वाचनका मैदानमा उत्रने इच्छा देखाएका जीतप्रकाश आलेको भोट वैंक भनेर मानिएको ऋषिङ्ग र भिमादमा देखिएको गतिरोधले आलेलाई कमजोर देखाएको छ भने व्यास, भानुको चुनावी परिणामले जीतप्रकाशका प्रतिष्प्रधीलाई सवल देखाएको छ । ती प्रतिष्प्रधी अन्नतः बैकुण्ठ न्यौपाने नै हुने आँकलन गरिएको छ ।
पार्टीको निर्वाचनबाट नेतृत्वको हासिल गरेका व्यक्तिहरुले सबै साथिहरुलाई समेटेर अगाडि बढ्न नसकेमा नेतृत्व असफल हुनेछ । संगठन गतिशिल तुल्याई आमकाँग्रेस कार्यकर्तालाई उच्च मनोवलका साथ संगठित गर्न सक्ने कार्यक्षमताले मात्रै नेतृत्व हासिल गर्नुको सार्थकता पुष्टि गर्दछ । नेताको गोटि बनेर सभा आयोजना गरिदिने, सभाको अध्यक्षता गरिदिने र व्यक्तिगत स्वार्थ पूर्तिमा मोहित हुने आचारणले विगतमा काँग्रेसलाई निर्वाचन हार्ने अवस्थामा पु¥याएको यथार्थ सबैको सामू छर्लङ्ग छ ।
व्यासका सूर्यचन्द्र हड्खले र भानुका रामकुमार श्रेष्ठले शंकर भण्डारी र ध्रुब वाग्ले समूहलाई उपेक्षित गर्ने, आँबुका विष्णु पन्त, बन्दिपुरका कर्णबहादुर खत्री र ऋषिङ्गका तिलबहादुर थापाले प्रदीप, बैकुण्ठ लगायतका समूहलाई उपेक्षित गर्ने वातावरण निर्वाचनका समयका कपटपूर्ण र गुटगत गतिविधिले देखाएको छ ।
आगामि दिनमा विगतको त्यही भूल दोहो¥याउने अवस्था अन्त्य नगरे काँग्रेसको सामाजिक अस्तित्व अझै कमजोर भएर जाने देखिएको छ ।
नेतृत्वमा पुग्नेहरुले यो अवस्था र परिस्थिति बुझेर सांगठनिक रणनीतिक योजना बनाउन सक्नु पर्दछ ।
पालिका अधिवेशनः दृष्टिगोचर
previous post