गणेशकुमार श्रेष्ठ
गोठादी नेपाल शिक्षक संघ ऋषिङ गाउँ पालिकाको प्रथम प्रतिनिधि सभा सम्पन्न भएको छ । श्रृङ माध्यमिक विद्यालयको सभा कक्षमा शनिवार सम्पन्न सभाको प्रमुख आतिथ्यता गर्दै संविधान सभा सदस्य झुलबहादुर आलेले शिक्षा क्षेत्रमा विकास नहुदा सम्म समग्र देशको विकास हुन नसक्ने बताए । आलेले शिक्षकहरु सामुदायिक विद्यालयको स्तरोन्तिमा निरन्तर लागिपर्नु पर्ने समेत उल्लेख गरे ।
नेपाल शिक्षक संघ ऋषिङका सभापती महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथी राजेन्द्रकृष्ण श्रेष्ठले शिक्षा क्षेत्रमा रहेका सम्पूर्ण समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर गाउँ पालिका लागि रहेको उल्लेख गर्दै शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजाका कारण विस्थापित हुन पुगेका शिक्षकहरुको समस्या समाधानका लागि आफुले निरन्तर चासो दिइरहने बताए । नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले शिक्षकहरुको हित संरक्षणका लागि शिक्षक संघको स्थापना भएको बताउँदै विस्थापित हुन पुगेका शिक्षकको हित संरक्षणका समेत संघले निरन्तर आवाज उठाइरहेको बताए ।
कार्यक्रममा ऋषिङ–६ का वडाध्यक्ष भक्तबहादुर आले, नेका क्षेत्रिय प्रतिनिधि तिलबहादुर थापा, नेपाल तरुण दलका केन्द्रिय सदस्य मथुराकृष्ण श्रेष्ठ, नेपाल तरुणदल क्षेत्र नं २का अध्यक्ष दानबहादुर श्रेष्ठ लगाएतले मन्तव्य राख्दै शिक्षकहरु आफ्नो पेशागत हित संरक्षणमा जुट्नु पर्ने उल्लेख गर्दै विद्यालयको शैक्षिक उन्नयनका काममा समेत लाग्नु पर्ने बताए ।
उपाध्यक्ष तिलिसरा थापाले स्वागत गरेको कार्यक्रममा अर्थसचिव लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र गिरीले गरेका थिए ।