यो छोरीको जिन्दगी कस्तो होला ? किन छोरी माथी हेर्ने आँखा परिवर्तन हुन नसकेको होला ? अनेकौं आकांक्षा लिएर पटक पटक मरेर पनि बाँचेका छोरीका पीर व्यथा यो समाजमा आफ्नो हैकम जमाउने छोरीले नै किन बुझ्न सक्दैनन् ? सासु, जेठानी, नन्द, अमाज्यु, आमा, काकी, फूपु, माइजु जे भने पनि ती हिजोका छोरी होइनन् र ? आखिर छोरीको उपहास किन गर्दछन् ।
पटक पटक मरेर बाँचेकी छोरी अर्थात भ्रुण हत्याबाट बाँचेकी, कहिले आफ्नै दाजु, काका, बाबाबाट हुने बलात्कारबाट बाँचेकी छोरीलाई फेरी यो समाजले यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन भनेर सम्झाई रहन्छ । छोरीको हरेक क्रियाकलापमा अंकुश लगाइन्छ । नियम बनाइन्छ । तर अफसोच छोरालाई यो गर्नुहुँदैन भनेर कहिल्यै सिकाइदैन, सम्झाइदैन । एउटै घरमा रहेका छोराछोरी विचमा पनि समान्य काममा म यो गर्छु वा त्यो गर्दिन भनेर छोराले भन्ने हो भने परिवारका अभिभावकले कसैले विरोध गर्दैनन् । किनकी छोराको मनमर्जीमा छुट छ । प्रथा यही छ । संस्कार यही छ । यसलाई धर्मसँग पनि जोडिएको छ । धर्मग्रन्थमा पनि कति सम्म भने लोग्नेलाई गाली गरे लाटी भइन्छ रे । अनि लोग्ने माथि हात फर्काए कुँजी भइन्छ । तर रक्सिले टिल्ल मातेर आधा रातमा घरमा आएर होहल्ला गर्नु चाँही ठुलो धर्म हो लोग्नेको । यही कुरा छोरीले भन्ने हो भने मुखाले, ठाडे, उत्ताउली जस्ता अनेकौं उपहास गर्ने शब्द बर्षन्छन् । छोरीलाई किमार्थ बोल्न दिइदैन । घरमा रहने अभिभावकका इच्छा अनुसार चल्न बाध्य बनाइन्छ । छोरालाई त्यती नै स्वतन्त्रताको नाममा छाडातन्त्र अर्थात उसलाई मन लाग्दी गर्न दिइएको छ ।
जीवनका हरेक मोडहरु त्रसित अवस्थामा पार गर्दछन् छोरीहरु, एक्लै हिड्दा सुनसान बाटोको डर भिडमा मान्छेको डर, कामबाट ढिलो आउँदा समाजको डर, हाँसेर बोल्दा इज्जतको डर, महिनामारी हुँदा रगतले लुगा भिजाउला भन्ने डर, कसैले बोल्दा आवाजको डर, डरैडर, त्रासैत्रास, संधै त्रसित मनोग्रन्थीबाट ग्रसित छन् तमाम छोरीहरु । विवाह पूर्व पनि डर । विवाह पश्चात पनि डर ।
अभिभावक पनि छोरीलाई एउटा बोझको रुपमा लिने प्रवृत्तीले पनि छोरीहरुको समस्या भन्न चाहेर पनि भन्न सक्दैनन् वा भन्न चाहदैनन् । जत्ति नै आधुनिकताको कुरा गरेता पनि, शताब्दिको कुरा गरेता पनि यो समाजले छोरीको समस्या हल्का रुपमा लिने प्रवृत्तिले नै विभिन्न रुपमा घटना घट्ने गरेको पाइन्छ । छोरीले गरेको कैयौं सङ्घर्षको महत्त्वलाई नबुझी जस्तो व्यक्ति भएतापनि एउटा परपुरुषको जिम्मा लगाउनु नै आफ्नो धर्म अनि कर्तव्य पुरा भएको ठान्ने अभिभावकले कसरी बुझ्नु छोरीको इच्छा अनि वाध्यता । यदि समाजमा छोरीको समस्या वा चाहना अभिभावकले बुझिदिने र सकारात्मक भावबाट हेर्ने हो भने समाजमा हुने गरेका कैयौं घटना दुर्घटनाबाट छोरीलाई बचाउन सकिने थियो की ।
छोरीहरु कुनै छोरासँग बोल्नु हुँदैन रे । त्यसो हो भने छोरा किन छोरीलाई बोलाउँछन् त छोरी बोल्नु हुँदैन भने छोरा पनि त बोल्नु हुँदैन नी त । धर्मले कानुनले समानता शब्दको व्याख्या गरेता पनि नेपालको कानुन आ–आफैं जानुन् भन्ने वाक्यको चरितार्थ भएको छ । जसले जसरी व्याख्या गरे पनि हुने ।आधा रातमा रक्सिले टिल्ल परेर मातेर आएको लोग्नेले घरमा आएर जे–जस्तो व्यवहार गरेता पनि चुपचाप रहेर सम्हालिनु पर्ने रे । अनि श्रीमती काम विषेशले कुनै पुरुषसँग बोल्दा ऊ चरित्रहिन, पथभ्रष्ट महिला रे । अझ पुरुष परिचित छ भने हरेक पटक श्रीमान श्रीमतीका संवादमा उक्त पुरुषलाई जोडेर संवाद हुने गर्छ भने श्रीमतीका हर विचार कामलाई होच्याएर आँफूलाई सर्वश्रेष्ठ ठान्छ । त्यति मात्र होइन हरेक क्रियाकलापमा उक्त पुरुषलाई जोड्छ । फोन गर्छ फोन उठेन भने उसको फोन पो उठ्छ मेरो फोन उड्छ कहि जाउँ भन्छ । घरको कामले मिल्दैन भनेर श्रीमती भनि भने उसले भन्दा पो जान्थिस् मैले भन्दा के जान्थिस् यस्तै शंका उपशंकाले पारिवारिक स्थिती विग्रंदै जान्छ । मानौ की श्रीमती मानव नै होइन, समाजको कलङ्क हो । अझ अर्को भाषामा भन्ने हो भने सामाजिक दोषारोपण पनि गर्न पछि पर्दैन ।
समाजमा कोही कसैंसँग नबोली कसैले जीवनयापन गर्न सक्दैनन् तर काम विषेशले बोलेकै भरमा अनेकौं लाञ्छना आरोप लगाउने श्रीमान भनाउँदाहरु आँफू कसैकी श्रीमतीसँग बोल्छन की बोल्दैनन् ? यदि बोल्छन् भने कुन नियती राखेर बोल्ने गर्दछन् ? कुनै कसैकी छोरीसँग बहानारुपी काम बनाएर नजिकिने र सहयोग गरे जस्तो गरी चरित्रसँग खेलवाड गर्ने र त्यही पुरुष घरमा आएर श्रीमतीलाई अनेकौ. शब्दले गाली गर्छ जुन कल्पना गर्न सम्म पनि नसकिने हुन्छ । काम व्यवहार आफैले कल्पेर अनेकौ मानसिक यातना दिने । अझ त्यसमा दाइजोको कुरा जोडेर अनि आफ्ना काम नगरिदिएकोमा देवर, छोरा, जेठाजु, दाजुलाई थप मलजल गरी थप यातना दिन उक्साउने छोरीहरुलाई पनि कस्ले सम्झाउने कसरी सम्झाउने ? किन यी छोरीहरुले सम्झदैनन् की यो समस्या सबैको समस्या हो भनेर । आखिर पित्रृसतात्मक मुलुकमा कुनै पनि महिला कुनै पनि समस्याबाट अछुतो रहन सकेका छैनन् । तर फरक यत्ति हो थोरै घटनाहरु यदाकदा बाहिर आएता पनि पद र जिम्मेवारी बाधाका कारणले व्यक्त गर्न चाँहदैनन् । चुपचाप सहिदिन्छन्, पृथ्वी जस्तै भएर ।
महिलाले हरेक समस्या चुपचाप सहनु पर्ने, छोराछोरी, घरपरिवार, व्यवहार सम्झनु पर्ने, कर्तव्य सम्झनु पर्ने, जिम्मेवारी सम्झनु पर्ने, पुरुषले केही सोच्नु नपर्ने । खाली गल्ती मात्र खोजी गर्ने । कुनै महिलाबाट गल्ती भयो रे । कुनै महिला एउटा पुरुषसँग नजिकिन पुगिन रे । मौका यही हो नभनिकन र महिला माथि गिद्धे दृष्टि नराखी आफ्नो दिदीबहिनी छोरीको व्यवहारले सम्झाउन पनि त सक्छ पुरुषले । तर त्यो नगरीकन आँफू हरेक गलतीबाट उम्किएर दोष जति महिला माथी थुपारी दिने कस्तो प्रवृत्ति अनि कस्तो संस्कार हो………………….?