ऋषिङ/राष्ट्रिय एकता दिवसको दिन पौष २७ गते आयोजना हुने दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी धमाधम भइरहेको ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताएका छन् ।
अध्यक्ष श्रेष्ठका अनुसार धावनमार्ग मर्मतको काम सुरु हुँदैछ भने अन्य आवश्यक तयारी भैरहेको छ । प्रतियोगिता सञ्चालनका लागि पालिकाले ८ लाख रुपैया विजियोजन गरिएको छ, अध्यक्ष श्रेष्ठले भने स्थानीय समुदायको सहयोगमा प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नेछौं ।
अल्ट्रा म्याराथनका संयोजक दानबहादुर श्रेष्ठका अनुसार बुधबार सम्पन्न तयारी समितीको बैठकले धाबकका लागि खाना व्यवस्था गर्न म्याराथनको अन्तिम विन्दु रहेको वडा नं ३ लाई जिम्मा दिने निर्णय गरेको छ ।
हरेक पाँच किमीमा चेक प्वाइन्ट राखिने तथा प्रत्येक चेक प्वाइन्टमा सम्बन्धित वडाले धावकका लागि पानी तथा फलफुलको व्यवस्था गर्न निर्णय समेत भएको उनले बताए ।
साथै धावकको सहयोगका लागि सबै चेक प्वाइन्टमा २ स्वयम सेवक र २ स्वास्थ्यकर्मी को टोली राखिने
छ । पालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुलाई धावन मार्गको प्रत्येक किमिमा स्वयम सेवकको रुपमा परिचालन गरिनेछ । स्थानीय तथा महिला म्याराथनमा सहभागिको नाम लेखाउन सचिवालय स्थापना गर्न लागिएको र अल्ट्रा म्याराथनका लागि भने बुधबारसम्म १३ धावकले नाम दर्ता गरको संयोजक श्रेष्ठले तनहुँ आवजलाई बताए ।