दुइ साता अगाडी अर्थात इश्वी सन्को मे ३१ तारिखमा विश्वभर विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस Protecting children from tobacco industry interference नारा सहित धुमधामका साथ भनाइयो । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसमा यस वर्ष यी पदार्थहरूले बालबालिकामा पार्ने समग्र नकारात्मक प्रभावलाई यस वर्ष प्रकाश पारियो । घरको पिंढीमा बसेर आफ्ना साना लालाबालालाई जा–जा भित्र अगेनामा गएर यो विँडी सल्काएर ल्या भनेर अह्राउने पुस्ता रहेसम्म र त्यसो गर्नु आफ्नो स्वास्थ्य प्रतिकूल हुने भएकाले आफुले त्यसो गर्न नसक्ने बताउन नसक्ने पुस्ता रहेसम्म यस्ता नाराहरुको सार्थकता सायद कम रहन्छ । तथ्याङ्क भन्छ, हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ । माथिको पहिलो वाक्यमा उल्लेखित तथ्यलाई मान्ने हो भने विश्वमा प्रति मिनेट ७ जना र प्रत्येक दिन १० हजार ८ सय जनाले सुर्तीजन्य पदार्थको सेवनका कारण ज्यान गुमाउने गरेका छन् ।
हामी युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता घटनाका कारणले विश्वमा दैनिक थुप्रै मानिसले ज्यान गुमाएका समाचार पढ्छौं/सुन्छौं । तर सत्य के हो भने माथि भनिएका कारणलेभन्दा धेरै मानिसको दैनिक मृत्युका कारण भने सुर्तीजन्य पदार्थको सेवन नै हो । भनिन्छ, युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या जति पुग्दैन ।
यस्तो भयावह तथ्याङ्क आफ्नो अगाडी हुँदा पनि चुरोट तथा अन्य सुर्तीजन्य पदार्थको सेवन गर्ने मानिसको संख्यामा कमि आएको छैन । बरु दिनानुदिन बढ्दै गएको छ । त्यसैले चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठुलो चुनौती बनेको छ ।
चुरोट तथा अन्य सुर्तीजन्य पदार्थको सेवन बाट मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर बारे विश्व समुदायलाई जानकारी गराउँदै कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको यो लतबाट संसार बासीलाई जोगाउन हरेक वर्ष मे ३१ गतेका दिन संसारले सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूम्रपान रहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो। १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूम्रपान रहित दिवस मनाउन आह्वान गरिएको थियो। यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य सङ्गठन के गरिरहेको छ, र विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार दाबी गर्न र सुरक्षाका लागि के गर्न सक्छन् भन्ने बारेमा जनतालाई जानकारी गराउँदछ ।
हाम्रो कुरा गर्दा चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिएको छ । अर्थात चुरोट, सुर्ती, खैनी लगाएतका बट्टामा यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राख्ने गरिएको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन लगाएतमा चुरोट तथा अन्य सुर्तीजन्य पदार्थको विज्ञापनमा रोक लगाइएको छ । सबै किराना पसलेले पहिले जस्तो सहजै चुरोट तथा सुर्तीको विक्रि गर्न नपाउने भएका छन् । तर नेपाल तुलनात्मक रूपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज भएको देश भएकाले यसको उत्पादन, बिक्रि तथा सेवन सहज छ । कतिपय स्थानीय सरकारहरुले आफ्नो पालिका भित्र सुर्र्तीजन्य पदार्थको उत्पादन तथा विक्रि र सेवनमा प्रतिबन्ध लगाएका छन् । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
पछिल्लो समयमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन हुन नसक्दा महसुस हुने गरी प्रतिफल प्राप्त भएको छैन । बुबा आमालागि भित्र अगेनाबाट चुरोट वा विडी सल्कारएर ल्याउने गर्दागर्दै बानी परेकाहरु मात्र छैनन् । साथीसंगीको लहैलहैमा लागेर सुर्तीजन्य पदार्थको सेवनमा लग बसेकाहरु पनि प्रसस्तै छन् । अझ खासगरी युवाहरुमा व्याप्त धुमपान गर्दा युवतीहरु आफुप्रति आकर्षित हुन्छन् भन्ने भ्रमले सुर्तीजन्य पदार्थको सेवनमा कमि ल्याउन सकिएको छैन । जाडोमा चुरोट सेवन गर्दा न्यानो अनुभूत हुने बताउने पुस्ता हामी कहाँ छँदैछ । यसले पनि सुर्तीजन्य पदार्थको सेवनमा कमि ल्याउन कठिनाइ भइरहेको छ । नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।
चुरोट, गुट्खा, सुर्ती छाड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो । पिँढीमा वसेर आफ्नो अवोध बच्चालाई अगेनाबाट चुरोट सल्काएर ल्याउन अह्राउने वा पसलबाट किनेर ल्याउन अह्राउनेहरुलाई त्यसो गर्नु बच्चाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने काम गर्नु हो भनेर सम्झाउनु पनि हामी सबैको कर्तव्य हो । चुरोट लगाएतका सुर्तीजन्य पदार्थको सेवन गर्ने मान्छे किन बुढो हुन पर्दैन, किन उसको घरमा चोर लाग्दैनन् भन्ने गरिएको हो भन्ने कुराको अर्थ बुझेर आम नेपालीले सोही अनुकूल आफुलाई बनाउन सक्दा नेपाललाई हामीले छिट्टै सुर्तीजन्य पदार्थको प्रयोग सून्य देशको रुपमा विश्व समुदाय चिनाउन सक्छौं । आशा गरौं अबका बालबालिकाले अगेनामा गएर चुरोट सल्काएर ल्याउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथीको लहैलहैमा लागेर कुनै पनि बालकले प्राणघातक सुर्तीजन्य पदार्थको सेवन गर्ने छैन । सबै बालबालिका सुर्तीजन्य पदार्थको दुष्प्रभावबाट टाढै रहेर स्वस्थ रहुन् । सुर्तीजन्य पदार्थ विरुद्धको यस वर्षको नारा सांच्चै सार्थक होस् ।
त्यागौं सुर्ती, अंगालौं स्फूर्ती
previous post