दमौली/कोभिड संकटका कारण एम्बुलेन्स नपाएको गुनासो सुनिएका बेला जेसिआई व्यास नगरले नगर क्षेत्र तथा आसपासका गर्भवती–सुत्केरी, अशक्त तथा दुर्घटनामा परेकाको उद्धारका लागि निःशुल्क यातायात सेवा थालेको छ ।
एम्बुलेन्समा जानका लागि जोखिम देखिएका तथा एम्बुलेन्स नै नपाएर समस्यामा परेकाको सेवाका लागि भन्दै क्लबले शनिबारबाट यो सेवा थालेको हो । ‘मानिसको ज्यान गैरहेको छ, संक्रमित बढिरहेका छन्,’ क्लबका अध्यक्ष लक्ष्मीभक्त खनालले भने,‘मान्छेको ज्यान बचाउन र सुरक्षित अवस्थामा अस्पताल पु¥याउन सेवा थालेका हौं ।’
क्लबका पदाधिकारी अनुप दाहालले आफ्नो साधन निषेधाज्ञा अवधिभर उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । प्रशासन र व्यास नगरपालिकाले पनि सेवाका लागि अनुमति दिंदै सघाउने प्रतिवद्धता जनाएको छ ।
क्लबका महासचिव अजर नागिलाले यसका लागि तत्काल क्लब सदस्यबाटै सहयोगको प्रतिवद्धता आए पनि थप सुभेच्छुकको साथ अपेक्षा गरेको बताए ।
सेवा लिन चाहने जोकोहीले उपलब्ध नम्बरमा फोन गर्न सक्ने उपाध्यक्ष पवन पौडेलले बताए ।
जेसिआइको निःशुल्क एम्बुलेन्स
previous post