यति कुरामा सहमत हुन सकिन्छ कि, सामाजिक सञ्जालहरुमा मर्यादित भाषाको प्रयोग गर्नु पर्दछ । तर सामाजिक सञ्जाललाई मर्यादित बनाउने नाममा यसरी जनताको स्वतन्त्रता नै हनन् हुने गरी कानून बनाउनु कुनै पनि कोणबाट सुशासनको प्रतिक होइन । सरकारको दायित्व, काम गरेर चित्त बुझाउने हो । चित्त बुझ्ने गरी काम गर्न नसक्ने अनि विरोधलाई दवाउन जनताको मुखै थुन्ने कानून बनाउने ? यो कहाँको न्याय हो ? कस्तो गणतन्त्र हो यो ? के यहि हो कम्यूनिज्म ?
यतिखेल पंक्तिकारसंग समसुङको M10 मोवाइल सेट छ । फोन गर्ने, म्यासेज पठाउने देखि लिएर फेस बुक लगाएतका सामाजिक सञ्जालसंग जोडिन यसले काम चलिरहेको छ । तर सोच्दै छु, यसलाई पनि तिलाञ्जली दिएर चिठी पत्रको युगमा फर्किनु पर्ला किन भने कुनै दिन झुक्किएर कुनै सरकारी अधिकारीको नजरमा परिहालियो भने त फोट ट्याप हुन के बेर ! हुन त न म कुनै सेलिब्रेटी हूँ, न कुनै राजनीतिज्ञ, न त कुनै प्रतिष्ठित हस्ती र पनि मजाकमै सहि कुनै सरकारी अधिकारीलाई फोन ट्याप गर्ने रहर जाग्यो र संयोगले मेरै नं. प¥यो भने ? मेरो पनि व्यक्तिगत जीवन छ, आफ्नै व्यवहार छ, केही गोप्य कुराहरु पनि होलान् ती सबै सतहमा छताछुल्ल हुने भए । सरकारी अधिकारीलाई के छ र, चाहे आवश्यकताले होस्, चाहे रहरले । जस्को फोन ट्याप गरिदिए पनि भयो । कानूनले छुट दिने भएपछि । कुनै दिन अफिस गयो, काम गर्न मुड भएन, आज यो नम्बर ट्यापक गरौं न, के गफ गर्दो रहेछ, सुनि हेरौं । वा क्या मज्जा ।
म समाजिक सञ्जालहरुमा कमै सक्रिय हुन्छु, तर अब यसलाई पनि पूर्ण रुपमा निष्कृय बनाउनु पर्ला । किन भने अन्याय सहन मन लाग्दैन । न्यायको लागि आवाज उठाउँदा झुक्किएर कोही कसैलाई घोचपेच पर्न गै हाल्यो भने, सजायको भागिदार हुनु पर्ला फेरी । पाँच बर्षको कैद सजाय त जसो तसो काटौंला । १५ लाख कसरी जोहो गर्ने ? यति रकम त मेरो पुरै घर खेत बेच्दा पनि पुग्दैन । आफै जेलमा भएपछि कमाएर तिर्ने कुरा पनि आएन । त्यसैले सजिलो उपाय मौन ब्रतको नीति अवलम्बन । २१औं शताब्दि, सूचना प्रविधिको युगमा दौडि रहेका हामी संविधानले नागरिकलाई दिएको हक अधिकार हनन् हुने गरी अंकुस लगाउने गरी कानून बनाउँदै छ सरकार । वाह ! आफूलाई राष्ट्रवादी प्रगतिवादी सम्झने वामपन्थी सरकार । दुई तिहाईको बहूमतलाई जनताको हितको लागि राम्रैसंग प्रयोग गर्दैछौ ।
बुढापाकाहरु भन्ने गर्दछन् ‘नेपाल सतीले सरापेको देश हो’ । सायद यथार्थता छ यो भनाईमा । होइन भने नेपालको यो दुर्दशा हुने थिएन । हिजो जनताको मत लिएर सत्तामा पुगेकाहरु तिनै जनताले तिरेको करबाट तलबभत्ता खाएर तिनै जनताको मुख बन्द गर्ने कानून बनाउँदैछन् । कति गजब छ । संविधानले जनतालाई दिएको वाक स्वतन्त्रतामा बन्देज लगाउने अधिकार कुनै पनि सरकारलाई छैन । चाहे त्यो दुई तिहाई बहूमतको सरकार वा अझै बलियो सरकार नै किन नहोस् । किनभने संविधान सर्वोच्च हुन्छ । चाहे सत्तापक्षको होस्, या प्रतिपक्षको । या कोही व्यक्ति विशेषको । कार्य शैली र काम चित्तबुझ्दो छैन भने विरोध जनाउने असन्तुष्टी व्यक्त गर्ने, हक प्रत्येक नेपाली नागरिकलाई छ । हो, यति कुरामा सहमत हुन सकिन्छ कि, सामाजिक सञ्जालहरुमा मर्यादित भाषाको प्रयोग गर्नु पर्दछ । तर सामाजिक सञ्जाललाई मर्यादित बनाउने नाममा यसरी जनताको स्वतन्त्रता नै हनन् हुने गरी कानून बनाउनु कुनै पनि कोणबाट सुशासनको प्रतिक होइन । सरकारको दायित्व, काम गरेर चित्त बुझाउने हो । चित्त बुझ्ने गरी काम गर्न नसक्ने अनि विरोधलाई दवाउन जनताको मुखै थुन्ने कानून बनाउने ? यो कहाँको न्याय हो ? कस्तो गणतन्त्र हो यो ? के यहि हो कम्यूनिज्म ?
आपराधिक घटनाहरुको केशमा, राष्ट्रिय सुरक्षाको सवालमा जो होइहीको फोन ट्याप गर्न सकिन्छ, यदि प्रमाण छ भने तर सरकारी अधिकारीहरुले चाहेको खण्डमा जो कसैको फोन ट्याप गर्न सक्ने कानून बनाउने कुराले के संकेत गर्दछ ? हरेक व्यक्तिको नीजि जीवन हुन्छ, उससंग गोपनिताको हक हुन्छ । के अब फोनमा बोल्दा पनि ट्याप हुने डरले अड्कली अड्कली बोल्नु पर्ने हो ? के यहि दिनको अपेक्षामा जनताले तपाईहरुलाई जिताएर पठाएका हुन् ?
एउटा नेपाली उखान छ, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठीमितिर’ । यतिखेर सरकारको रवैया यहि उखानसंग मेल खान्छ । राष्ट्रमा भ्रमण बर्ष २०२० चलि रहेको छ । सरकार २० लाख पर्यटक आमनको अंक गणितमा रमाएर बसेको छ । २० लाख पर्यटक कसरी भित्र्याउने ? ति पर्यटकबाट कति आम्दानी गर्ने ? कुनै लेखाजोखा छैन । महामहिम ज्यूले भब्य समारोह बीच भ्रमण बर्षको उद्घाटन गर्नु भयो । सरकारलाई लाग्यो, आफ्नो जिम्मेवारी पुरा भयो । पुरै राष्ट्र भ्रमण बर्षमा लागि रहँदा भ्रमण बर्षलाई कसरी सफल बनाउने ? भन्ने तिर सोंच्नुको साटो । नानाभाँतीका अरु देशले प्रयोग गरेर गलत सावित भै सकेका कानून बनाउने तयारी गर्दछ सरकार । वाह रे मेरो दुई तिहाईको सरकार ।
अहिले बन्न लागेको फोन ट्यापिङ र सामाजिक सञ्जालमा प्रयोग हुने भाषा सम्बन्धीको कानून कुन सनकमा बन्न लागेको हो र यसको भित्री आषय के हो भन्ने कुरा छर्लङ्ग छ । हात्तीको देखाउने र चपाउने दाँत फरक भए जस्तै भन्दा सामाजिक सञ्जालमा प्रयोग हुने भाषालाई मर्यादित बनाउनका लागि भनिए पनि यो कानून विरोधी र प्रतिपक्षको आवाज दवाएर आफ्नो शासन सत्ता लम्ब्याउनकै लागि बनाउन लागिएको हो । जनतालाई ठूला ठूला सपना बाँडेर सत्तामा पुगेकाहरुले महसुस गर्न थालि सके । हामीले काम गरेर देखाउन सकेनौं । अब जनताले पत्याउँदैनन् । त्यसैले साम दाम दण्डभेद जुनसुकै नीति अपनाएर भएपनि सरकार विरोधी आवाजलाई मथ्थर पार्नु पर्दछ । कहिँ कतै सुनेको थिएँ, कम्यूनिज्मको भित्री आषय भनेको, जसरी हुन्छ सत्तामा पुग, अनि कसरी हुन्छ सत्ता टिकाई राख भन्ने हुन्छ रे । कमरेड प्रचण्डको सत्तामोह र कमरेड ओली सरकारको काम गराई देख्दा लाग्न थालेको छ सत्य सुनेको रहेछु ।
कमरेड ज्यूहरु, जति हतारले कानून ल्याउने तयारी गर्दै हुनुहुन्छ, सायद छिट्टै बन्ला जुन सम्पूर्ण नेपाली जनताको मर्यादा र स्वाभिमानमा ठूलो अभिशाप हुनेछ । आज पनि उत्तर कोरीयामा किंम जोङले तोकेको दशवटा भन्दा फरक तरिकाले कपाल काट्न पुरुषलाई मनाही छ, महिलाहरु आजपनि जिन्सको पाईन्ट लगाउन पाउँदैनन् । टेलिभिजन, रेडियो, सबै सरकारको नियन्त्रणमा छ । सायद दुई तिहाइको कम्यूनिष्ट सरकार नेपाललाई नि उत्तर कोरीया बनाउन चाहन्छ । यदि यस्तै पारा हो भने भान्छामा के तरकारी पकाउन पाउँने ? र के नपाउने ? भनेर तरकारीको लिस्ट सार्वजनिक गर्न बेर लगाउँदैन । आईतवार के खाने, सोमबार के खाने………..।
कमरेड ज्यूहरु अहिले सरकारमा हुनुहुन्छ । आफ्नो शासनसत्ता कहिल्यै नसकियोस् भन्ने चाहानुहुन्छ । त्यसैले सत्ताको आयू लम्ब्याउन अनेक तरिका अपनाई रहनु भएको छ । तर तपाईहरुले के चाहि विर्सदै हुनुहुन्छ भने अरुको लागि खनेको खाडलमा आफै पनि पर्न सकिन्छ । त्यसैले खाडलको गहिराई पनि विचार गर्नु पर्दछ । खाडल यति गहिरो पनि नहोस की कुनै बेला झुक्एिर आफै परियो भने निस्कनै नसकेर त्यही निसासिनु परोस् । ख्याल गर्नुस् कमरेड । तपाई सत्तामा हुनुहुन्छ तर सत्ता बाहिर रहेका बसै जनता प्रतिपक्षका मात्रै छैनन् । धेरै त तपाईकै कम्यूनिष्ठ विचार धारामा आस्था राख्ने छन् । तपाईले ल्याउन लाग्नु भएको कानूनले तिनीहरुलाई अप्ठ्यारो पर्दछ अरुलाई जस्तै । अहिले हाम्रो पार्टीको सरकारले ल्याउन लागेको कानून भनेर चुप लागेपनि अति भएपछि खति हुन्छ कमरेड । त्यतिबेला तपाईलाई प्रतिपक्षको होइन, आफ्नै गोलाको अरिंगालले चिल्ने छन् । यसरी चिल्ने छन् सत्ता र शक्तिको मोहमा लिप्त कमरेडहरुसंग त्यसको दुखाई सहने क्षमता सायदै होला ।