१२ औं राष्ट्रिय जनगणना कार्तिक २५ बाट प्रारम्भ भएको छ । नेपालमा विसं १९६८ बाट जनगणना प्रारम्भ भएको हो । जनगणना कुनै पनि देशको एकीकृत राष्ट्रिय तथ्यांक प्रणालीको एक अंश हो । नेपालको सन्दर्भमा एक दशकको अन्तरालमा गरिने जनगणनाले राष्ट्रिय आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मुल्यांकनसंग सम्बन्धित केहि सामाजिक, जनसांख्यिक र आर्थिक सूचकहरुको लागि समेत सूचना प्रदान गर्दछ ।
हाम्रो सन्दर्भमा जनगणना सहि ढंगले हुनु अत्यन्त जरुरी छ । किनभने कुनै ठाउँको जनसंख्याकै आधारमा त्यहाँ विकास निर्माणका कामका लागि बजेट व्यवस्था हुन्छ भने त्यसैका आधारमा समानुपातिक निर्वाचन प्रणालीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट प्रतिनिधित्व गराउने व्यवस्था संविधानले गरेको छ । यतिमात्र होइन प्रत्यक्ष निर्वाचनमा संघीय संसदमा प्रतिनिधित्वका लागि क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी संघीय कानून बमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ ।
यसरी विकास निर्माणका काममा बजेट विनियोजनदेखि प्रदेश तथा संघमा प्रतिनिधित्वका लागि क्षेत्र निर्धारण लगाएतका विषय निर्धारण गर्न जनसंख्या मुख्य आधार भएकाले जनगणना गर्दा सही तथ्यांक संकलन हुनु जरुरी छ । तर विगतका अभ्यासहरुलाई हेर्दा चौतारामा बसेर फलानाको घरमा यति परिवार छन् । यो धर्म मान्दछन् या यो भाषा बोल्दछन् भनेर भर्ने र बुझाउने गरेका प्रसस्त उदाहरण हामीसंग छन् । अझ यस पटक जनगणनामा अर्काे विकृति थपिएको छ, गणकहरुले सिसाकलमको प्रयोग गरेर तथ्यांक भर्ने । नियतवश हो या नजानेर तर तथ्यांक संकलनमा सिसाकलमका प्रयोग गलत हो । नेपाल धर्म निरपेक्ष राष्ट्र भएको र पछिल्लो समयमा धर्मान्तरणको धन्दा मौलाएको बेला जनगणना जस्तो महत्वपूर्ण काममा सिसाकलमको प्रयोग मार्फत त्यसैलाई सघाउ पुग्ने काममा नै कतै ति गणक लागेका त होइनन् भन्ने आशंका उब्जिएको छ ।
त्यसैले हामी सबैले सचेतता पूर्वक गणकहरुले तथ्यांक संकलन गर्दा बताउनु पर्ने र आफुले भने बमोजिमको तथ्यांक भरे नभरेको हेर्नु पर्ने भएको छ । उता देशको तथ्यांक संकलन जस्तो महत्वपूर्ण काम पाएका गणकहरुले पनि सहि तथ्यांक संकलन गरेर ल्याउनुमा नै इमान्दारी ठहरिने छ ।
जनगणनामा सिसाकलम ? -सम्पादकीय
previous post