शैक्षिक शत्र २०७८ को एसइर्एई(माध्यमिक शिक्षा परीक्षा) को नतिजा प्रकाशन भएसंगै यसबारे विवेचना सुरु भएको छ, त्यो पनि संसददेखि सडकसम्मै । राष्ट्रिय परीक्षा बोर्डका अुनसार यसपालिको एसइर्एईमा सहभागी चार लाख ९५ हजार ७५१ परीक्षार्थी मध्ये ४७ हजार ८६६ विद्यार्थी कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् अर्थात उनीहरुको जीपिए १.६ भन्दा कम रहेको छ । यद्यपि यिनीहरुले प्राविधिक विषय भने पढ्न पाउने छन् ।
एकछिन विगत ४ वर्षको एसईई नतिजालाई हेरौं अनि थप चर्चा गर्ने नै छु । जीपिए का आधारमा एसईईको नतिजा सार्वजनिक गर्न प्रारम्भ गरेको वर्ष २०७४ मा ४.० जीपिए ल्याउने विद्यार्थीको संख्या ७४ रहेको थियो भने अर्काे वर्ष अर्थात २०७५ मा यो संख्या केही बढेर एक सय ६ पुगेको थियो । कोभिड– १९ महामारीका कारण ०७६ र ०७७ मा विद्यालयले नै आन्तरिक मूल्यांकन गर्दा क्रमशः नौ हजार ३१९ र आठ हजार ४४४ विद्यार्थीले ४.० जीपिए ल्याएका थिए । तर फेरी राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष लिएको परीक्षामा ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या ४२ मा झरेको छ ।
०७६ को एसईईमा सहभागी तनहुँको एक विद्यालयकी छात्रको कुरा हो यो । ३.६ जीपिए आसपास ल्याउने आशा खारिएकी आफ्नी छोरीलाई विद्यालयले ४.० जीपिए दिएसंगै बुबाको प्रतिक्रिया थियो, यति धेरै जीपिए नदिएको भए हुन्थ्यो । जीपिए धेरै भएसंगै विद्यार्थीले आफ्नो क्षमताले भ्याउनेभन्दा कठिन विषयको अध्ययन गर्ने र त्यसले भविष्यमा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाई थियो ।
०७७ मा विद्यालयले आन्तरिक मूल्याङ्कन गरेको वर्ष तनहुँकै अर्का एक विद्यार्थीको पनि अपेक्षा गरेभन्दा बढी जीपिए
आयो । उनको गुनासो थियो, राम्रो जीपिए देखेपछि परिवारबाट राम्रो विषय पढ्न दवाव हुन्छ । तर मलाई थाहा छ, मेरो क्षमता के हो ? बुबा आमाले भनेको मानौं उहाँहरुले भनेको विषय पढ्ने आफ्नो क्षमता छैन नमानौैं आफुलाई जन्माउने, हुर्काउने अनि खाइनखाई गरेर सुन्दर भविष्यको कामना साथ पढाउने अभिभावका कुरा कसरी नमानौं । बढी जीपिएले त मलाई असजिलोमा पो पा¥यो ।
विद्यालयलाई मूल्याङ्कनको जिम्मा दिँदाको एसईई नतिजा कस्तो रह्यो भन्ने कुराको साना दुइ दृष्टान्त हुन माथि प्रस्तुत गरिएका । २०७६ को नतिजा प्रकाशन हुँदाका बखतको कुरा हो । जब अचानक ४.० जीपिए ल्याउने विद्यार्थी बढेको र यसमा विद्यालयले मनपरी अङ्क प्रदान गरको चर्चा चल्यो, धेरै शिक्षक तथा प्रधानाध्यापकहरुको जवाफ थियो, यस वर्ष हाम्रा विद्यार्थी राम्रा थिए । उनीहरुले आफ्नै क्षमताले राम्रो जीपिए प्राप्त गरेका हुन् । अस्वाभाविक अङ्क दिएका होइनौं । २०७७ को एसईईमा पनि नतिजा लगभग अघिल्लो वर्षको जस्तै आयो ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिँदासम्म तल्ला जीपिए ल्याउने धेरै र माथिल्ला जीपिए ल्याउने थोरै थिए, त्यो संख्यालाई रेखाचित्रमा प्रस्तुत गर्दा पिरामिडको आकार बन्ने गर्दथ्यो । जब आन्तिरिक मूल्याङ्कनका पालो आयो, पिरामिड उल्टियो अर्थात तल्ला जीपिए ल्याउने थोरै र माथिल्ला जीपिए ल्याउने धेरै
भए । तर फेरी २०७८ को एसईई नतिजाले पिरामिड सुल्टियो । विद्यालयले आन्तिरिक रुपमा परीक्षा सञ्चालन गर्दा राम्रो नतिजा ल्याउने विद्यार्थीले परीक्षा बोर्डको परीक्षामा किन त्यति खराब नतिजा दिएको होलान् ? यस पटक पनि शिक्षक तथा प्रधानाध्यापकहरुसंग तयारी उत्तर छ कि दुइवर्षसम्म कोरोनाका कारण राम्रो पढाई हुन पाएन र यो वर्षको नतिजा खस्किएको हो । तर कतिपयले कोरोनालाई शिक्षकहरुले आफ्नो कमजोरी लुकाउने अस्त्र भनेका छन् । उनीहरुको तर्क छ, कोरोनाको नाममा शिक्षकहरुले आफुले दुइवर्षसम्म विद्यार्थीलाई जथाभावि दिएको अङ्कको वचाउ गर्न खोज्दैछन् ।
पाठ्यकक्रममा भनिए अनुसारका प्रश्नपत्र नआउने, फरक ठाउँमा गएर परीक्षामा सहभागी हुनु पर्ने आदि कारणले विद्यार्थीले राम्रो गर्न सकेनन् र नतिजामा केही फरक भयो भन्न सकिएला । अझ उत्तर पुस्तिका परीक्षणमा हुने त्रुटीहरुलाई सच्याउन नसक्दा पनि नतिजामा भिन्नता आएको तर्क पनि गर्न सकिन्छ । नमिठो लाग्ने सत्य के हो भने उत्तर पुस्तिका परीक्षणमा गरिने हतारोका कारण पनि यथार्थ नतिजा नआएको हो कि भन्ने प्रसस्त ठाउँ छन् । एउटा परीक्षकले तीनसय उत्तर पुस्तिका रहेको पोको विहान बुझेर साँझ बुझाउन आउँदा यति छिटो कसरी सम्भव भयो सर ? भनेर प्रश्न गर्ने कोही हुँदेन । हतारो गरेर परीक्षण गरिएका उत्तर पुस्तिकामा त्रुटी भेटिएर पुनः परीक्षण गर्नु परेका बेलाबेलाका घटनाहरुले उत्तर पुस्तिका परीक्षणमा त्रुटि हुने गरेको पुष्टी गरेका छन् ।
यसपछि गरिने उत्तर पुस्तिकाको सम्परीक्षण गर्दा परीक्षणका क्रममा भएको त्रुटि सच्याउने कुरामा महत्वपूर्ण भूमिका हुनसक्छ । तर त्यो पनि जिम्मेबारी पूर्वक र गम्भीरता पूर्वक भएनन् कि ? दिनमै सयौं उत्तरपुस्तिका सम्परीक्षण गर्ने कुनै सम्परीक्षकले कसरी परीक्षणका त्रममा भएका त्रुटि सच्याउन भ्याउला र ? अनि यसमा पनि उही प्रश्न सर, दिनमै हजारौं उत्तर पुस्तिकाको सम्परीक्षण कसरी सम्भव भयो भनेर कसले
सोध्ने ? स्वाभाविक छ, कोरोनाका कारण दुइ वर्षसम्म विद्यार्थीले राम्रो पढ्न पाएनन् । र अहिलेको नतिजा नराम्रो आयो । विद्यालय शिक्षा सुरु भएदेखिको अवस्था राम्रो भएको भए यति कमजोर नतिजा हुने थिएन कि भन्नेहरुलाई के जवाफ दिने ? अनि एसईईको नतिजा सुधार्ने हो भने सच्याउनु पर्ने कुरा धेरै छन् । यसमा समुदायीक विद्यालयको पठन वातावरण उपयुक्त बनाउने देखि इन्टरनेटको लतमा लागेका अधिकांश बालबालिकामा पढ्ने कुराको लगाव बढाउँदै वा उनीहरुलाई आफ्नो कामको लयमा फर्कने बनाउँदै पढ्छु भन्ने बनाउने प्रयत्नको खाँचो छ । अनि खाँचो छ, प्रश्नपत्र निर्माण देखि परीक्षा केन्द्रको वातावरण सुधार तथा उत्तर पुस्तिका परीक्षण र सम्परीक्षण आदि सबैमा सुधारको । के शिक्षकहरुले आन्तरिक मूल्या्कनबाट नम्बर दिन पाउँदा जथाभावि नम्बर दिएका हुन् ? भन्ने प्रश्नको उत्तर माथि भनिएका पक्षहरुमा सुधार गर्दै लगेर शिक्षकहरुले नै दिनु पर्नेछ आगामी वर्षहरुमा । नभए कोभिड कालका दुई वर्ष विद्यालयले आन्तरिक मूल्यांकन गर्दा विद्यार्थीलाई मनपरी नम्बर दिएको भनेर लागेको आरोप पुष्टी हुनेछ ।
चर्चा एसइइ नतिजाको
previous post