कुमालटारी/व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । व्यास–१० स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा “हामी खेल्छौँ र खेल्न सिकाउछौँ “भन्ने मूल नाराका साथ मैत्रीपूर्ण भलिबल खेलाइएको थियो ।
चण्डिदेवी राष्ट्रिय मा.वि.मा व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको पछि प्रमुख अतिथि व्यास नगरप्रमुख प्रमुख बैकुण्ठ न्यौपानले आगामी दिनहरूमा यसलाई अझ फराकिलो बनाउदै सामुदायिक, संस्थागत तथा जिल्ला स्तरीय बनाउने लक्ष्य रहेको बताए । उक्त कार्यक्रममा आयोजक विद्यालयका प्रअ रामचन्द्र पोख्रेल (RC) ले स्वागत गर्दै अघिल्लो वर्ष वडा स्तरीय आयोजना गरेको र अहिले व्यास नगर स्तरीय गर्दा शिक्षक साथीहरूको उत्साहजनक सहभागिता देख्दा आफुलाई निकै हौसला मिलेको बताएको शिक्षक यमप्रसाद सापकोटाले बताए ।
साथै उहाँले कार्यक्रमका लागि आर्थिक तथा विविध रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
सैगरी वडा नम्बर १० का वडा अध्यक्ष खेमराज पोख्रेलले आफ्नो वडामा रहेको विद्यालयले विगतका वर्षहरु जस्तै यस वर्ष पनि यति ठुलो कार्यक्रम आयोजना गरि वडाको नै गरिमा बढाउन सफल भएकोमा विद्यालय परिवारलाई धन्यवाद दिनुभयो । कार्यक्रममा १३ वटा विद्यालय सहभागी भएका थिए भने प्रथम सिद्दबेनी मा.वि.द्वितीय केशवटार मा.वि.र तृतीय द्वय शिवपाञ्यान मा.वि., जलदेवी मा.वि. हुन सफल भएका थिए । उक्त खेलमा उत्कृष्ट खेलाडीको उपाधि केशवटार मा.वि.का बिनोद अर्यालले प्राप्त गर्न सफल भए ।भलिबल प्रतियोगिताको रेफ्रीको भूमिकामा विश्वेश्वर खनाल र नारायण प्रसाद ढकाल रहनु भएको थियो । खेलमा महिला शिक्षक खेलाडीहरु पनि पुरुष शिक्षक सरह नै प्रतिस्पर्धामा उत्रिएको हुनाले खेल निकै रोचक बनेको थियो । कार्यक्रममा व्यास नगरपालिका कार्यपालिका सदस्य चन्द्रामाया परियार , नेपाली काङ्ग्रेस जिल्ला सदस्य तथा महिला विभाग प्रमुख कल्पना पोख्रेल , शिक्षा अधिकृत नवीन पराजुली, वडा नम्बर १० का वडा सदस्यहरु ईश्वर पौडेल , यज्ञ प्रसाद शर्मा, बासना कुँबर, खिरमाया बि.क., निवर्तमान अध्यक्ष बाबुराम पौडेल , आदिकवि भानुभक्त मा.वि.का अध्यक्ष ऋषिराम ढुंगाना प्राविधिक सहायक किशोर बास्तोला लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन सत्रमा व्यास नगर शिक्षा शाखाका प्रमुख केदार आचार्य , नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराई , नगर शिक्षा समितिका सदस्य यम बहादुर आले लगायतले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पाठकज्यूले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन विष्णु प्रसाद श्रेष्ठज्यूले गर्नुभएको थियो। विद्यालयका शिक्षक प्रतिनिधि शान्ता बास्तोलाले संचालन गर्नुभएको उक्त कार्यक्रममा आधारभूत तहका इन्चार्ज यमप्रसाद सापकोटाज्यूले सहजीकरण गर्नुभएको थियो ।