जेठ १५, नेपाली नागरिकको ६ दशक लामो रैतिबाट नागरिकहुने सपना पुरा भएको दिन । २०६५ साल जेठ १५ गते नेपाली जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिले नेपाललाई गणतन्त्रात्मक मुलुक घोषणा गरेका थिए । त्यो दिनको सपना नेपाली नागरिकले देखेको २००३ साल देखि नै हो । त्यसैले जेठ १५ हामी नेपालीका लागि ऐतिहासिक दिन हो ।
देशमा गणतन्त्र स्थापना भएसंगै नेपाली नागरिकका समृद्धि सपनाले पंख फिजाएका थिए । तर यो एक दशको अवधिलाई मूल्याङकन गर्ने हो भने हाम्रो हातमा आशा भन्दा निराशा धेरै परेको छ । यो अवधिमा हामीले हाम्र्रै प्रतिनिधिले बनाएको संविधान त पायौं तर अरु उल्लेख गर्न लाएक उपलब्धि हासिल हुन सकेको छैन । अझ पछिल्लो पुस्ताले सम्झन लाएक काम भएको छैन भन्दा अत्यूक्ति हुँदैन । बरु असमानताको खाडल झन गहिरो हुँदै गएको छ । अपराधलाई राजनीतिकरण गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । पछिल्ला निर्वाचनहरुलाई हेर्ने हो भने मध्यम वर्गिय व्यक्ति राजनीतिमा आउने र निर्वाचन लड्ने कल्पना समेत नगरे हुने अवस्था आएको छ । नागरिकको आशा र उत्साह अब विस्तारै निराशा र आक्रोशमा परिणत हुँदै गएको छ । यो निराशा र आक्रोशलाई बेलैमा व्यवस्थापन गर्न नसक्ने हो भने सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धि खतरामा पर्न सक्छ । सुशासन, समृद्धि र विकासको सपना बाँड्ने तर व्यवहारमा परिणत गर्न नसक्ने हुँदा जनअसन्तुष्टी बढेको हो । त्यसैले हाम्रो राजनैतिक नेतृत्व बेलैमा यस्ता कुराहरुमा सचेत हुनु जरुरी छ ।
अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए–हाम्रा कामले हाम्रा पूर्वजहरु प्रति कृतज्ञता, हाम्रै पुस्ताका लागि न्याय, भावी पुस्ताकालागि कर्तव्य र समस्त प्राणी प्रति प्रेम प्रदर्शन गर्न सक्नुपर्छ । लिंकनले भने झै हाम्रो वर्तमान नेतृत्वको अहिलेको कर्मले पुर्खाहरुको सम्मान हुनुपर्छ, हाम्रा पुस्ताका प्रति न्याय हुनुपर्छ र भावी पुस्तालाई कर्तव्य बुझाउने सामथ्र्य राख्नुपर्छ । यसो हुन सकेमा गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन अर्पण गर्ने पुर्खा र अन्य सबैको कामको सम्मान हुनेछ । निराशालाई आशामा बदल्दै नेपाली नागरिकको समृद्धि सपना पूरा गर्ने कार्यमा हाम्रो राजनैतिक नेतृत्व सफल होस् । १२ औ गणतन्त्र दिवसको अवसरमा सबैमा शुभकामना ।