यतिखेर सम्पूर्ण विश्व नै कोरोना भाइरसको भयबाट ग्रसित छ । चीनको वुहान प्रान्तबाट शुरुभएको भाईरसले संसारभरी त्रास फैलाईरहको छ । हजारौंको ज्यान लिईसकेको छ कोरोनाले लाखौं ग्रसित छन् भने निरन्तर फैलने क्रम जारी छ । तर सकारात्मक पाटो के पनि छ भने उपचार पश्चात निको भएर घर फर्कने पनि छन् । कोरोना भईरसको बारेमा विभिन्न टिक्काटिप्पणी पनि भैरहेका छन् । अहिले सामाजिक संजालका भित्ताहरुपनि कोरोना भाइरस सम्बन्धी टिक्का टिप्पणीहरुले भरिने गरेका छन् । चाहे त्यो कसैप्रति गरिने व्यङ्ग्यका माध्यममा होस् या अमेरीका चीनलाई जोडेर गरिने विश्लेषणका माध्यममा । जे होस् हावादारी कुराहरु गरेर सामाजिक संजाल पनि कोरोनामय छ भन्दा फरक नपर्ला । खुसीको कुरा चाहि के हो भने चीनबाट शुरु भएको कोरोना भाइरस छिमेकी मुलुक हाम्रो देशमा अझैसम्म आइपुगेको छैन । आधिकारीक रुपमा प्रमाणित भै सकेको छैन । तर नागरिकमा त्रास नफैलियोस् भनेर मात्र बाहिर नल्यायको हो नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु पनि छन् भन्ने हल्ला पनि नसुनिएका भने हैन ।
अत्यन्तै तिब्रगतिमा फैलने र पर्याप्त सुरक्षा र उपचार नपुगेमा ज्यानै लिने माहामारीको रुपमा फैलिरहेको कोरोनाप्रति माननिय स्वास्थ्य मन्त्री भानुभक्त ढकालले दिनुभएको प्रतिक्रिया पनि यतिखेर नेपाली संचार माध्यम र सामाजिक संजालको लागि बहसको विषय बनेको छ । माननिय स्वास्थ्य मन्त्री ज्यूले आफ्नो अन्तरवार्तामा भन्नुभएको छ,‘कोरोनाको आशंका गरिएको व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिदैन । यसको लागि स्वयंम व्यक्ति नै जिम्मेवार हुनु पर्दछ । रोग लागेको प्रमाणित भएमा मात्र राज्यले जिम्मा लिनेछ र अन्य देशमा भएका नेपालीलाई हाल नेपाल फर्काउन सकिदैन । उक्त देशले कोरोना संक्रमण नभएको प्रमाणित गरेका मात्र ल्याउन सकिनेछ । स्वास्थ्य मन्त्री ज्यूको यहि प्रतिक्रियाप्रति केहि धारणहरु राख्न मन लाग्यो । वुहानमा शुरु भएको कोरोना चीनको अन्य प्रान्तहरुमा फैलिदैंं गर्दा चिनमा बसेका नेपालीहरुलाई समयमै नेपाल ल्याउन नसक्दा पनि सरकारको व्यापक आलोचना भएको थियो । हुन पनि चीनले हप्ता दिनमै त्यति ठूलो अस्पताल बनाउँदा नेपालले भने आफ्नो नागरिकलाई ल्याएर राख्ने क्वारेन्टाइनसम्म बनाउन नसकेर जोखिममा परेका देशवासीलाई १५/१५दिनसम्म स्वदेश ल्याउन नसक्नु एउटा लज्जाकै विषय हो । कति नेपाली बसेका थिए र चीनमा २०० पनि थिएनन् । सयौं मन्त्री सयौं सांसद र सयौं अनावश्यक कर्मचारीहरुलाई तलब, अनावश्यक भत्ता र अन्य सुविधा सहित पाल्न सक्ने राज्यले जोखिममा परेका आफ्नो नागरिकलाई समयमै उद्धार गर्न नसक्नु देशको लाचारी नै हो । मुखले मात्र देशमा विकास भएको छ । सम्मृद्धि आएको छ भनेर हुँदैन । देशमा कति विकास भयो र देशमा कति सम्मृद्धि भयो भन्ने कुराको प्रमाण यहि घटनाले पनि दिन्छ । यो त अलि पहिलेको कुरा भयो । मलाई आश्चर्य लागेको चाहि अहिले स्वास्थ्य मन्त्री ज्यूले अन्तरवार्तामा भन्नु भएको कुराप्रति हो । उहाँले भन्नुभएको छ– ‘रोग लागेको प्रमाणित नभएसम्म राज्यले जिम्मा लिदैन । व्यक्ति स्वयमं जिम्मेवार हुन पर्छ ।’ यहिबाट थाहा हुन्छ कति लाचार र निरिह छ हाम्रो सरकार । हो विश्वव्यापि रुपमै माहामारिको रुप लिइरहेको कोरोनाबाट बाँच्न प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट पूर्णसतर्कता अपनाउनु पर्छ । यो व्यक्तिको नैतिक जिम्मेवारी
हो । तर सरकारले आशंकाको भरमा सुरक्षा दिन सक्दिन भन्न मिल्छ र । बरु सरकारले त थप अन्य स्थानहरुमा पनि क्वारेन्टाइन स्थापना गरेर शंका लागेका सबै व्यक्तिहरुलाई सुरक्षा र उपचार दिनुपर्ने होइन र । कुनै पनि देशको सरकार भनेको उक्त देशका नागरिकहरुको अभिभावक हो । के कुनै पनि अभिभावकले अन्तिम अवस्था आएपछि मात्र आफ्नो सन्तानको जिम्मा लिन्छु भन्न नैतिक रुपले सुहाँउछ । म माननिय स्वास्थ्य मन्त्री ज्यूलाई प्रश्न गर्न चाहन्छु– के तपाई आफ्ना छोरा छोरीलाई हल्का जोरो आउँदैमा जचाउँन लानुहुन्छ या १०४ डिग्रि÷१०५ डिग्रि पुगोस् अनि जचाउँला भनेर बस्नु हुन्छ । आशंका मात्र गरिएका व्यक्तिलाई व्यक्तिगत जिम्मेवारीमा छोड्दा तिनै व्यक्तिको कारणले तल माथि हुन पुग्यो भने ? अझ अर्को महत्वपूर्ण प्रश्न कोरोना प्रमाणित भएपछि राज्यले जिम्मा लिन्छ भन्नु भएको छ । तर मेरो जिज्ञासा के हाम्रो सरकार त्यस्को लागि तयार छ ? के हामीसँग प्रर्याप्त औषधी छन् ? के हामीसंग संक्रमित व्यक्तिलाई ठीक बनाएर घर फर्काउन सक्ने क्षमता छ ? सरकारले जिम्मा लिन्छ भनेर मात्र त हुँदैन होला । केहि समय पहिलासम्म कोरोना लागे उपचार गर्ने चिकित्सकले लगाउने पोशाकसम्म नभएको भन्ने सुनिएको थियो । यस्तो अवस्थामा सरकारले जिम्मा लिन्छ भनेर ढुक्क पनि हुने कि नहुने ? संसारका कयौं देशमा स्वास्थ्य उपचार निशुल्क हुन्छ तर हाम्रो देशमा भने यस्तो विश्वव्यापि माहामारी फैलिंदा पनि अवस्था तरल छ । कतिखेर कता बग्छ पत्तै छैन ।
माननीय मन्त्री ज्यूले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिने भन्नु भएको छ । रोकथाम र सुरक्षाका दृष्टिले ठिकै पनि मान्न सकिएला यो कुरालाई । तर पनि एउटा जिम्मेवार सक्षम राष्ट्रले यस्तो अभिव्यक्ति दिन
सुहाउँदैन । यसले नेपालको सक्षमता माथि नै प्रश्न उठाउँछ । अहिले जति पनि नेपाली विदेशमा छन् चाहे अध्ययनका लागि होस् चाहे रोजगारीको लागि । ती रहरले विदेशीएका होइनन् । तिनलाई देशको अवस्थाले त्यहाँ पु¥याएको हो । अनि संकटका बेलामा तिनीहरुलाई रोग लागेको हुन सक्दछ । हामी नेपाल ल्याउँदैनौ भन्न मिल्छ ? भोलि ती देशहरुले पनि संक्रमण नियन्त्रणको लागि आ–आफ्नो देश फिर्ता जाउँ भन्यो भने कहाँ जाने उनिहरु ? के उनिहरु नेपाली होइनन् ? के बषौं अरबौं लाखौं रेमिट्यान्स पठाएर राज्यको अर्थतन्त्र धानेको गुन विर्सेकै हो सरकारले ? यस्तो अवस्थामा कसरी र कहाँबाट सहयोग जुटाएर हुन्छ के गर्न सकिन्छ भन्नु पर्ने बेलामा सरकार चाहि लरोतरो गरेर पन्छिन खोजेको आभाष गराई रहेको छ । स्वास्थ्य मन्त्री ज्यूको अभिव्यक्तिले कठै विचरा हामी नेपाली जहाँ एउटा मन्त्रीले करोडौंको कमिसन डिल गर्दछ, कमिशन बढाउँन अरबौं लागत बढाई दिन्छ, त्यस्तो देशमा यस्तो संकटको बेला सरकार चाहि यति निरिह र निम्छरा कुरा गरिरहेको छ । मलाई आश्चर्य पनि लागेको छ, अचम्म पनि लागेको छ । ताजुब पनि लागेको छ ।
यी त भए सरकारको कुरा । तर सरकारप्रति गुनासो पोख्दै गर्दा मलाई हामी नागरिककै व्यवहार देखेर पनि उदेक लागेको छ । भरखरै मात्र होलि सकिएको छ । कोरोनाको संक्रमण रोक्न सरकारले ठूला भोज भतेर सम्मेलन नगर्न आग्रह गरिरहेको छ । तर हामीलाई भने यी कुराहरुले खासै छोएको छैन । सरकारले धेरै मान्छे भेला भएर होलि नखेल्न भन्यो । विगतको तुलनामा यो बर्ष होलि नै आएन भन्दा पनि हुन्छ । तर कतिपय ठाउँमा होलिकै अवसरमा मेला पनि लागे । कतिपय हामी नै सैयौंको संख्यामा भेला भएर होलि मनायौं । फेशबुकमा ह्यापी होली लेखेर अपलोड गरिएका ग्रपु फोटोहरुले त यही बताउँछ । अब यसपालि होलि खेल्न नपाएर पोहोर पराहरको फोटो अपलोड गरिएको भए त त्यो कि पशुपति नाथलाई थाहा होला या तिनैलाई जस्ले अपलोड गरे । यदि ठाउँठाउँमा प्रहरी परिचालन हुन्थेन भने हामीले यो बर्ष पनि विगतमा जस्तै धुमधामसंग होलि मनाउने पक्का थियो । ठाउँठाउँमा मनाइएको होलिले यही संकेत गर्दछ । सरकारले ठूलो भोजभतेर गरेर विहे, पास्नी जस्ता कार्यक्रम तत्कालका लागि नगर्नु भनेकै छ । तर भैरहेकै पनि छ । हामीले गरिरहेकै छौं । त्यसले हामी नागरिकको पनि नैतिक जिम्मेवारी माथि प्रश्न उठाएको छ । सरकारलाई पोश्न र दोष दिन हामी कोही कम छैनौ । सब एकसे एक छौं । तर जब कुरा हामीतिर आईपुग्छ हामी किन यसरी गैरजिम्मेवार हुन्छौं कुन्नी ? सरकारले लाइसन नभए सवारी नचला भन्छ । हामी चलाई दिन्छौं । मापसे गरेर सवारी नचला भन्छ । हामी टेरिदिन्नौं । अहिले पनि कोरोनाको संक्रमण बढ्न सक्छ धेरै ठूलो भोजभतेर सभा सम्मलेन नगर भन्यो हामीले मान्दिएनौंं । आखिर नागरिक भनेका त सरकारलाई दोष दिनका लागि न हो । आफ्नो जिम्मेवारी पुरा गर्न त कहाँ पर्छ र हैन ? नत्र दश पर्ने मास्कलाई तीस पनि पर्थेन । मान्छेहरुले घरमा लगेर मास्क स्टक पनि राख्ने थिएनन् ।
अन्ततः विश्वव्यापी रुपमै फैलिरहेको यो संकटबाट नेपाल र नेपालीलाई कसरी सुरक्षित राख्ने यसको जिम्मेवारी त राज्यले लिनै पर्दछ । यसको लागि पन्छिने भन्दा पनि आजको मितिबाट पूर्व तयारी गर्नुको विकल्प छैन । किनभने नेपाल जस्तो गरिब राज्यले भोलि परहाले आजै गर्न सक्ने केही छैन । र नागरिक स्तरबाट पनि आफूआफू जिम्मेवार हुनु अपरिहार्य छ । किन भने आफ्नो लागि आफै सर्तक हुने हो । अङ्ग्रेजीमा ‘Prevention is better then care’ भनिन्छ । त्यसैले सर्तकता त हामीले नै पो अपनाउने हो कि ! अतः नागरिक स्तरबाट नागरिक, सरकारी स्तरबाट सरकार सतर्क रहौं । जिम्मेवार बनौं ताकि सबै मिलेर कोरोना भाईरसको सामना गर्न सकियोस् ।
कोरोना, होली र क्वारेन्टाइन
previous post