
नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वमा जान चाहनेहरुको चाहना मुखरित हुन थालेको छ । उक्त महाधिवेशनबाट पार्टी सत्ता खासगरी सभापति हुन चाहनेहरुको सूचि लामै भैसकेको छ । वर्तमान सभापति जसरी पनि पुनः सभापति हुने दाउमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल सहित अन्य दोस्रो तथा तेस्रो पुस्ताका नेताहरुले समेत सभापति बन्ने आकांक्षा खुलेरै प्रस्तुत गरेका छन् । राजनीतिमा लागेका जो कोहिलाई त्यो दलको उच्च पदमा पुग्ने, आफ्नो दललाई सरकारको नेतृत्वमा पु¥याउने र आफ्नो दर्शन र सिद्धान्त अनुसारका कार्यक्रमहरु कार्यान्वयन गरेर देश र जनतालाई समृद्धिको मार्गमा उन्मुख गराउने अपेक्षा राख्नु स्वाभाविक हो ।
कांग्रेसको एउटा समर्थक र शुभेच्छुकले रुख चिन्हमा मतदान गर्दै गर्दा उसले अपेक्षा गरेको हुन्छ, यो पार्टीले म जस्ता तल्लो तहका समर्थक ÷शुभेच्छुकको समृद्धिको चाहनालाई कांग्रेसको सरकार बनेमा वा नबनेमा पनि पूर्ण गर्ने तर्फ यसका नेताहरु लागि पर्नेछन् र मेरो मतको कदर हुनेछ । त्यो मतसंग उसका सपनाहरु जोडिएका हुन्छन् । उसको आमा बुबाको सपना गाँसिएको हुन्छ अनि उसका भाइबहिनी र सन्तानको भविष्य गाँसिएको हुन्छ । एउटा कांग्रेस कार्यकर्ता चारतारे झण्डा बोकेर संगठन गर्ने भन्दै घरबाट निस्कँदै गर्दा उसलाई दैनिक खाना बनाएर खुवाउने आमाको विश्वास त्यो सन्तानसंगै संगठनमा गएको हुन्छ । ति आमा ठान्छिन्, मेरो सन्तानको कामले मेरो र मेरो समाजको उन्नयनमा सघाउने छ । तर के वर्तमान कांग्रेस नेतृत्वका क्रियाकलाप त्यो शुभेच्छु ÷समर्थकको सपना पुरा गर्ने तर्फ उन्मूख छ । के कांग्रेस नेतृत्वका क्रियाकलाप कांग्रेस कार्यकर्ता आफ्नो छोरालाई विना कुनै प्रश्न दैनिक समयमा खाना बनाएर खुवाउने आमाको सपना साकार पार्ने तर्फ अनि उनको विश्वास टुट्न नदिने तर्फ उन्मुख छ ? भनिरहुन परेन, छैन । अझ अहिले त कांग्रेस कहाँ छ भनेर खोज्नु पर्ने अवस्था आइसकेको हुन्थ्यो यदि चौधौ महाधिवेशन नआएको भए ।
कांग्रेस नेतृत्व खासगरी सभापति शेरबहादुर देउवा प्रतिपक्षि जस्तो छैनन् बरु सत्ता सहयोगी जस्ता छन् । प्रजातन्त्रको पर्याय भन्ने कांग्रेसमा आन्तरिक प्रजातन्त्र सून्य छ । नेतृत्वमा रहनेहरु अरुका कुरा सुन्न तयार छैनन् । तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालामा प्रजातान्त्रिक संस्कार नभएको भनेर दशौं महाधिवेशनका बेला पोखरामा गिरिजाका अगाडी आफु कसाईले काट्न तयार पारेको खसीको अवस्थामा रहेको भाषण गरेका देउवा अहिले विधि र पद्धतिलाई घोती लगाउँदै धमाधम महाधिवेशनको परिणामा आफु अनुकुल बनाउने गरी विभिन्न काम गरिरहेका छन् । गिरिजाप्रसाद कोइराला सभापति हुँदा देउवाको भन्दा दयनिय हालत अहिले पौडेल वा सिटौलाहरुको छ । जसका कुरा सुन्न र प्रजातान्त्रिक संस्कार देखाउन देउवा तयार छैनन् । आफ्ना व्यक्तिलाई विभिन्न लाभका पद दिलाउन प्रधानमन्त्री ओलीसंग गर्ने गरेका भनिएका सांठगाँठले देउवालाई नैतिक रुपमा अत्यन्त कमजोर बनाएको छ । र कम्तिमा कांग्रेसका युवामाझ देउवाको विश्वास मरेको छ । चार पटक प्रधानमन्त्री बनेका देउवाले आफ्नो प्रधानमन्त्रीत्वमा पार्टीको साख बढाउने भन्दा घटाउने काम धेरै गरे ।
सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषको भविष्यवाणीमा विश्वास गरेर फेरी प्रधानमन्त्री बन्ने बाहेक देउवासंग सभापति बन्ने र फेरी प्रधानमन्त्री बन्नका लागि कुनै नविन कार्यक्रम छैनन् ।
यतिबेला कांग्रेस आफै वर्तमान सरकारका तमाम जनविरोधी क्रियाकलापको विरुद्धमा अनसनमा हुनु पर्ने हो । तर कांग्रेस जनताको आवाज उठाउने मामलामा कति कमजोर सावित भएको छ भने इनफ इज इनफ नामको समूहले गरेको अनसनमा ऐक्यवद्धता जनाउने अवस्थामा पुगेको छ । सरकारका भ्रष्टाचारजन्य क्रियाकलापको विराधमा पार्टीले गर्ने कार्यक्रम एकदिन हुने र अर्काे दिन सकिने खालको बनाएर वार्गेनिङको माध्यम बनाए देउवाले ।
यी सबैको परिणाम स्वरुप पार्टी विसर्जनको अवस्थामा पुग्न लागेको चिन्ता आम कार्यकर्ता र शुभेच्छकमा छाएको छ । त्यसो भए कांग्रेसको पुनः जीवनको कुनै उपाय छैन त ?
छ । कांग्रेसलाई पुनः जीवन दिने तागत युवा पुस्ताक नेताहरुमा छ । अहिले आएर त्यो दायित्व बोध गरेका १२ युवा नेताले समूह नै बनाएर युवाहरु नेतृत्वमा पुग्ने वातावरण निर्माण गर्न लागि परेको सुन्नमा आएको छ । गगन, प्रदिप, धनराज, चन्द्र , गुरु लगाएतका युवाले पनि अब हामी युवा हौं र पार्टी नेतृत्वमा हामीलाई पु¥याएमा हामी राम्रो गर्छाै भनेर मात्र पुग्दैन के गर्ने, कसरी गर्ने भन्ने कुराको स्पष्ट खाका सहित आउनु आवश्यक छ । यसो भएमा महाधिवेशन प्रतिनिधिको रोजाइमा अवश्य युवा नेता पर्नेछन् ।
युवा नेता भनेका निभ्न लागेको कांग्रेस रुपि दीपको तेल हुन् । युवाको भूमिका कमजोर हुनु वा युवा अव पनि पार्टी नेतृत्वमा नआउनु भनेको तेल सकिँदै जानु हो र भनिरहुन परेन तेल सकिएसंगै दीयोको हालत के हुन्छ । त्यो दीपलाई निभ्ने दिने या जगाइराख्ने भन्ने कांग्रेसका नेता कार्यकर्ताको हातमा छ र अहिले जबरजस्त हस्तक्षेप मार्फत तेलको भूमिकामा युवाहरु उदाउनु पर्ने नै छ । आशा गरौं आफ्नो भूमिकामा खरो सावित हुनेछन् । र पार्टीको अवसानको साक्षी नभएर पार्टी पुनः जीवनको अगुवा बन्न युवा नेताहरु सक्षम हुनेछन् ।
युवा नेता प्रदिप पौडेल भन्छन्, बिपीका पालामा कांग्रेसले पटक–पटक नयाँ जीवन पाउँथ्यो । नयाँ जीवनतर्फको त्यो गति कांग्रेसमा अहिले अवरुद्ध छ, पार्टी मूल्य र विचारहीनताको गहिरो दलदलमा भासिएको छ । यसर्थ, आउने महाधिवेशनमा सबैभन्दा प्रखर रूपमा छलफल हुनुपर्ने विषय यही नै हो । पौडेलले भनेझै कांग्रेसमा यस पटक राम्रो वैचारिक बहस होस् र युवा नेतृत्वले पार्टीको जीवनको अगुवाई गरुन् । कांग्रेस पुर्नजीवनको कामना !