डेढवर्ष ढिलो गरेर भएपनि नेपाली काँग्रेसले आफ्नो चौधौं महाधिवेशन मंसिर अन्तिम साता सम्पन्न गरेको छ । झण्डै डेढसय पदाधिकारी तथा सदस्य रहने कांग्रेस केन्द्रीय समितिमा अधिकांश युवा नेतृत्वको चयनले कांग्रेसलाई उर्जा प्रदान गर्ने विश्वास गर्न सकिन्छ र आम कार्यकर्ता पनि त्यही विश्वासमा छन् । नेतृत्व परिवर्तनको मूल मुद्दा भएको यो महाधिवेशनले पुनः सभापतिमा शेरबहादुर देउवालाई चयन गर्दै गर्दा निराश बनेका आम कांग्रेस जन महामन्त्रीका गगन र विश्वप्रकाश निर्वाचित भएसंगै उत्साहित बनेका छन् । उपसभापतिमा निर्वाचित धनराज गुरुङको अनुहार सम्झँदा पनि कार्यकर्ता र शुभेच्छुकमा उत्साह जाग्ने गर्दछ ।
लौहपुरुष पुत्र प्रकाशमानले व्यक्तिगत इगो नराखेका भए, विमलेन्द्र आफ्नो मुद्दामा अडिन सकेका भए अनि रामचन्द्र र सशांकले ढुलमुले चरित्र त्यागेका भए कांग्रेस सभापतिमा अर्कै अनुहार आउने थियो र उनीहरुले उठाएको नेतृत्व परिवर्तनको मुद्दाले सार्थकता पाउने थियो । अघिल्लो रातसम्म शेरबहादुरबाट अब पार्टी नचल्ने निष्कर्ष सुनाउने प्रकाशमान र विमलेन्द्र एक रातमा देउवा नभए पार्टी नचल्ने निष्कर्षमा
कसरी पुगे भनेर आमकार्यकर्ताले अवश्य प्रश्न गर्ने छन् र यो प्रश्नले जीवनभर सिंह र निधीलाई पछ्याइ रहने छ । संगै रामचन्द्र र सशांकले पनि आफ्नो ढाबको किलो प्रवृत्ति किन भन्ने प्रश्नको जवाफ जीवनपर्यन्त दिइरहनु पर्नेछ ।
यति हुँदाहुँदै पनि कांग्रेस नेतृत्वमा वडा तह देखि केन्द्रसम्म जसरी युवा नेतृत्व अगाडि आएको छ, यसले कांग्रेसमा जीवन भर्नेछ । यतिबेलासम्म हामीले राजनीतिक परिवर्तनका काम ग¥यौं । अब
राजनीतिमा परिवर्तनको काम गर्नुछ । राजनीतिमा जसरी मनी र मशलको प्रयोग बढ्दोछ, त्यसलाई न्यूनिकरण गर्ने आँट युवा नेतृत्वले गर्नुपर्छ । आम नागरिकको जीवनस्तर उकास्ने खालका र स्वदेशमै
रोजगारी सृजना गरी दक्ष जनशक्ति पलायन हुनबाट
रोक्ने काममा पनि युवा नेतृत्वले ध्यान दिनु जरुरी
छ । बुढो पुस्ताले गरेन भनेर घारे हात लगाउने दिन कमसेकम कांग्रेसका युवाहरुका लागि अब रहेनन् । तसर्थ कांग्रेस नेतृत्वमा उदाउँदो युवा पुस्ताले पार्टी र नेपाली नागरिकको सुखद भविष्यका लागि काम गरुन् भन्ने कामना ।