हामी मध्ये अधिकांशले सुनेको र रुचि पूर्वक पढेको रत्नाकरको कथा प्रधानमन्त्री केपी ओलीको कार्य व्यवहार देखेसंगै सम्झना भएको छ । कथाको सार संक्षेप यस्तो छ ।
रत्नाकार नामुद डाकु थिए । उनको नाम सुन्नासाथ सबै मानिस डरले काँप्थे । उनको काम भनेको जंगलको बाटो भएर आउजाउ गर्ने बटुवाहरुलाई लुटपाट गर्नु थियो । सजिलै आफुसंग भएको कुनै सामान दिन नमानेमा उनी बटुवालाई मार्ने धम्की समेत दिन्थे । यो कुरा महर्षी नारदले सुने र रत्नाकरलाई सम्झाउने ध्येयले जोगीको भेषमा गए । जसै रत्नाकरले जोगीको भेषमा आएका नारदलाई देखे लुटपाट गर्ने उद्देश्यका साथ धम्काउँदै आफुसंग भएको सबैकुरा दिन भने । नारदले आफु जोगी भएको र आफुसंग केही नभएको बताए । तर रत्नाकार मान्ने वाल थिएनन् ।
दुवैबीच निकै वेर वादविवाद भयो । नारदको उद्देश्य रत्नाकरलाई सम्झाउनु थियो र भने रत्नाकर किन तिमी यस्तो पाप कर्म गर्छाै ? के तिम्रो यो पाप कर्मको फल भोग्न तिम्रा परिवारका अन्य सदस्य तयार छन् ? रत्नाकर विश्वासका साथ भन्छन्, अवश्य मेरो कर्मको फल मेरो परिवारका सदस्यले भोग्ने छन् । किनभने मैले नै उनीहरुको पालन पोषण गरिरहेको छु । तर नारदले रत्नाकरका कुरा पत्याएनन् । उनले भने म तिम्रो कुरा विश्वास गर्न सक्दिन । यदि तिमी आफ्नो परिवारका सदस्य भएठाउँ गएर यसको जवाफ लिएर आयौ भने म आफुसंग जे भएको सबै तिमीलाई दिन तयार छु । बरु तिमीलाई मेरो विश्वास लाग्दैन भने मलाई जंगलको कुनै रुखमा बाँधेर जाऊ ।
रत्नाकर, नारदलाई एउटा रुखमा बाँधेर घर तर्फ लागे । घर पुगेर परिवारका सदस्यसंग रत्नाकरले आफ्ना राम्रा वा नराम्रा कामको फल भोग्न तयार भए नभएको जिज्ञासा राखे । परिवारका सदस्य सबैले आफ्ना परिवारका सदस्यको पालन पोषण गर्नु घर मुलीका रुपमा उनको दायित्व भएको उल्लेख गर्दे त्यसका लागि आवश्यक जोरजाम उनैले गर्नुपर्ने मात्र भनेनन् त्यो जोरजाम कसरी भईरहेको छ भन्ने बारेमा आफुहरुको सरोकार नरहने बताए । साथै उनले पाप वा धर्म जे गरेको भएपनि त्यसमा आफुहरुको भागेदारी नहुने बताए । परिवारका हरेक सदस्यको जवाफ थियो, तपाई राम्रो काम गरेर स्वर्ग जानु भएमा पनि हामी संगै जाँदैनौं र नराम्रा कामका कारण नर्क जानु परेपनि तपाईँलाई हाम्रो साथ रहने छैन । रत्नाकरले कुरा बुझे । फर्केर नारद भए ठाउँ गए । बन्धनबाट नारदलाई मु्क्त गराउँदै माफी मागे अनि आगामी दिनमा सत्कर्ममा लाग्ने बताए । पछि उनी वाल्मिकीका नामले परिचित भए जसले रामायणको रचना गरेर आज पर्यन्त जनमनमा वस्न सफल छन् ।
कथामा जसरी रत्नाकरमा निर्भर रहेका उनका परिवारले कहिल्र्य उनको कामका बारेमा सोचेनन् वा सोच्न चाहेनन् । उनीहरुलाई चासो थियो त केवल सांझ विहान हात मुख जोर्नेको र त्यो रत्नाकर पूरा गरिरहेका थिए । त्यसरी नै आफ्नो राजनैतिक भविष्यको सुरक्षाका लागि पनि माथि ओलीको वरपर रहेकाहरु ओलीसंग प्रश्न गर्न चाहँदैनन् वा प्रश्न गर्ने आवश्यकता ठान्दैनन् । किनभने उनीहरुलाई जसरी हुन्छ, सत्ता र शक्तिमा रहनु छ । विद्या भण्डारी ओलीलाई प्रश्न गर्ने अवस्थामा छैनन् भन्ने कुरा बारम्बारका घटना क्रमले देखाएको छ किनभने ओलीकै निगाहका कारण भण्डारी भन्दा सयौं गुणा राजनैतिक योगदान भएका महिला नेतृहरु सडकमा आफ्ना त्याग र वलिदानको अवमूल्यनको साक्षी भएर भौतारिरहेका बेला उनी भने दुइदुइ पटक राष्ट्रपति हुन पाएकी छन् । पानीसंग माछाले दोहोरी खेल्न खोज्दा भोग्नु पर्ने नियतीबारे राष्ट्रपति भण्डारी पक्कै जानकार छन् । तर जब ओलीको राजनैतिक यात्राले ओरालो बाटो समात्ने छ, तब भण्डारीहरु थोरै पानी भएको तलाउबाट धेरै पानी भएको तलाउमा माछा सरे झैं सर्नेछन् ।
कहिले झलनाथ खनालको सल्लाहकार भएर जागीर खाएका अनि कहिले माधव नेपालको मुखपत्रको सम्पादक बनेर भजन गाएका अनि अहिले ओलीको जयजयकार गर्ने सूर्य थापा प्रवृत्तिको कुनै भरोसा हुँदैन । जागिर रहेसम्म यिनीहरु जागिरदाता प्रति इमान्दार रहने हुन् । नभए सुकेको रुखलाई चराचुरुङ्गीले छाडे झै छाडेर जान कुनै बेर मान्ने छैनन् यो प्रवृत्तिका मानिसले ।
आफ्ना असक्षमता र अयोग्यताहरुलाई राम्रैसंग ढाक्ने च्यादर बनेका कारण अहिले ओलीका प्रति बादलहरु कृतकृत्य छन् । आफैले लडेको एक दशक लामो कथित जनयुद्धलाई ओलीले कुहिएको फर्सीको संज्ञा दिँदा समेत बादल र टोपबहादुरहरु रमाईलो मानेर ताली बाजाईरहेका छन् । गणतन्त्रको प्राप्तीका लागि हामी सबैभन्दा बढी लड्यौं पनि भन्छन् तर बयलगाडा सिद्धान्तको भरिया बनेर हिँडिरहेका छन् । यीनीहरु पनि बयलगाडाका सारथीको केही दिनका मात्र सहयोगी हुन् ।
र आफु दुइतिहाईको समर्थन प्राप्त प्रधानमन्त्री भएको बताईरहने तर आफैलाई कामचलाउ हैसियतमा लगेका प्रधानमन्त्री केपी ओलीको राजनैतिक जीवनको ओरालो यात्रा प्रारम्भ भएको छ । आफ्नै अनेक नाजायज कामका कारण ओली शायद इतिहासमै सर्वाधिक कमजोर अवस्थामा छन् । रत्नाकर, वाल्मिकीमा रुपमान्तरण भएको कथा ओलीले अवश्य पढेका छन् । सत्ताको उन्मादले अन्धो बनेका ओलीले कथामा उल्लेखित यथार्थलाई आत्मसाथ गर्लान र रुपान्तरण भएर वाल्मिकी बन्लान भन्ने अपेक्षा गर्नु बढी हुनेछ ।
ओलीको नजिक केही यस्ता पात्र र प्रवृत्तिहरु छन् जसले अहिले उनका हरेक जायज नाजायज कर्मको साक्षी बनेर ओलीको गुणगान गाइरहेका छन्, ताली पटिरहेका छन् अनि दिनरात ओली बा भनेर निवास धाउँदै भजन गाइरहेका छन् । ओलीको राजनैतिक भविष्यको अवसान हुँदै गर्दा त्यो प्रवृत्ति बोकेका विद्या, विष्णु, गोकुल, सूर्य, बादल, टोपबहादुर र महेशहरुले रत्नाकरको परिवारले जस्तै उनको कर्मको फल भोग्न तयार नरहेको भन्दै साथ छाड्ने छन् । र उनी एक्लै पर्ने निश्चित जस्तै छ ।