फागनु–३, २०७४ मा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुँदा केपी ओलीबाट आम नेपालीले ठूलो अपेक्षा राखेका थिए । हुन पनि चुच्चे रेल, पानी जहाज, भान्सा–भान्सामा ग्याँसको पाईप । अनेकौं सपना बाँडेका थिए निर्वाचनका बेला ओलीले । मिठा सपना बाँड्न माहिर ओलीको सपना बोलीमा आम मानिसले विश्वास गर्नुको एउटा कारण थियो, अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा भारतले लगाएको नाका बन्दीमा ओलीले देखाएको बाध्यता सृजित राष्ट्रिवाद ।
दुइतिहाई सांसदको समर्थन सहित नेपालको इतिहास मै शक्तिशाली प्रधानमन्त्री बन्न पुगेका अोलीको बहिर्गमन भने पिडादायी रह्यो । सत्तारोहणको ४१ महिना पछि बालुवाटारबाट बाहिर निस्कँदा उनीसंग एक तिहाई सांसदको समेत समर्थन थिएन । अझ विडम्बना त के थियो भने उनलाई आफ्नै दलका सांसदको समेत समर्थन थिएन । उनी अध्यक्ष रहको नेपालको सबैभन्दा ठूलो दल नेकपा एमाले यतिबेला दुइ टुक्रामा विभाजित भएको छ । एक्लै हिँड्न खोज्ने बानी, अहंकारी स्वभाव, आफ्ना समकक्षी तथा वरिष्ठलाई समेत तल्लो तहमा ओर्लेर गाली गर्ने छुद्र स्वभाव आदिका कारण उनलाई आफ्नै दलका धेरै नेता तथा कार्यकर्ताले छाढ्दै गएका छन् ।
आलोचनाको आलोक ओलीलाई यति मन पर्दैनथ्यो कि उनी प्रधानमन्त्रीको कुर्सीमै बसेर आफ्ना आलोचकलाई थलापर्ने गरी कुट्न कार्यकर्तालाई निर्देशन दिन्थे । कहिले आलोचकहरु प्रति अरिंगाल बनेर चिल्न कार्यकर्तालाई उचाल्ने ओली कहिले बघिनी बनेर झम्टन आदेश दिन्थे । भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने ओलीकै पालामा महासचिव विष्णु पौडेल वालुवाटार जग्गा काण्डमा मुछिए तर जग्गा फिर्ता गर्ने भएको भन्दै उनलाई बचाउन ओलीले निकै शक्ति खर्च गरे । उनका प्रिय पात्र गोकुल बास्कोटा जसलाई अन्य राजनीतिज्ञ तुलोको एकातिर र गोकुल तुलोको अर्कातिर बस्ने हो भने गोकुलको पल्ला भारी हुने उद्घोष गर्थे उनै बास्कोटा सक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा मुछिए तर उनी माथि कुनै कारवाही भएन । उनका अर्का विश्वास पात्र भानुभक्त ढकाल कोभिड विरुद्धको औषधी खरिद प्रकरणमा मा मुछिए । अहिले पनि सार्वजनिक लेखा समितिले उक्त प्रकरणमा अनियमितता भएको भन्दै आवश्यक अनुसन्धान र दोषीमाथी कारवाहीका लागि अख्तियार लगाएतका सम्बद्ध निकायमा सिफारिस गरेको छ ।
सुविधाजनक बहुमत सहितको सरकारको नेतृत्व गरेका ओलीले दल फुटाउने अध्यादेश मात्र ल्याएनन् अर्काको दल फुटाउन संसद अपहरण गर्ने काम समेत उनैको पालामा भयो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई साथ लिएर जनताका प्रतिनिधीको मुख्य थलो प्रतिनिधि सभाको दुइ पटकसम्म हत्या गरको ओलीले विश्वव्यापि स्वास्थ्य संकट र मानव सभ्यताकै लागि कठिन चुनौति बनेको कोरोनालाई अत्यन्त हल्का रुपले लिए । उनी भन्थे, कोरोना भाइरसमा बोसिय, फ्याटिय तत्व हुन्छ, तातोपानी अथवा मनतातो पानीले धोएपछि समाप्त हुन्छ । कोरोना भनेको रुघाखोकी जस्तै हो । लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातापानी खानुपर्छ,उडाईदिनुपर्छ । उनका यही सोचाईहरुका कारण कोरोना संग जुध्ने संयन्त्र बनाउन ढिलो भयो र उनी सत्ताच्यूत हुँदाका मितिसम्म १० हजार नेपाली नागरिकले ज्यान गुमाई सकेका थिए ।
ओलीको पालका केही नियुक्तिहरुलाई हेरौं । उनले रेल्वे विभागका महानिर्देशक बनाएका गुरु भट्टराई फरक विचार राख्नेहरु माथि अत्यन्त तल्लो स्तरमा ओर्लेर गाली गलौजमा उत्रने व्यक्ति हुन् । आलीको अन्धभक्तिमा ओर्लने भट्टराई अोलीका आलोचकहरुलाई सामाजिक सञ्जालमा यसरी गाली गर्थे कि त्यस्ता शब्द सामान्य अवस्थाको अरु कोही मानिसले प्रयोग गर्नै सक्दैन । ओलीले प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरको राजेश अहिराजको योग्यता भनेकै टेलिभिजन र सामाजिक सञ्जालमा माधव नेपाल तथा पुष्पकमल दाहाललाई हत्यारा र राष्ट्रद्रोही भनेर गाली गर्नु थियो ।
भारतसंग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने आफुमात्र भएको बताउने ओलीले बाध्यतामा परेर कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मिलित नेपालको नक्सा निकाल्न त तयार भए तर त्योसंग सम्बन्धित समाग्रि समेटेर प्रकाशन गरिएको पुस्तक पुस्तक वितरणमा भने रोक लगाए । यतिमात्र होइन, भारतबाट आयात गरिने तरकारीमा रहेको विषादी परिक्षण गर्ने काममा समेत रोक लगाए । जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीले लगाएकै रङको धोती कुर्ता लगाएर मोदी भक्ति देखाएका कम्युनिस्ट प्रधानमन्त्री ओलीले वालुवाटारबाट राम र सीताको प्रतिमा बनाएर माडी पठाउने काम समेत गरे । यसबाट एकातिर धर्मलाई अफिम भन्ने उनी धर्मकै आडमा राजनीति गर्न खोजेको प्रष्ट हुन्थ्यो जसले उनी आफ्ना विचार र आदर्शबाट च्यूत भएको बुझ्न सकिन्थ्यो भने अर्काे तिर म पनि तिम्रै लाइनमा छु है भनेर मोदी भक्ती देखाएको बुझ्न पनि कनि थिएन ।
र अहिले ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेका छन् । मानिस वा जो कोहीले पनि आफ्नो कर्म अनुसारको फल भोग्नै पर्छ भन्ने कुराको दृष्टान्त बनेका छन्, ओली । बुढापाकाहरु भन्ने गर्छन्, नराम्रो कामको प्रतिफल यो जुनिमा नभएपनि अर्काे जुनिमा प्राप्त हुन्छ । तर यहाँ ओली तत्काल भोग्दैछन् । ओलीलाई लागेको हुँदोहो अरिंगाल, साइबर स्यालहरु छँदेछन्, मलाई कसले के गर्न सक्छ ? तर उनलाई कर्मको फल भोग्नबाट कसैले रोक्न सकेन ।
ओलीको बार्दली गमनपछि एउटा नीति कथाको याद आयो । सोही कथाबाट आजको आलेख अन्त्य गर्न चाहन्छु । कथा यस्तो छ, भगवान शिव सामु शनि ग्रह गएर भने अब मैले हजुरलाई हजुरको कार्यको प्रतिफल दिनुछ । महादेवले सोच नाथे शनी मलाई सजाय दिने कुरा गर्छ र गोब्रेकिरा बनेर लुकेर बसे । शनीले आफुलाई सजाय गर्ने भनेको समय वित्नासाथ गोबरको गुइठाबाट निस्कँदै गरका महादेवलाई नजिकै उभिएका शनीले भने, हजुर जस्तो देवका पनि देव महादेवले यतिलामो समय गोब्रेकिरा बनेर बस्नु भन्दा ठूलो सजाय अरु के हुन सक्छ ?