प्रधानमन्त्री ओलीको अभिव्यक्ति सुन्दा लाग्छ, नेपालको शत्रु भनेका यहाँको गरिबी, अशिक्षा, अन्धविश्वास, अज्ञानता होइन बरु उनका आलोचक हुन् । जसलाई उनी कार्यकर्ता रुपि अरिंगालबाट टोकाएर हटाउन वा आफ्नै बलमा थला पार्न चाहन्छन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्ना आलोचकहरु प्रति निकै कठोर छन्, चाहे ति अरु हुन् वा आफ्नै दलका नेता कार्यकर्ता । गत भदौमा आलोचकहरु विरुद्ध अरिंगाल बनेर खनिन कार्यकर्तालाई आदेश दिएका थिए । विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फेडरेसनले नेपालमा आयोजना गरेको एशिया प्यासिफिक समिट र त्यसमा प्रधानमन्त्रीको सहभागिता साथै उनलाई प्रदान गरिएको सुशासन अवार्डको विषयमा आलोचना गर्ने आफ्नै दलका नेताहरु विरुद्ध ओली टीभी कार्यक्रममा नै खनिए । उनले आफ्नो आलोचना गर्ने नेताहरु घनश्याम भुसाल, नारायणकाजी श्रेष्ठ तथा भीम रावललाई थला पर्नुपर्ला भनेर थर्काउन समेत भ्याए । सरकार सह आयोजक बनेर समिट आयोजना गर्न लागेको थाहा पाएर अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सम्झाएको बताउने नेकपा नेता श्रेष्ठले युनिफिकेसन चर्चका संस्थापक अत्यन्त विवादास्पद व्यक्ति रहेको र उसको कार्यक्रम नेपालमा आयोजना गर्न दिइनु आश्चर्य जनक भएको बताएका थिए ।
अर्का नेता भीम रावलले ट्वीटमार्फत उक्त कार्यको आलोचना गरे । रावलले लेखेका छन्ः– “कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु प¥यो । शान्तिको नाममा सम्मेलन गर्नेहरुले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।” सरकार कुनै निजी संस्थाको निहित स्वार्थ अनुसार चलेको र यो कार्य राम्रो नभएको बताउने रावल निर्मलाका बलात्कारी हत्याराको खोजी र कारवाहीको माग गर्नेहरुलाई सरकार असफल बनाउन लागि परेका नेकपाका दुश्मन देख्ने व्यक्ति पनि हुन् । यसै सन्दर्भमा नेकपाकै अर्का नेता घनश्याम भुसालको प्रतिक्रिया अलि खरो छ । उनी भन्छन्ः–विगत केही दिनमा नेताहरुको सांस्कृतिक अर्धपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ । धर्मलाई अफिम भन्ने पार्टीका नेताहरुको धर्म प्रचार मुख्य उद्देश्य रहेको कार्यक्रममा सहभागिता (अझ प्रधानमन्त्री ओलीले त सरकारी निवास वालुवाटार नै छोडेर तीन दिनसम्म कार्यक्रम स्थल सोल्टी होटलमै डेरा जमाएका थिए ।) माथिको व्यङ्ग्य थियो शायद भुसालको ।
प्रधानमन्त्री ओलीको अरिंगाल बनेर खनिने र थला पार्ने अभिव्यक्ति सुन्दा लाग्छ, नेपालको शत्रु भनेका यहाँको गरिबी, अशिक्षा, अन्धविश्वास , अज्ञानता होइन बरु उनका आलोचक हुन् । जसलाई उनी कार्यकर्ता रुपि अरिंगालबाट टोकाएर हटाउन वा आफ्नै बलमा थला पार्न चाहन्छन् । अझ बघिनी बनेर आलोचकहरुको रगत पिउन चाहन्छन्, आलोचकहरुको समूल नाश गर्न चाहन्छन् ।
शनिबारबाट काठमाण्डौंमा सुरु भएको नेकपाको सचिवालय वैठकमा जब स्थायी समिति सदस्य बामदेव गौतमले सरकारको कार्यशैलीको आलोचना गरे र एक व्यक्ति एक पदको कुरा गरे तब ओली बामदेब विरुद्ध पनि खनिए । आफुलाई बघिनीको संज्ञा दिंदै ओलीले भने म कुनै पनि पद छाड्न तयार छैन बरु आफु सरकार र पार्टी विरुद्धबोल्ने माथि बघिनी बनेर झम्टन तयार छु । आफुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउन ज्यू–ज्यानले लागि परेका बामदेव विरुद्ध आगो ओकल्ने ओलीबाट अरुको सन्दर्भमा सहिष्णुताको अपेक्षा गर्नु मुर्खता हुनेछ । दम्भवस हो वा अज्ञानतावश प्रधानमन्त्री ओली आफ्ना आलोचकहरु प्रति अत्यन्त असहिष्णु छन् । तर आलोचक सबै शत्रु हुदैनन् र प्रशंसक सबै शुभ चिन्तक हुँदैनन् भन्ने नबुझे सम्म असल शासक बन्न नसकिने सत्यलाई ओलीले जति चाँडो आत्मसाथ गर्ने छन् ओली र उनको दल नेकपालाई त्यतिनै फाइदा पुग्ने छ ।
यस सन्दर्भमा एउटा नीतिकथा प्रस्तुत गर्नु उपयुक्त हुन्छ । नीतिकथामा एउटा भर्खर प्वाँख पलाएको चराको बच्चा छ, जुन राम्रोसंग उड्न जान्दैन । उसलाई बाबु आमाले उड्ने अभ्यास त गराएका छन् तर त्यो पर्याप्त थिएन,उड्दै कता जान हुन्छ र कता हुदैन भन्ने ज्ञान पनि उसमा थिएन । उसलाई पनि बाबु आमा जस्तै स्वतन्त्र भएर उड्न मन लाग्यो र एक दिन सुटुक्क उड्न निस्क्यो । उड्दै जाँदा उ निकै उचाइमा पुग्यो । उचाइमा चिसो थियो । उसका पंखेटा चिसोका कारण भारी हुन थाले । अन्ततः उ हिउँको थुप्रो माथि खस्यो । फुस्फुसाएको हिउँले उ पुरिँदै गयो । उसले कोही बचाउन आइहाल्छ की भनेर आशाको नजरले चारैतिर हे¥यो । पर बाट एउटा गाई आइरहेको थियो । गाई उ भए ठाउँ आयो र उ माथि पर्ने गरी गोब्राएर गयो । सहायता गर्ला भनेको त मेरो शरिरमाथि फोहर फालेर पो गयो भनेर गाईसंग उ खुब रिसायो र प्रण ग¥यो उ कहिल्यै गाईसंग बोल्ने छैन । गाईको गोवरको तातोका कारण उसको शरिरलाई ढाकेको हिउँ पग्लँदै गयो । यस्तैमा कतैबाट एउटा बिरालो उ भए ठाउँ आईपुग्यो र उसको शरिरमा लागेका गोबर हटाउन थाल्यो । उसलाई लाग्यो यो बिरालो त मेरो भगवान नै रहेछ । यो मेरो सहयोगका लागि नआएको भए मेरो शरिर गोबरले भरिएर दुर्गन्धित हुने थियो । उसले यति के सोचेको थियो, बिरालो उसलाई खान जाइलाग्यो । जीवनको अन्तिम क्षणमा पलभरका लागि भएपनि उसले गाईले आफ्नो शरिरमा पर्ने गरी गोब्राउनुको कारण बुझ्यो र बिरालोले शरिरको गोवर फाल्नुको कारण पनि बुझ्यो र भन्यो– मेरो वास्तविक जीवन दाता त गाई पो रहेछ ।
नीतिकथाको चराको बच्चाको अवस्थामा छन् प्रधानमन्त्री ओली । भ्रष्टाचार, अनियमितता, हत्या, बलात्कार, बेथिती आदिको दलदलमा फस्दैछन् उनी तर उनलाई यी सबैबाट उम्काउन खोज्ने गाईहरु ओलीका नजरमा शत्रु हुन र उनी ति आलोचकरुपी गाईहरुलाई बघिनी बनेर झम्टने तयारीमा छन् । अनि बघिनीको सजातिय लाग्ने बिरालोहरु उनका अघिपछि बसेर साख्य बन्दैछन् । नाङ्गो बादशाहको कथा पढेका भए ओलीले अब त थाहा पाउनु पर्ने हो । कतै सजातिय बिरालाहरु उनलाई नाङ्गो बनाउने दाउमा त छैनन् कतै ? पत्रकार रवि लामिछानेले भने झै देशले प्रधानमन्त्री त अरु अवश्य पाउँछ तर ओलीले फेरी मौका पाउने छैनन् । बेलैमा चेतना आओस् ।