दमौली/आज विश्वभर तथा नेपालमा शिक्षा तथा साक्षरता दिवस मनाईँदैछ ।
सन् १९६५ मा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले हरेक वर्ष सप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेसंगै सन् १९६६ बाट विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो । सन् १९६५ मा इरानको तहरानमा आयोजित “निरक्षरता उन्मूलनमा शिक्षा मन्त्रीहरूको विश्व सम्मेलन” ले विश्वव समुदायलाई साक्षर बनाउने चुनौति स्वीकार गर्दै हरेक वर्ष यो दिवस मनाउने घोषणा गरेको थियो ।
यो वर्ष विश्वभर “Transforming Literacy Learning Spaces” अर्थात साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने नाराका साथ ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईँदै छ । यो अवसरमा नेपालमा रहेका विभिन्न संघ संस्था, विद्यालय, सामुदायिक सिकाई केन्द्रहरु तथा विद्यार्थी संगठन र राजनैतिक दलहरुले रचनात्मक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेर मनाउने भएका छन् ।
साक्षरताको ग्लोबल मनिटर रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एक जना पुरुष र दुई तिहाइ महिलाहरू अझै पनि अ साक्षर छन् र धेरैको अत्यन्त न्यून स्तरको साक्षरता सीपहरू छन् । धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् र पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन्, पश्चिमी र दक्षिणी एसिया लगायतका देशहरू साक्षरता दरमा अझै कमजोर देखिन्छन् ।
साक्षरता दिवस मनाउन थालेका पाँच दशकभन्दा बढी भइसक्दा पनि विश्व साक्षरताको यस्ता अवस्था हुन पक्कै पनि सुखद कुरा होइन् ।
नेपालको सन्दर्भमा साक्षरता अभियान झन चुनौतिपूर्ण रहेको छ । साक्षरता अभियानका चुनौतिको सामना गर्दै नेपालले पछिल्ला दशकमा राम्रै प्रगति गरेको भएपनि यो पर्याप्त र सन्तोष गर्ने खालको छैन । यस्तोमा मनाउनका लागि मनाउनेभन्दा पनि साक्षरता अभियानालाई सहयोग पुग्ने खालका कार्यक्रमहरु गरेर मनाउन सक्दा यो दिवसको सार्थकता रहनेछ ।
त्यसैले स्थानीय पुस्तकालयहरुलाई पुस्तक दान गरेर, पढ्न चाख राख्ने बच्चादेखि अन्य जो कोहीलाई किताब उपहार दिएर तथा समुदायमा पुस्तकालय स्थापनाको अभियान सुरु गरेर यो वर्षको विश्व साक्षरता दिवस मनाउने सकिन्छ ।
आज विश्व शिक्षा तथा साक्षरता दिवस
previous post