हिन्दु सभ्यताका अुनयायीहरुको एउटा महत्वपूर्ण चाड, जनै पूर्णिमा अर्थात रक्षाबन्धन आज परेको छ । प्रमुख तीन देवता ब्रम्हा, विष्णु र महेश्वर तथा तीन योग कर्म, उपासना र ज्ञान योगको प्रतिकको रुपमा आजै जनै फेर्ने चलन रहिआएको छ । सनातन दर्शनमा मानिसको जीवनलाई १६ वटा संस्कारले बाँधेको हुन्छ र त्यस मध्ये एक उपनयन संस्कार हो, जसको प्रचलित नाम ब्रतबन्ध रहेको छ । ब्राम्हण, क्षेत्री लगाएत तागाधारी भनिने समुदायका र उपनयन कर्म सम्पन्न गरेका पुरुषहरुले आजको दिन गुरु पूरोहितले विभिन्न मन्त्रद्वारा अभिमन्त्रित जनै फेर्ने गर्दछन् ।
आजकै दिन रक्षाबन्धन बाँध्ने चलन पनि रहिआएको छ । रक्षा र बन्धन दुई शब्द मिलेर बनको रक्षाबन्धन शब्दको अर्थ, सुरक्षाको गाँठो हो । जनै धारण गर्नेहरुले आज भाञ्जाहरु, ज्वाईँ वा गुरु पुरोहितको हातबाट रक्षाबन्धन बाँध्ने गर्दछन् । जुन काँचो धागोले दानवहरुको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ भन्ने अर्थ बोकेको संस्कृतको “येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।” श्लोक पाठ गर्दै हातमा रक्षा बन्धन बाँध्ने गरिन्छ । हिन्दु सभ्यताका अनुयायीहरु हातमा बाँधिएको रक्षाबन्धन निकालेर गाई तिहारका दिन सोही धागोमा माला उनेर गाईलाई लगाइदिने गर्दछन् । हिन्दुहरु यसबाट आफुलाई पुण्य प्राप्त हुने विश्वास गर्दछन् ।
आजकै दिन दिदीवहिनीहरुले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लगाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्रबाट विस्तारै पहाड र हिमालसम्म फैलिएको यो चलन दाजुभाइ–दिदीबहिनीको अनन्त प्रेमको प्रतीकका रुपमा नेपाली समुदायको अभिन्न संस्कृति बन्ने मार्गमा छ ।
र आजै, दुई दिन अघिदेखि पानीमा भिजाई राखिएका मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो जस्ता नौ प्रकारका गेडागुडीलाई पकाएर बनाएको झोलीलो परिकार क्वाँटी खाने दिन पनि हो ।
क्वाँटीले हाम्रो शरीरलाई आवश्यक प्रोटिन प्रदान गरेर स्वस्थ बनाओस् । र माथी उल्लेख गरिएका पर्वहरुले दाजुभाइ–दिदीबहिनीबीच अनि सम्पूर्ण नेपालीमा परस्पर सद्भाव र प्रेमको पुष्प छरुन्, यही कामना ।