पृष्ठभूमिः
आजको पुस्तालाई अष्टलोहको बारेमा खासै कसैलाई थाहा होला ? तर अड्डा अदालतका व्यवहारमा प्रयोगमा ल्याइएको छ । अदालतबाट अघिल्ला फैसलाहरुमा पनि यस्ता शब्दको प्रयोग भएको पाईन्छ । तर मालपोत कार्यालयदेखि भूमि व्यवस्थापन तथा अभिलेख विभागसम्मका नेतृत्वसम्म पुगेर खोज गर्दा पनि चित्त बुझ्दो समाधान पाउन सकिएन । उच्च अदालतका पूर्व न्यायाधीशबाट केही ऐतिहासिक दस्तावेजहरु पाउन सकियो । तर पनि हाम्रो राज्य प्रशासनले प्रयोगमा ल्याएको वैधानिकताको बारेमा स्पष्ट हुन सकिएन । यो तथ्य उजागर गरिदिंदा त्यो यथार्थ पहिल्याउन सहज होला, जानकारहरुले विचार प्रतिक्रिया दिनुहोला भनेर पनि यो विषयवस्तुलाई आजको सन्दर्भको छनौट हुन पुगेको हो ।
परिभाषाः
‘अष्टलोह’ शब्दको प्रयोग गर्ने राज्यव्यवस्थाले पनि अष्टलोहको परिभाषा गरेको कहिकतै भेट्न सकिएन । धेरै सम्बद्ध सरोकारवालाहरुसंग सम्पर्क गर्दा पनि समाधान हुन सकेन । उच्च अदालतबाट निबृत्त न्यायाधीश एक जना न्यायाधशिसंग सम्पर्क गर्दा अष्टलोहको ऐतिहासिक पृष्ठभूमिका बारेमा केहि सन्दर्भ प्राप्त भयो । सर्वोच्च अदालतका व्याख्याहरु अध्ययन गर्दा पनि केही ज्ञान त भयो । ठोस परिभाषा भने पाउन सकिएन । भूमि व्यवस्थापन तथा अभिलेख विभागले आफ्नो वेवसाईडमा राखेको विभिन्न लिखतहरु मध्येमा अनुसूची १७ मा राखिएको शेषपछिको बकस–पत्र (अष्टलोह÷सम्पत्ति विवरण नखुलेको) भनेर राखिएको छ । २०५८ सालमा सर्वोच्च अदालतका न्यायाधीश टोपबहादुर सिंह, गोपालप्रसाद खत्री, केदार प्रसाद गिरी समेतको पूर्ण इजलाशबाट भएको व्याख्यामा पनि परिभाषा नगरी मेरो हेरविचार टल चाकरी पालनपोषण गरेको हुनाले मेरो भागमा आउने चल अचल श्रीसम्पत्ति अष्टलोह गैह्र शेषपछि खानु भनि गरिदिएको कागज भनिएबाट अष्टलोह भन्नाले सम्पत्ति विवरण उल्लेख नगरी दाताको भाग हिस्सामा आउने सम्पत्ति शेषपछि खान पाउने गरी दिएको लिखत भनेर बुझ्न पर्ने हुन्छ ।
बेखबर राज्यसंयन्त्रः
कानुन बनाएर लागू गरेको छ । अनुसूची बनाएको छ । सम्बद्ध कानुनको दफा अनुसूचिमा उल्लेख गरेको छ । तर अनुसूची को व्यवस्था गर्ने भू–सूचना प्रणाली सञ्चालन निर्देशिका २०७१ ले ऐनको परिभाषा गरेको छैन । अर्थात कुन ऐन अन्तर्गतको अनुसुचि हो उल्लेख गरेको छ । अष्टलोहको लिखत पास गर्न सकिने गरी फारम व्यवस्था गर्ने भूसूचना प्रणाली सञ्चालन निर्देशिका २०७१ को अनुसूची १७ मा सो अनुसूचि ऐनको दफा ३० को उपदफा ८ संग सम्बन्धित भनिएको छ । निर्देशिकाको परिभाषा खण्डको दफा २ को क देखि द सम्म अध्ययन गर्दा ऐनको परिभाषा गरेको भेट्टाउन सकिएन । भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक रोशन शंकर घिमिरे परिभाषा खण्डमा ऐन उल्लेख भएको हुनुपर्दछ भन्नु हुन्छ । तर यथार्थ सोही निर्देशिकाको दफा ३० मा फर्महरुको बारेमा उल्लेख भएको रहेछ । अष्टलोहको बारेमा सो निर्देशिकाको दफामा पनि कुनै स्पष्ट व्यवस्था गरेको वा बोलेको अवस्था छैन ।
कानुनी शब्दकोषः
प्रथम संस्करण २०५६ को शंकर कुमार श्रेष्ठद्वारा लिखित कानुनी शब्दकोषमा पनि अष्टलोहको बारेमा उल्लेख भएको पाईएन । गुगल सर्चबाट पनि अष्टलोह शब्दको बारेमा कुनै विवरण फेला पार्न सकिएन । अन्य कुनै शब्दकोषमा पनि पार्न सकिएन ।
पूर्व न्यायाधीशको साहाराः
खोज्दा पढ्दा केही पत्ता लगाउन नसकेपछि न्यायक्षेत्रमा आफ्नो विशेष पहिचान बनाएर उच्च अदालतको न्यायाधीश पदबाट सेवा निबृत्त भएका एकजना न्यायाधीशको सहयोग लिँदा संस्कृत साहित्यको पुराणबाट अष्टलोह शब्दको विकास भएको पाईन्छ । पुरानिक इन्साईक्लोपेडियाको आधारमा यो अष्टलोह संस्कृत साहित्यबाट विकास भएको बुझ्न सकिनछ । सोझो अर्थमा अष्टलोह भनेको आठ धातु भन्ने अर्थ लाग्दछ । आफ्नो अंश हकलाई शेषपछि हस्तान्तरण गर्न इच्छालाई अष्टलोहको नामाकरण कसरी गरिएको हो त्यसको सारतत्व पहिल्याउने अध्ययन अझै बाँकी नै छ ।
निष्कर्षः
नेपाली मौलिक शब्दवालीहरुलाई लोप गराउन हाम्रो राज्यसंयन्त्र नै लागेको छ । व्यवहारिक प्रचलनमा रहेका नेपाली मौलिकताका यस्ता शब्दावलीहरु राज्यसंयन्त्रले नै विस्थापन गराउँदैछ । त्यसैको ज्वलन्त उदाहरण मान्न सकिन्छ कि नेपाली मौलिकता बोेकेको मुलुकी ऐनमा प्रयोग भएका शब्दावलीहरुको विस्थापन र लोप गराउन संहिता ल्याएर अदालत, कानुन व्यवसायी र कर्मचारीलाई अलमल, द्वविधा, अन्योलको अवस्थामा यो राज्यव्यवस्थाले पुर्याएको छ भन्नु पर्दा हर स्वाभिमानी नेपालीलाई आत्मग्लानी भएको छ ।
अष्टलोहको अष्पष्ट बैधानिक प्रयोग
previous post