नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखाका संस्थापक सभापति तथा वर्तमान सभापति इन्द्रबहादुर आले समाज सेवामा परिचित नाम हो । कानुन व्यवसायी समेत रहेका आले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा तनहुँको स्वास्थ्य समितिका सदस्य पनि हुन् । ऋषिङमा रेडक्रस अभियानलाई तिब्र बनाउन लागि परेका आले अन्य संस्थामा जस्तै रेडक्रसमा पनि विकृतिको बाछिटा देख्न थालिएको चर्चा चलेको स्वीकार्छन् । सभापति आलेसंग हाम्रा सहसम्पादक रमेश विकलले गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ।
लामो समय देखि रेडक्रस अभियानमा सक्रिय हुनुहुन्छ, समाजसेवाको यो अभियानमा कसरी जोडिनु भयो ?
आलेः रेडक्रस सम्बन्धि केही जानकारी विद्यालयमा पढ्दाको समयमा नै पाएको थिएँ । मैले त्यतिबेला थाहा पाएको के थियो भने यो एक अन्तर्राष्ट्रिय मानविय संस्था हो । यसका अतिरिक्त युद्धको समयमा र युद्धग्रस्त क्षेत्रमा घाइतेहरुको उद्धार लगाएतका कार्यहरुमा विना अवरोध सहभागी हुन पाउने संस्थाको रुपमा मैले यसलाई चिनेको थिएँ । अझ यसले विपत्तिमा परेका मानिसको निष्पक्षता पूर्वक सेवा गर्छ भन्ने थाहा पाइसकेपछि र आफु भित्र केही समाजसेवी भावना समेत भएकाले म यो अभियानका प्रति आकर्षित भएको हुँ अथवा यो अभियानमा जोडिएको हुँ ।
यहाँको नेतृत्वमा रेडक्रसको कोटदरबार उपशाखा स्थापना भयो । उपशाखा स्थापना गर्दाका दुःख–सुख, आरोह–अवरोहहरुलाई एक पटक फर्केर हेरौं न ।
आलेः ऋषिङमा एउटा रेडक्रस उपशाखा पहिले देखि नै थियो । तर उपशाखा त्यत्ति सक्रिय थिएन अथवा भनौं उसले सक्रियता पूर्वक आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको थिएन् । त्यसैले २०७२ मा केही साथीहरुबीच कोटदरबारमा छुट्टै उपशाखा स्थापना गर्ने विषयमा कुराकानी भयो । सोही साल साउन १ बाट कोटदरबारमा रेडक्रस उपशाखा स्थापना गर्ने अभियानमा हामी लाग्यौं । यसरी कोटदरबार उपशाखा स्थापनाको प्रक्रिया अगाडि बढेको हो ।
छोटो समयमा यहाँको नेतृत्वमा ऋषिङ र आसपासका मानिसहरु रेडक्रस अभियानमा जाडिनु
भयो । सेवालाई आफ्नो आदर्श बनाएको संस्थामा आम मानिसलाई जोडन कसरी सम्भव भयो ?
आलेः ऋषिङ पिछडिएको क्षेत्र भन्ने आम बुझाई भएको । यो क्षेत्रमा पुगेर विभिन्न स्वास्थ्य समस्या हुँदा र प्राकृतिक विपत्तिका बेलामा पनि रेडक्रसले सहयोग गरिरहेको थियो । यसका साथै खानेपानी, स्वास्थ्य र सरसफाइ लगाएतमा पनि रेडक्रसले ऋषिङ क्षेत्रमा सहयोग गरेको देखेपछि आम ऋषिङका बासिन्दामा रेडक्रस राम्रो संस्था रहेछ । राजनीति नहुने रहेछ । समाज सेवा र मानविय सेवा गर्छु भन्नेहरुलाई सम्मानित स्थान हुने रहेछ भन्ने कुरा बुझेपछि उहाँहरु सहमत हुनु भयो र हामीले नयाँ उपशाखा स्थापना गरेर रेडक्रस अभियानलाई अगाडि बढाउनु पर्छ भनेर अभियान सुरु गरियो । तर हामीलाई उपशाखाको मान्यता प्राप्त गर्ने सन्दर्भमा समस्या भने रह्यो ।
यहाँले राजनीति कम हुने, मानविय सेवा गर्ने संस्थाको रुपमा रेडक्रस रहेको बताउनु भयो । आम बुझाई पनि त्यही हो । तर के रेडक्रसका विभन्न निकायका गतिविधि साच्चिकै समाजसेवी र मानव सेवी संस्थाका जस्ता पाउनु भएको छ ?
आलेः पछिल्लो समयमा यहाँले भन्नु भएजस्तो केही विकृति देखिएका छन् । तथापि जति पनि मानिसहरु रेडक्रसको आदर्शलाई बुझेर यो अभियानमा जोडिनु भएको छ । जसका लागि समाज र मानविय सेवा नै आफ्नो स्वार्थ भन्ने लागेको छ उहाँहरु बाट रेडक्रसको आदर्श प्रतिकूल व्यवहार भएका छैनन् । तर संस्थामा विभिन्न विचार बोकेका मानिसहरु संलग्न हुने र केही मानिसहरुले संस्थाको आदर्शलाई भुलेर अवांछित क्रियाकलाप गरेको जहाँतहीँ देखिन्छ । र त्यसका बाछिटा रेडक्रसमा पनि देखिएको भन्ने चर्चा बेलाबेला हुने गरेको छ ।
यहाँले कोटदरबार उपशाखालाई मान्यता प्राप्त गर्ने सन्र्भमा समस्या भएको सन्दर्भ उल्लेख
गर्नुभयो । कस्तो समस्या रह्यो ?
आलेः रेडक्रस उपशाखा गठन गर्ने उत्साह हामीमा निकै थियो । त्यसैले आजिवन सदस्यता वितरणमा कुनै समस्या रहेन । सबैले उत्साह पूर्वक सदस्यता लिनु भयो । २०७२ साउन १ बाट सदस्यताका लागि कार्य सुरु भयो । कार्तिक लाग्दा नलाग्दै ८० जनाभन्दा बढी आजिवन सदस्यको रुपमा यो अभियानमा जोडिन आउनु भयो र लगतै सदस्यता शुल्क सहित जिल्ला शाखामा उपशाखाको मान्यताका लागि निवेदन पठायौं । सोही माघ १६ मा मेरो नेतृत्वमा तदर्थ समिति समेत बन्यो । तर हामीले उपशाखाको मान्यता पाउन एक वर्षभन्दा बढी समय लाग्यो । सम्पूर्ण प्रक्रिया पूरा गरेका कारण हामीले छिट्टै मान्यता पाउनु पर्छ भन्ने हामी ठान्थ्यौं । यस बीचमा हामीेले आफ्ना मानविय गतिविधि भने गरिरह्यौं र हाल ऋषिङ ७ का अग्नी पिडितलाई सहयोग ग¥यौं । आन्तरिक के समस्या थिए थाहा भएन तर २०७३ सालको सुरु वैशाखमै मान्यता पाउने आशा राखेका हामीले ९ महिना पछि मात्र सोही पुषमा मान्यता पायौं ।
यहाँको उपशाखाले एम्बुलेन्स पनि सञ्चालन गर्दै आएको छ । जिल्ला शाखाहरुले समेत एम्बुलेन्स सञ्चालन गर्न नसकेको हामीले देखेकाछौं । एम्बुलेन्स सञ्चालन साँच्चै कठिन काम नै रहेछ ?
आलेः कोटदरबार उपशाखा स्थापनाको प्रमुख उद्देश्य ऋषिङमा पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने थियो । यसका लागि हामीले २०७४ असोज १५ गतेबाट औपचारिक रुपमा ऋषिङमा एम्बुलेन्स सेवा सञ्चालन अभियान भनेर सुरुवात ग¥यौं । अभियानको उद्देश्य एक वर्ष भित्र ३० लाख रुपैयाँ संकलन गरी अर्काे ६ महिनामा ऋषिङ, घिरिङ र देवघाट गाउँ पालिकामा वसोवास गर्ने झण्डै ५० हजार नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्न सुरु गर्ने रहेको थियो । सौभाग्यवश एम्बुलेन्स अभियान प्रारम्भ भएको एक वर्ष नहुँदै आवश्यक रकम जम्मा गरेर एम्बुलेन्स सेवा प्रारम्भ गर्न हामी सफल भयौं । व्यक्ति, समाजिक संघसंस्स्था तथा सरकारी निकायहरुबाट समेत हामीलाई स्वतस्फूर्त रुपमा सहयोग प्राप्त भयो र लक्ष्यभन्दा अगावै २०७५ भाद्र १९ गते नेपाल रेडक्रस दिवसको अवसर पारेर हामीले एम्बुलेन्स सेवा प्रारम्भ ग¥यौं । सबैको साथ, सहयोग र उत्प्रेरणाले १८ महिना सम्पन्न गर्ने भनेको काम ११ महिनामा नै सम्पन्न भयो ।
एम्बुलेन्स सेवा सञ्चालन कति कठिन रहेछ ?
आलेः हामिले एम्बुलेन्स सेवा सञ्चालन सुरु गरेको ४ वर्ष पुग्न लागेको छ । पहिलो देखि एम्बुलेन्स सेवा सञ्चालन गरिरहनु भएकाहरुले सुनाउनु भएको अनुभव हामीले पनि गरिरहेका छौं । केही कठिनाईहरु छन् । तर हामीले यो ४ वर्षको अवधिमा भाडा वृद्धि गरेका छैनौं । कोभिड प्रभावित लगायत लक्षित वर्गलाई निशुल्क, अपाङ्गता भएकाहरुलाई १५ प्रतिशत र सुत्केरी तथा जेष्ठ नागरिकलाई १० प्रतिशत छुट् दिने व्यवस्था गरेका छौं । हामीले एम्बुलेन्स अभियान सुरु गर्दा ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएका थियौं तर २८ लाखभन्दा बढी संकलन भएको थियो । त्यही रकमबाट अहिले एम्बुलेन्स चलिरहेको छ । त्यतिबेला संकलन भएको १६ लाखभन्दा बढी हामीसंग बैंक मौज्दात रहेको छ भने विमा, मर्मत, चालक खर्च, सटर भाडा लगाएत अहिलेसम्म एम्बुलेन्स सञ्चालनबाट आएको रकमबाट भइरहेको छ ।
उपशाखा भवन निर्माण कार्य कहाँ पुगेको छ ?
आलेः ऋषिङ गाउँ पालिकाले वडा नं ७ मा जग्गा उपलब्ध गराएसंगै हामीले भवन निर्माण प्रारम्भ गरेका छौं । यसका लागि गाउँ पालिकाले अघिल्ला दुइ अर्थिक वर्षमा क्रमषः ५ लाख र ९ लाख अनुदान उपलब्ध गराएको थियो भने यो आर्थिक वर्षमा १२ लाख प्रदान गर्ने भएको छ । पालिका र अन्य सबैको सहयोगमा तीन तले भवन निर्माण गर्ने योजनामा छौं । अहिले पहिलो तल्ला ढलान सम्पन्न भएको छ । यसै आर्थिक वर्षमा सोही भवनमा कार्यालय सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको छ ।
तनहुँमा ब्लड बैंक स्थापनाका लागि यहाँले कार्यपत्र तयार गर्नुभएको सुन्नमा आएको थियो । यसको काम कति अघिबढेको छ ?
आलेः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँको स्वास्थ्य समितिको सदस्य भएपछि ब्लड बंैकको स्थायीत्वका लागि कार्यपत्र निर्माण गर्ने छलफल चलेको थियो । पृथ्वी राजमार्गको ७२ किमी तनहुँमा पर्ने साथै अहिलेको राज्य संरचना अनुसार तनहुँ जताबाट गनेपनि ३७ औं स्थानमा पर्ने अर्थात मध्यभागमा पर्ने भएकोले राजमार्गमा दुर्घटनामा परी घाईते हुनेहरु, सुत्केरी महिला, डायलायसिस गर्ने विरामी लगाएत रगतको आवश्यकता पर्ने व्यक्तिहरुलाई रगत प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले ब्लड बैंक स्थापना गर्ने र सोका लागि अवधारणा पत्र तयार गर्ने कुरा भएको हो । तर यो अभियान अहिले अगाडि बढ्न सकेको अवस्था छैन ।
रेडक्रस अभियानमा जोडिनु भएका र जोडिन चाहनु हुनेहरुलाई याहाँ के भन्न चाहनु हुन्छ ?
आलेः उपशाखा स्थापना देखि अहिलेसम्मका गतिविधी सञ्चालन गर्न सघाउनु हुने सम्पूर्ण कार्यसमितिका साथीहरु, सल्लाहकारहरु, जनप्रतिनिधिहरु र खासगरी चन्दादाताहरु प्रति व्यक्तिगत र शाखाको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु । उहाँहरुको सामूहिक प्रयत्न नभएको भए यो सम्भव हुने थिएन । अहिलेसम्म हामीले जेजति गर्न सकेका छौं, यो सबै उहाँहरुको साथ, सहयोग र उर्जाका कारण सम्भव भएको हो ।