२०७६ सालको एसइइ परीक्षाको परीक्षाफल भरखरै प्रकाशित भएको छ । परीक्षाको सम्पूर्ण तयारी पश्चात परीक्षाको ठीक अघिल्लो दिन कोरोना भाईरसको भय बढेको कारणले परीक्षा स्थगित भएको कुरा सर्वविदितै छ । तत्पश्चात विद्यालयले आन्तरिक मुल्याङ्कनको आधारमा पठाउको अंकलाई नै केन्द्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेर नतिजा प्रकाशन गरेको हो । एसइइ परीक्षाको नतिजा प्रकाशनसंगै विभिन्न खालका टिकाटिप्पणीहरुले सामाजिक सञ्जालहरु भरिन थालेका छन् । तुलनात्मक रुपमा परीक्षा फललाई सकारात्मक भन्दा पनि नकारात्मक दृष्टिकोणबाट विश्लेषण गरिएका अभिव्यक्तिहरु आउन थालेका छन् । एसइइ उर्तिण भएका विद्यार्थीहरुको मानसिकतामा आघात पु¥याउने, उनिहरुको मनोवल गिराउने आषयका अभिव्यक्तिहरु पनि सामाजिक सञ्जालमा देखिएका छन् । यस्तो लाग्छ परीक्षा नलिईकनै पास भएर विद्यार्थीहरुले पाप गरेका छन् । कानुनी अपराध गरेका छन् । मानौं विद्यार्थीहरुकै कारणले परीक्षा स्थगित भएको हो । कठिन परिश्रम र मेहनत पछि आफ्नो क्षमता देखाउन नपाएर निराश भएका लाखौं विद्यार्थीहरु पनि यो भिडमा छन् । तर उनिहरुप्रति कसैको साहानुभूति छैन । सबैलाई एउटै ठाउँमा हेयको दृष्टिले अपमान गर्ने काम भैरहेको छ । जुन सरासर गलत हो । सबैभन्दा ठूलो आरोप यतिखेर शिक्षक बर्गलाई लागेको छ । शिक्षकहरुले मनपर्दी तरिकाले अंक पठाई दिएकोले अप्रत्यासित नतिजा आएको धारणा छ । अधिकाँश कथित विश्लेषकहरुको कतिपय स्वयम शिक्षकहरुबाट र शिक्षा मन्त्रालय अन्तर्गतको आधिकारिक निकायहरुबाट पनि यस्तै किसिमको अभिव्यक्ति आएको छ । यतिकुरा सत्य हो कि विगतको बर्षहरुको तुलनामा नतिजा अपत्यारिलो नै छ । तर के यस्तो निष्कर्ष शिक्षकहरुले मनपरि ढंगले अंक दिएको कारणले यस्तो भएको भन्ने नै हो त ? यसले त विगतको बर्षहरुमा हामीले परीक्षा लिने गरेको परीक्षा पद्धति गलत रहेछ भन्ने पनि त देखाउँछ । यसरी पनि विश्लेषण गर्न सकिदैन र ? आखिर शिक्काको त दुई पाटा नै हुन्छन् । एउटा मात्र पाटो त पक्कै हुँदैन ।
एसइइको नतिजालाई लिएर गरिएका विश्लेषणहरु (नाकारात्मक) प्रति पंक्तिकार पूर्ण रुपमा असहमत छ भन्ने पनि होइन । त्यसमा पनि आंशिक सत्यता होला । किनभने आफैले अंक दिने भएपछि कुनै शिक्षकले सयमा पचाससम्म ल्याउने क्षमताकोलाई ५५ दियो होला । ७०÷७५ ल्याउन सक्छ भन्नेलाई ८० दियो होला । यसो भन्दैमा यो सबै शिक्षकले मनपरि ढंगबाट अंक दिएकोले भएको हो भनेर एकोहोरो विश्लेषण गरिनु न्यायसंगत होला र ? विगतको बर्षहरुमा भन्दा यस पटक राम्रो नतिजा आउनुमा शिक्षकको उदारताको पनि कहिँ न कहि हात होला । तर विगतमा राम्रो नतिजा आउन नसक्नुमा हाम्रो शैक्षिक पद्धति र परीक्षा प्रणालीको पनि कमिकमजोरी त थिएन ? यसरी पनि सोंच्नु आवश्यक छ ।
हाम्रो देशको परीक्षा प्रणालीको बारेमा केही अनुभवहरु साट्न चाहन्छु । केही बर्ष पहिला पंक्तिकारले पनि एसइइ परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने सम्बन्धी काममा सहभागि हुन पाएको थियो । त्यसलाई उत्तरपुस्तिका काडिङ्ग डिकोडिङ्ग गर्ने भनिदो रहेछ । जस अन्तर्गत उत्तरपुस्तिका परीक्षकलाई दिनु भन्दा पहिले उत्तरपुस्तिकामा गोप्य कोड राख्ने, परीक्षक र सम्परिक्षकले अंक दिई सकेपछि अंक जोडेको मिले नमिलेको हेरी पुनः विद्यार्थीको जानकारी भएको अर्ध पृष्ठलाई टाँसी केन्द्रमा पठाउन सुरक्षित प्याकिङ्ग गर्ने कामहरु पर्दो रहेछ । करिब करिब डेढ महिना त्यसरी काम गर्दा हरेक परिक्षकलाई राम्रोसंग परीक्षण गर्ने भन्दा पनि धेरै कपि भएको पोको आफ्नो भागमा पार्ने दाउ भएको महसुस गरें । कारण एउटै थियो, प्रतिकपि पाईने पारिश्रमिक । कतिपय परिक्षक र संपरिक्षकको हकमा कापीमा हस्ताक्षर गर्न भुलेको, पन्ध्रलाई ५१, ६३ लाई ३६ लेखिएको पाइयो । कतिपय अवस्थामा नेपाली भाषामा पढाउने शिक्षकले भाषाको माध्यम अंग्रेजी भएको उत्तरपुस्तिका परिक्षण गरेको पनि भेटियो । गणितमा त समस्या नहोला, तर जनसंख्या, सामाजिक जस्ता भाषागत विषयमा ? उत्तरपुस्तिका परीक्षण गरेको पारिश्रमिक झण्डै झण्डै दशैताका पाईने भएकोले त्यहाँ एउटा भनाई नै प्रचलित रहेछ, जसको ठूलो पोको, उसको ठूलो बोको । एसइइको कपि परिक्षण सम्बन्धी यस्तै अन्तरंगी खालका घटनाहरु शिक्षण पेशामा प्रवेश गरे लगत्तै सुनेको थिएँ । त्यो बर्ष देख्ने र अनुभव गर्ने मौका पाएँ । यहाँ नेर मेरो प्रश्न के हो भने त्यसरी प्ररिक्षण गरेर प्रकाशित गरिएको नतिजा कत्तिको स्तरिय विश्वसनीय थियो त ? त्यसमा नि कतिपय विद्यार्थीहरुलाई परीक्षदेखि डर लाग्ने समस्या हुन्छ । जसलाई अंग्रेजीमा इक्जामोफोविया भनिन्छ । कतिले क्षमता हुँदाहुँदैै पनि राम्रो गर्न नसकेको हुन सक्छन् । कतिले परीक्षाको समयमा स्वास्थ्यको समस्या भोगेको हुन सक्दछन् । कतिलाई त पारिवारिक समस्या हुन सक्दछ । तीन घण्टे परीक्षप्रणाली यस्तै विभिन्न खालको कुराहरुबाट प्रभावित हुन्छ । अब यहाँनेर कुरा आउँछ, यस्तै विभिन्न खालको कारणले गर्दा तीन घण्टे परीक्षा प्रणाली ठीक छैन । परीक्षा प्रणालीमा सुधार गर्नु आवश्यक छ भन्ने पनि हामी नै, अनि दशौं बर्ष आफैले पढाएको विद्यार्थीलाई अंक दिएर पठाउँदा मनपरी ढंगले दियो भन्ने पनि हामी नै । के २०७२ मा दुई जनाले र २०७३ मा चार जनाले मात्र राम्रो ग¥यो भनेर यस पटक त्यतिका विद्यार्थीले कुनै पनि हालतमा राम्रो गर्न सक्दैनन् भन्ने हुन्छ र ? के यो ल्याएका विद्यार्थी साँच्चीकै राम्रो हुन सक्दैनथे
र ?
अर्को एउटा अनुभव साट्न चाहन्छु, शिक्षा शास्त्र अन्तरगत अंग्रेजी लिएर पढ्दा स्नातकोत्तर पहिलो बर्षमा फोनेटिक्स एण्ड फोनोलोजी भन्ने विषय पढ्नु पर्ने हुन्छ । जसमा अंगेजी भाषाको ध्वनी बर्ष र संसारमा बोलिने यसको प्रकारहरुको बारेमा पढ्नु पर्दछ । यसलाई थोरै गाह्रो विषयको रुपमा मानिन्छ । किनभने यो विषयमा अन्य विषयमा जस्तो बुझेर आफ्नो भाषामा व्याख्या गर्न मिल्दैन । उत्तर दिंदा जे हो त्यही लेख्नु पर्दछ । हाम्रो कक्षाको सबै साथीहरुमा पनि यो केही गाह्रो हुन्छ भन्ने परेकोले हामीले एकदम परीक्षा उन्मुख भएर शैक्षिक सत्रको सुरुवातदेखि नै विशेष तयारीमा लागेका थियौं । हाम्रो सौभाग्य भन्नु पर्दछ । प्रत्येक बर्ष सोधिने गरेको एउटा लामो उत्तरात्मक प्रश्न जुन तुलनात्मक रुपमा अरु भन्दा गाह्रो हुन्छ त्यो सोधिएन । उक्त प्रश्नमा कुनै एउटा अंग्रेजी शब्द दिइएको हुन्छ, त्यसलाई उच्चाराण गर्दा आउने ध्वनीहरुको बर्ष र तिनका विशेषशता सचित्र व्याख्या गर्नु पर्दछ । उच्चारणमा अलिकति मात्र तलमाथि भएपनि सबै उत्तर विग्रन्छ । यो करिब करिब गणितमा सुत्र गलत भएजस्तै सावित हुन्छ । यो प्रश्नको ठाउँमा आर्कै तुलनात्मक रुपमा धेरै सजिलो प्रश्न थियो । त्यसकारण परीक्षा राम्रो भयो । सबै साथीहरुको पनि राम्रो भएछ । तर नतिजा आउँदा हामी दंग प¥यौं । सबैभन्दा धेरै आउनेको सयमा ५२ आएको रहेछ । मेरो चालीस आएर पास मात्र भएको रहेछु । जब कि अपेक्षा सत्तरीको हाराहारीमा थियो । जतिनै नम्बर काटे पनि साठीमा घटी हुँदैन भन्नेमा ढुक्क थिए । तर आईदियो चालीस । दुई चार जना सिपालुमै पर्ने साथीहरु त झन फेल नै भए । पुनर्योग गर्दा पनि उही नम्बर पठायो । मलाई आजसम्म पनि टक्क उतिर्णाङ्क मात्र आएको कुरामा विश्वास लाग्दैन । बरु फेल नै भएको भए चित्त बुझाउँथें होला । एक कक्षादेखि स्नातकोत्तरसम्म कुनै पनि बर्ष कुनै पनि विषयमा यस्तो भएको थिएन । विश्वविद्यालयको त यस्तो पारा छ भने पोहोर पराहरको एसइइको नतिजा ठीक थियो भनेर कसरी पत्याउने ?
यो भन्दा पनि अझ अविश्वासिलो अर्को घटना छ । उहाँ मलाई विद्यालयमा पढाएको शिक्षक पनि हुनुहुन्छ र अहिले हामी एउटै विद्यालयमा काम गर्दछौं । उहाँले स्नातकोत्तर पहिलो बर्षमा शिक्षा विषयको जाँच दिंदा एक नं. पाउनु भएछ । हामीलाई थाहै छ, प्रतिप्रश्न एक अंकवाला वस्तुगत प्रश्न पनि हुन्छ । शिक्षा आफैमा भाषागत विषय हो । आषय आउने गरेर आफ्नै तरिकाले उत्तर लेख्दा पनि झण्डै पास अंक आउँछ । वस्तुगत प्रश्नमा पनि ३३ प्रतिशत जति सहजै उत्तर लेख्न सकिने अति सरल प्रश्न हुन्छ । यस्तो अवस्थामा स्नातकोत्तर तहको विद्यार्थीले तीन घण्टा परीक्षामा लेखेर एक अंक मात्रै आउँछ त ? के उहाँले एक भन्दा बाहेक बस्तुगत प्रश्न मिलाउनै सक्नु भएन त ? के उहाँले लेखेको सबै उत्तर पुरापुरगलत थिए त ? त्यस्तो पक्कै भएन होला ।
मैले यतिका कुरा बताउनुको तात्पर्य के हो भने अहिले सबैले शिक्षकले मनपरी ढंगले अंक दिएकोले नतिजा राम्रो आयो मात्र भनि रहेका छन् । विगतमा किन कमजोर आयो त्यता पनि सोंचौं न । हुन सक्दछ विगतदेखि नै यही अनुपातमा आउनु पर्ने थियो । हाम्रो परीक्षा प्रणाली नै गलत भएकोले नआएको त होइन ?
अहिलेको परीक्षाफललाई खिल्ली गर्नु भनेको अकस्मात हुने परिवर्तनलाई स्वीकार्न नसक्ने मानसिकताको उपज हो । जहाँसम्म मनपरी ढङ्गले अङ्क दिएको आरोपको प्रसङ्ग छ । सरकार नै ह्वार ह्वारती विद्यार्थी पास गराएर शैक्षिक प्रगति भएको देखाउने रणनीतिमा छ भने त्यही सरकारको नुन पानी खाने शिक्षकले विद्यार्थीलाई दुई चार अङ्क बढी दिन किन नमिल्ने? एक, दुई, तीन कक्षासम्म कुनै पनि परीक्षा लिन नहुने, निरन्तर विद्यार्थी मूल्याङ्कनको आधारमा कक्षा चढाउने भनिएको छ । चार, पाँचमा पचास प्रतिशत र छ र सातमा २५ प्रतिशत नि.वि.मू.को आधारमा दिनुपर्ने भनिएको छ । दश कक्षालाई पास फेलबाट परिवर्तन गराएर कोही पनि असफल नहुने गरी ग्रेडिङ्मा परिवर्तन गरिएको छ । त्यसमा पनि ८ वटा विषयमध्ये ६ वटामा २५–२५ अङ्कको प्रयोगात्मक अङ्क राखिएको छ । जुन पहिले विज्ञान र अंग्रेजीमा मात्र
हुन्थ्यो ।
हिसाव गर्दा ६ वटा विषयको १५० अङ्क कूल ८ सयको १८.७५ प्रतिशत हुन्छ । त्यो करिव १९ प्रतिशत अङ्क भनेको प्रयोगात्मक भएपनि खुरुखुरु देऊ ताकि अङ्क बढी देखियोस् भन्नकै लागि हो । अहिले ११ कक्षाकै कुरा गरौँ विद्यालय आँफैले परीक्षा लिने र अङ्क पठाउने अर्थात ३० भन्दा कम आए १२ कक्षा पढ्न नपाइने भनिएको छ ।
यसको तात्पर्य परीक्षा आफै लिऊ नब्बर ३० भन्दा माथि नै दिएर पठाउ भनेको होइन र ? अतः सरकार नै जसरी हुन्छ विद्यार्थी पास गराउने रणनीति अपनाइरहेको छ भने शिक्षकले २,४ अङ्क बढी दिएर के अपराध गरे त?
अतः कुनै पनि कुराको सतहमा मात्र हेरेर कसैलाई दोष थोपर्नु भन्दा गहिराइमा डुवेर अध्ययन गरेर मात्र विश्लेषण गर्नु पर्ने हो की? सबै विद्यार्थी हरुलाई सफलताको बधाई र प्रगतिको शुभकामना !
SEE परीक्षाफलले उब्जाएको प्रश्न
previous post