तीज हिन्दु नारीहरुले विशेष महत्वका साथ मनाउने पर्व हो । यो पर्वले ती हिन्दु नारीहरुलाई मनको वेदना पोख्न पाउने स्वतन्त्रता प्रदान गरेको पर्वको रुपमा मौलिक पहिचान बनाएको थियो । हिन्दु नारीहरु पुरुष प्रधान समाजबाट धेरै प्रताडित थिए र पनि तीजको यो दिनमा उनीहरुले आफ्नो पीडालाई, मनको बहलाई माइतीघरमा पुगेर गीतिलयमा
गाएर, नाँचेर, बर्षभरिको पीडादायी भारी विसाउने हिजोको अवस्था थियो । साथसाथै राजनीतिक व्यवस्थाका अन्याय र अत्याचारको पनि तीज पर्वमा महिलाहरुले भण्डाफोर गर्दथे । सामाजिक अन्यायका विरुद्धमा महिलाहरुले खरो रुपमा विरोध जनाउने अवसर तीज नै थियो ।
तीज नेपाली हिन्दु पराम्पराको पर्व हो । नेपाली महिलाहरुले विश्वभरि छरिएर रहँदा तीज पनि विश्वभरि छरिएको छ । यो सुखद पक्ष हो । तर विश्वमा छरिएका नेपाली महिलाहरुले त्यहाँको ढाँचाकाँजामा तीज पर्व मनाईरहँदा तीजको नेपाली मौलिकतालाई पनि पछ्याउन सक्यौं भने मात्रै हामीले तीज पर्वलाई विश्वव्यापी बनायौं भनेर गर्व गर्न सक्दछौं । तर तीजको मौलिकता नै नासिने, मासिने गरी तडकभड, अस्लिलता, उच्छृङ्खलतालाई स्थान दियौं भने तीज पर्वबाट अपव्याख्या भएर तीज पर्वको नाम उच्चारण हुनासाथ लज्जित बन्नु पर्ने अवस्थामा हामी पुग्दछौं । तीज मनाउन नै छोड्ने अवस्था आउन सक्दछ ।
अब अवस्था परिवर्तन भएको छ । पुरुष प्रधान समाजले आफ्नो पहिचान फेर्दैछ । राजनीतिक व्यवस्थाकै विरोध गर्नपर्ने अवस्थाबाट प्रबृत्ति र कुकर्मको विरोध गर्नपर्ने अवस्थामा हामी प्रवेश गरेका छौ । महिलाहरुमा अन्धविश्वास र अशिक्षाको बादल फाट्दो छ । शिक्षित महिलाहरुले समाजमा मौलाएका गलत प्रबृत्ति र कुकर्मको अर्थात लैंगिक हिंसाको संगठित रुपमा विरोध गर्ने मानसिकता विकास भएको छ । सामाजिक जागरणका लागि तीज जस्ता पर्वहरुको माध्यमबाट, न्यायीक लडाईका लागि अनुसन्धानकै समयदेखि चनाखो हुँदै अदालतमा पुगेपछिको समेत कार्यविधिगत प्रबृत्तिलाई बुझेर कानुन व्यवसायी (नीजि, वैतनिक, कानुनी सहायता समिति तथा स्वऐच्छिक निःशुल्क कानुनी सेवा) को सहयोग लिएर महिलाको अस्मिता, इज्जत प्रतिष्ठा र स्वाभिमान बचाउन सजग र सचेत हुनु परेको छ । कारवाही चलाउने, अनि पछि विपरित वकपत्र गरेर कमजोर मानसिकता देखाउने प्रबृत्तिले अझै पनि महिलाहरु लहलहैमा अघि बढ्ने, झुटा मुद्धा लगाउने र पछि हट्ने गर्दछन् भन्ने पुरुषवादी दृष्टिकोण थप पुष्टि गर्ने अवस्थाको अन्त्य हुनुपर्दछ ।
आधुनिकताको नाउँमा हामीले मौलिक पहिचानलाई छोड्दै गएको देखिन्छ । तीजको मौलिक पहिचानलाई छोड्दै बढेको दर खाने प्रबृत्ति सामाजिक रुपमा आलोच्य बनेको छ । तीजको अघिल्लो दिन दर खाने मौलिकतालाई विकृत गराउँदै फजुल खर्च, तडकभडक, विलासी र ऐयासी अझ भन्नै पर्दा उच्छृङ्खलता बढ्न थालेकोप्रति समाज चिन्तित बनेको छ । हामीले गाउने गीत र संगसंगैको नाँच आलोच्य बन्दै गएको छ । ‘घोप्टे’ नाँच संगै रमाइने गीतले तीजको मौलिकतालाई जबरजस्त हस्तक्षेप गरेको नेपाली समाजले महसुस गर्न थालेको छ । तीजको रङ्गरमाइलो भित्रको धरातल समाजमा विद्यमान विकृति र विसंगति हटाउने संदेशमूलक हुन बनाउन नेपाली समाजभित्रका बुज्रुक महिलाहरुले अब पहल गर्नु पर्ने भएको छ । पहिचान मेटाउने गरी विकषित गतिविधिहरुलाई स्वयम् अगुवा महिलाहरुले मात्रै लाईनमा ल्याउन सक्दछन् । पुरुषहरुले चाहेर पनि यो परिवर्तन हुन सक्दैन ।
नेपाली समाजका बुज्रुक महिलाहरुले के कसरी सके तर सके, पितृसत्तात्मक समाजमा केही अंशमा परिवर्तन गराउन
सके । विस्तारै पुरुषप्रधान समाजको अस्तित्व लोप हुँदैछ । त्यसको लागि सफल महिलाहरु बधाईका साथसाथै सम्मानका पात्र हुन् । तर अब सचेत हुनुपर्ने बेला भएको छ कि उनीहरुले स्थापित गरेका अधिकारहरुको दुरुपयोग स्वयम् महिलाहरुबाट हुन थालेको छ । अथवा अबको समाजमा पुरुष पीडित हुने संख्या बृद्धि हुँदो छ । बढ्दो यो अवस्थाले समाजलाई पारिवारिक द्वन्दमा धकेलिदिएको छ । परिणाम पारिवारिक अस्थिरता र आर्थिक हिनामिना तर्फ प्रत्येक परिवार भासिन थालेको छ ।
बुज्रुक महिलाहरुले के थाहा पाउनु प¥यो भने नेपाली समाजका महिलाहरु नै महिलाहरुलाई अधिकार बढी भएको भनेर विरोधका स्वरहरु आउन थालेका छन् । ती महिलाको स्वरलाई समयमै सम्बोधन गर्न बुज्रुक महिलाहरुले स्थापित महिला अधिकारको दुरुपयोग गर्न सक्ने अवस्थाको अन्त्यको लागि चनाखो हुनु पर्ने भएको छ ।
अबको तीजले हरेक महिलाहरुलाई अधिकार र कर्तब्यप्रति सजग सचेत र इमानदार बनाउन अर्थपूर्ण सन्देश दिन
सकोस् ।