आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट आउने मिति नजिकिँदै गर्दा प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम र बजेट कस्तो हुनु पर्ने भन्ने विषयमा बहस सुरु भएको छ । यद्यपि बहस नेपालीलाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने काममा संलग्नहरुलाई कडा कारवाही गरिनु पर्नेमा बढी केन्द्रीत देखिँदैछ । जुन जायज छ । तर केही सांसदलाई छोडेर अधिकांश सांसद जसरी परस्पर आरोप प्रत्यारोपमा उत्रेका छन्, त्यसले आम मतदातालाई शायद दिक्क बनाएको छ । यस्तोमा दलहरुले नेपालीको सम्मुनतिको आकांक्षा पूरा गर्लान ? भन्ने प्रश्न उठेको छ ।
तर दल र तिनका नेताहरु कोही समृद्धिको नाम दिएर त कोही समुन्नतिको नाम दिएर नागरिकलाई सुखी र खुसी बनाउने योजना भने प्रस्तुत गरिरहेका छन् ।
सत्तारुढ नेपाली कांग्रेसले निर्वाचनका बेला कोखदेखि शोकसम्म भनेर अनेकौं सामाजिक कल्याणका कार्यक्रम प्रस्तुत गरेको थियो भने विकासे आश्वासन र एजेण्डा पनि कम थिएनन् । अहिले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन अघि संसदमा मिसन २०९५ को उद्घोष गरेका छन् । सर्बसुलभ स्वास्थ्य, निशुल्क गुणस्तरिय शिक्षा, सुखी र खुसी नेपाली लगाएतका विषय मिसन ९५ मा संलग्न भएको शर्माको दावी छ । समुन्नत नेपाल, खुसी नेपाली कांग्रेसको नारा रहेको छ ।
प्रमुख प्रतिपक्षी एमाले झन नारामा अब्बल छ । उसले ६ वर्ष घरघरमा ग्याँसको पाईपलाइन, आफ्नै पानी जहाज, भोकै र नाङ्गै कुनै नेपाली हुन नपर्ने, चाइनाको रेल काठमाण्डौं देखि पोखरा हुँदै पर्वतसम्म पुग्ने भाषण त्यसका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गरेको थिए । एमाले पनि नारामा के कम हुनु,उसले पनि समृद्ध नेपाल सुखी नेपाली नारा ल्यायो ।
कांग्रेस र एमालेमात्र किन अरु सबैजसो दल विकास, समृद्धि र समुन्नतिका नारा दिन निकै सिपालु छन् । तर देशको वर्तमान नियाल्दा दलका नेताहरुको ध्येय देशको समग्र समुन्नति भन्दापनि आफु, आफ्नो परिवार, नातागोताको समुन्नतिमा तल्लिन भएको देखिएको छ । हाम्रो आर्थिक अवस्थाको कुरा गर्ने हो भने गरीबीको रेखा मुनी रहेको जनसंख्या अझै झण्डै १० प्रतिशत रहेको छ । सरल भाषामा आफ्ना आधारभुत आवश्यकता जस्तै खाना, नाना र छाना तथा गुणस्तरिय शिक्षा, आधारभूत स्वास्थ्य सुविधा प्राप्त गर्न वा पूरा गर्न नसक्ने जनसंख्या १०० जनामा १० जना रहेको छ । अझ अर्काे भाषामा भन्नुपर्दा उनीहरु आफ्नो आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने आम्दानी गर्न सक्दैनन् । गरिबी हाम्रो अर्थव्यवस्थाको विशेषता नै बनेको छ । दिनानुदिन धनी झन धनी र गरिब झन गरिब हुँदै जाने अवस्था बनेको छ । राष्ट्रिय आयको असमान वितरणका कारण धनी र गरिब बीचको खाडल झन झन फराकिलो हुँदै गएको छ । राजश्व संकलनबाट सरकार साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको भन्ने समाचार आएको छ, यसको अर्थ हो हाम्रा आम्दानीका श्रोतहरु खुम्चँदै गएका छन् । तर विडम्बना दलका नेताहरुको बैठक वा छलफलहरुमा यस्ता कुनै पनि विषयमा चासो र चिन्ता प्रकट भएको कहिल्यै सुनिएको छैन ।
जल र जंगलको हिसाबले हामी सम्पन्न छौं । अन्य प्राकृतिक सम्पदाले पनि हामी धनी नै छौं । मानव संसाधन पनि त्यस्तै छ । तर त्यसको उचित प्रयोग हुन नसक्दा अल्पविकसित राष्ट्रको सूचिबाट माथि उक्लन सकेका
छैनौं । जनशक्ति दिन दुगुणा रात चौगुणाको दरले विदेशिँदा देशमा अभाव हुन थालेको छ । राज्यले रोजगारीको सृजना गर्न सकेको छैन । कृषि प्रधान देश भनेपनि दाल ,चामलदेखि थुप्रै खाद्य पदार्थ आयातमा निर्भर छ । सस्तो मूल्यमा कच्चा पदार्थको निकासी र महंगो मूल्यमा तयारी वस्तुको आयात हाम्रो अर्थ व्यवस्थाको यथार्थ तस्विर हो । रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ । अर्थतन्त्रको अधिकांश हिस्सा आयातमा निर्भर छ ।
भ्रष्टाचारको कुरै नगरौं । पियनदेखि मन्त्रीसम्म भ्रष्टाचारमा मुछिएका समाचार बारम्बार पढ्न बाध्य छन् नेपाली नागरिक । अहिले सर्वाधिक चर्चामा रहेको नक्कली शरणार्थी काण्डमा देखिएको उच्च तहको संलग्नताले त नेपालको छवि विश्व समुदायमा धमिल्याउने भएको छ । अझ विडम्बनाको कुरा त के छ भने हाम्रो राज्य व्यवस्था र कानूनी प्रवन्ध नै यस्तो छ कि भ्रष्टाचार गरेर अरबौं कमाउँछ । सके त उसका विरुद्ध मुद्दा नै पर्दैन । परिहाल्यो भने पनि न्यायालयलाई प्रभावित तुल्याएर चोखिन्छ । त्यो पनि नभए केही लाख जरिवान तिरेर निस्कछ । निर्लज्ज हाम्रो राजनैतिक र प्रसाशनिक नेतृत्व करोडौं भ्रष्टाचार गरेर लाखमा जरिबान तिर्नु र जेलमुक्त हुनुमा गर्व गर्ने भएको छ ।
हाम्रो राज्य राजनीतिज्ञले होइन केही धनीमानीहरुले सञ्चालन गरेको भान हुन्छ । नभए सर्वहाराका हितैषी भन्नेहरु सत्तामा हुँदा यती र ओम्नी अनि बतासको हातमा हजारौं विघा जमिन कौडीको भाउमा जाने थिएन् । ओम्नी र शेरमहरु कारवाहीको दायरामा आउने थिए । देशभर अक्सिजन अभाव भएर कोरोनाका विरामी छट्पटाइरहेका र कसैले त त्यसको अभावमा मृत्युवरण गरेको समाचार आईरहँदा सत्ताधारी दलका सभासदको घरमा अक्सिजनका सिलिण्डर लुकाएको अवस्थामा भेटिने विडम्बना पनि हाम्रो मै थियो र पात्रहरु फेरिए पनि तिनीहरुको प्रवृत्ति उस्तैछ । अनि छिमेकी देशले अनुदानमा दिएको अक्सिजनमा आफ्नो फोटो टाँसेर जनताको हितमा काम गरेको देखाउने ढाँगी मन्त्री पनि हामीसंगै थिए र छन् ।
माथि चित्रण गरिएका तथ्यहरुले हाम्रो समुन्नतिमा पुग्ने आकांक्षा सहजै पूरा होला जस्तो छैन । दल र तिनका नेताहरुले सच्चिने लक्षण देखाएका छैनन् । केही भएको छैन भन्ने होइन तर देशको वर्तमान नियाल्दा नयाँ केही होला र कांग्रेसले भनेजस्तो देश समुन्नतिको यात्रामा अग्रसर होला अनि एमालले भनेजस्तो समृद्धि तर्फ लाग्ला भन्ने आशा राख्ने र विश्वास गरिहाल्ने वातावरण भने बनेको छैन । यो साताले केही आशाका किरणहरु देखाएको छ । आशा गरौं, अब नेताहरु सच्चिएर देश समुन्नति र समृद्धिको यात्रमा लाग्नेछ । देश समुन्नत बन्नेछ ।