दमौली/व्यास नगरापालिकाले मादी नदी उपत्यका विकास परियोजना आईतबार सार्वजनिक गरेको छ । विज्ञ समूह र सरोकारवालाहरुको उपस्थितिमा गुरुयोजनाको मस्यौदा प्रस्तुतीकरण गरिएको थियो । सो अवसरमा प्राप्त सुझाव र सल्लाहलाई समावेश गरिने जनाइएको छ । मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर सञ्चालन गरिन लागेको यो परियोजनामा २६ वटा योजना रहेका छन् । १५ बर्षे योजनाका रुपमा आएको उक्त एकिकृत योजनाको लागत अनुमान २६ अर्बको रहेको प्रस्तुतकरणका सन्दर्भमा जानकारी गराइएको थियो ।
गुरुयोजनाको अन्तिम मस्यौदा प्रस्तुत गर्दै इन्जिनियर कुमार धमलाले व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहोरमैला व्यवस्थापन योजना लगायतका २६ वटा योजना समेटिने बताए । प्रत्येक योजनाको छुट्टा छुट्टै बजेट र सम्पन्न हुने समय प्रस्तुत गर्दै उनले १५ वर्षसम्म हरेक योजनालाई महत्वको हिसाबले प्रथामिकता निर्धारण गरिने र सोही अनुसार निर्माण कार्य पनि अगाडि बढाइने जानकारी दिए ।
जलस्रोतविद अर्जुन गौतम, वातावरणविद् राजिव पोख्रेल, वरिष्ठ सहरी योजनाविद् उनाममान प्रधान, पुर्वाधार एवम् विपद्विद देबकुमार महर्जनले प्रस्तुत भएको मस्यौदा माथि सुझाव राखेका थिए । योजनाको दीगोपन, हाइड्रोलजिकल पक्ष अन्तर्गत पानीको स्रोत र बहाव तथा सो क्षेत्रमा हुने वर्षाको प्रकृतिलाई विशेष ध्यान दिन विज्ञहरुले सुझाव दिएका थिए । त्यस्तै पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव, बाढी पहिरोको प्रकोप, स्थानीय जीवनस्तरमा पर्ने प्रभावको गहिरो अध्ययन र विश्लेषण गरेर मात्र अघि बढ्न विज्ञहरुले सुझाव राखेका थिए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले परियोजना सञ्चालनको आधार बलियो हुनुपर्नेमा जोड दिए । जलवायु परिवर्तनले पारेकोे प्रभावलाई ध्यानमा राखि बलियो गरी वातावरणीय प्रभाव मुल्याङ्कन गर्न प्राविधिक विषयको गहिरो अध्ययन गरेर मात्र अघि बढ्न उनले सुझाव दिएका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खानले सबै क्षेत्रसँग समन्वय र सहकार्य गरे परियोजना सफल हुने विश्वास व्यक्त गरिन ।
राष्टिूय सभा सदस्य प्रकाश पन्थले यो परियोजना बहुआयामिक र एकीकृत योजना भएकाले विशेष महत्व राख्ने
बताए ।
मस्यौदा माथि जनप्रतिनिधि, राजनीतिज्ञ, व्यवसायी र अन्य सरोकार वालाहरुले मादी नदीसँगैका जमिन अधिग्रहण, मादीको बहाब नियन्त्रण, सामाजिक तथा आर्थिक पक्ष, वातावरणीय पक्ष, नीजि जग्गा मुआब्जा, पर्यटन विकासका पूर्वाधार, पर्यटनका सम्भावना र चुनौती, लगानीको मोडल, जग्गा व्यवस्थापन, सहरी विकास योजना जलविद्युत उत्पादन क्षमता बढाउने लगायतका सुझाव राखेका थिए । जलविद्युत उत्पादन क्षमता, नीजि क्षेत्रसँग समन्वय र सहकार्य, लगानी सुरक्षित हुने आधार, स्थानीय बासिन्दाले लिनसक्ने फाइदा, फोहोरमैला व्यवस्थापन, सम्भावित लगानीकर्ताको सुचि निर्माण, व्यास पराशर, मानहुँकोटलाई कसरी जोडने, नेतृत्वकर्ताको स्पष्ट भिजन र प्रतिवद्धता हुनुपर्ने लगायतका सुझाव राखेका थिए ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यासको बृहत्तर र एकीकृत विकास कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञहरुसँग पटक पटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको अवधारण आएको जानकारी दिए । स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा केही कृत्रिमता प्रदान गरी त्यसबाट पर्यटन र व्यापार व्यवसायको राम्रो लाभ लिन सक्ने भएपछि परियोजना अगाडि बढाउने तयारी गरिएको न्यौपानेले बताए । यस परियोजनाको लागि विदेशी लगानीकर्ता पनि उत्साहित देखिएको बताउदै उनले भने ‘अब यस तर्फपनि विज्ञ टोलीहरुसँग छलफल गरी अघि बढ्छौँ’। उक्त कार्यक्रमको सहजीकरण व्यास नगरपालिकाका वरिष्ठ इन्जिनियर रबिन्द्रलाल मुलले गरेका थिए ।
मादी नदी उपत्यका विकास परियोजाना मस्यौदा सार्वजनिक
previous post