कमलबारी/सधैं झोलामा ८ ÷१० वटा किताब, त्यतिनै संख्यामा कापी, कलम बोकेर आउने सिद्धेश्वरी मावि कमलबारीका कक्षा–८ का विद्यार्थीको हातमा सोमबार भने कराई, चम्चा, बाटा, चक्कु, पन्यु आदि थिए । उनीहरुको मुहारमा भिन्नै उत्साह पनि देखिन्थ्यो । बुझ्दा थाहा लाग्यो, उनीहरु आज पाककला सिक्दै रहेछन् ।
उता विद्यार्थीको सिकाईलाई जीवनसंग जोड्न लागि परेकी शिक्षक मिनु सेन्च्यूरीलाई पनि सामान जुटाउने भ्याइनभ्याई त थियो नै आफुसंग भएको पाककला विद्यार्थीलाई बाँड्ने उच्साह पनि । आफुसंग भएको पाककला बाँडेर विद्यार्थीको सिकाईलाई जीवनसंग जोड्ने काममा सेन्च्यूरीका अतिरिक्त शिक्षकहरु दीपक न्यौपाने, सिताराम नेपाली र प्रतापसिंह अधिकारी पनि उत्साह पूर्वक लागिरहेका थिए । सधैं जस्तै विद्यालय समयमा जम्मा भएका छात्र–छात्राहरु मध्ये छात्रहरु चुलो बनाउने तथा आवश्यक दाउराको जोरजाम गर्ने काममा लागे भने छात्राहरु लसुन,अदुवा, प्याज, धनिया काट्ने आदि काममा व्यस्त हुन थाले । चुलो बनेर दाउराको जोरजाम भएपछि उनीहरु आ–आफ्नो काममा लागि परे । विद्यालयको खाजा खाने छुट्टी हुने बेलामा शिक्षकहरुको निगरानीमा उनीहरुले आलुचप र पकौडा तयार पारे अनि त्यो संग खान अचार पनि ।
कक्षा–८ का विद्यार्थी साथीहरुले पाककला सिक्ने क्रममा विभिन्न परिकार बनाउने मेसो अघिल्लो दिन पाएका अन्य कक्षाका विद्यार्थीहरु खाजा खान होटल नगएर त्यहीँ आए ।अचानक पकौडा तथा आलुचप किन्नेको भीड भयो । तर त्यसलाई जिम्मेबारी विभाजन गरेर व्यवस्थित ढंगले पार लगाए । फुर्सदमा रहेकाले अन्य शिक्षकहरुले पनि उक्त समयमा विद्यार्थीहरुलाई सहयोग गरे । हौसला प्रदान गरे ।
६ घण्टाको यो अवधिमा विद्यार्थीहरुले चुल्हो बनाउने, दाउरा चिर्ने, तरकारी केलाउने तथा पकौडा तथा आलुचप बनाउन आवश्यक सामग्री र मात्रा बारे सिके । लगानीलाई नाफामा बदल्न मूल्य निर्धारण बारे सिके भने नेतृत्व सिप र भोली व्यवसाय गरेका बख त्यसको व्यवस्थापन कसरी गर्ने भनेर पनि सिके । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी यस्ता कार्यक्रमले विद्यार्थीको सिकाईलाई जीवनसंग जोड्न सघाउने भन्दै अरु कक्षाहरुमा पनि यस्ता व्यवहारिक सिपको विकास हुने क्रियाकलाप गर्न आवश्यक रहेको बताउँछन् । हातमा प्रमाणपत्र संगसंगै सिप पनि भएको जनशक्ति उत्पादन अबको आवश्यकता भएको उनको धारणा छ ।
पाक कला सिक्दै सिद्धेश्वरीका विद्याथी
previous post