कोभिड–१९ को महामारी नफैलेको भए हाल विद्यालय तहमा अध्ययनरत झण्डै ७० लाख विद्यार्थीले चार महिना पढिसकेका हुन्थे । एकाइ परीक्षा सकिएर नतिजा प्रकाशन भई प्रथम चौमासिक परीक्षाको समेत तयारीमा विद्यालय र विद्यार्थीहरु हुने थिए । यसैगरी एसइई परीक्षाको नतिजा प्रकाशन भएर कक्षा ११ को पढाइ प्रारम्भ भएको हुन्थ्यो भने अन्य तहमा पनि नियमित पढाई तथा परीक्षाका कार्यक्रमहरु सञ्चालन भएका हुन्थे । विद्यालय तहमा एक शैक्षिक शत्रमा कम्तिमा १ सय ९० दिन पठन पाठन हुनुपर्ने व्यवस्था छ तर अहिले यो समय विद्यार्थीले पढ्न पाउने अवस्था अब छैन । यदि यस्तै अवस्था रहने हो भने शैक्षिक शत्र नै सकिएर जाने तर विद्यार्थीले पढ्न नपाउने र उनीहरुको एक वर्ष खेर जाने अवस्था आउने छ ।
विद्यालय र विश्व विद्यालयमा गरी झण्डै ७६ लाख विद्यार्थी अध्ययनरत छन् र तिनको एक वर्ष खेर जानु भनेको देशको सूदुर भविष्यका लागि आत्मघाती हुनेछ । त्यसैले शैक्षिक शत्र खेर जान नदिन विद्यालय तहका लागि सरकारले परिस्थिति र परिवेश अनुकूल उपयुक्त रणनीति सहितको पठनपाठन र मूल्यांकनको खाका बनाउनु पर्दछ भने विश्वविद्यालयहरुले पनि सोही बमोजिम नीति निर्माण र कार्यान्वयन गर्नु जरुरी भएको छ । कतिपय निजी र सामुदायिक विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेको भएपनि त्यसले कूल विद्यार्थीको २० प्रतिशत विद्यार्थीलाई पनि समेट्न सकेका छैनन् । बाँकी ८० प्रतिशतको हकमा के गर्ने ? भन्ने विषयमा स्थानीय सरकारहरुले पनि सोच्नु जरुरी छ । अहिले वैकल्पिक पाठ्यसामग्रिको रुपमा स्थानीय सरकारका तर्फबाट विद्यार्थीहरुलाई वितरण गरिएका सामग्रिहरु कमजोर विद्यार्थीलाई मध्यनजर गरेर निर्माण गर्न नसकिएको गुनासो विद्यार्थीहरुले गरेका छन् । शिक्षकहरुको पनि त्यस्तै गुनासो छ । सामग्री हेर्दा अब्बल विद्यार्थीका लागि मात्र हो जस्तो देखिएको अनुभव सुनाउने शिक्षक धेरै भेटिएका छन् । यो विषयमा उठेका प्रश्नहरुको उपयुक्त जवाफ दिँदै स्थानीय सरकारहरु जिम्मेबार भएर प्रस्तुत हुनु पनि त्यतिकै जरुरी छ ।
स्थानीय सरकारले टोलटोलमा स्रोत केन्द्र बनाएर शिक्षकहरूको उपस्थितिमा स्वास्थ्य सावधानी अपनाउँदै पढाउने, रेडियो शिक्षा सञ्चालन गर्ने र त्यसका लागि विद्यार्थीलाई रेडियो सेट तथा व्याट्री उपलब्ध गराउने गर्न सक्छ भने पाठ्यक्रमलाई छरितो बनाउने पनि अर्काे उपाय हुन सक्छ । र अरुपनि थुप्रै उपाय हुनसक्छन् शैक्षिक शत्र खेरजान नदिनका लागि । त्यसैले पठन पाठनको विकल्प खोजौं र बालबालिकाको भविष्य विग्रनबाट जोगाऔं ।
पठन पाठनको विकल्प खोज्ने बेला भएन र ?-सम्पादकीय
previous post