पृष्ठभूमिः
सेवाग्राहीसंग कस्तो व्यवहार गर्नु पर्दछ भनेर सर्वोच्च अदालतले २०७४ प्रकाशनमा ल्याएको जिल्ला अदालत केन्द्रित मुद्धा व्यवस्थापन दिग्दर्शनमा सेवाग्राहीसंग कस्तो व्यवहार गर्नु पर्दछ भनेर खुलाएको छ । जाईकाको जाईका एससीसी प्रोजेक्टको सहयोगमा प्रकाशित सो दिग्दर्शनको परिच्छेद १७ मा सेवाग्राहीसंगको व्यवहारका बारेमा स्पष्ट खुलाएको छ ।
दया होइन अधिकारः
दिग्दर्शनले न्यायका उपभोक्तालाई अदालतबाट प्रदान गरिने सेवाहरु दयाको रुपमा होइन । अदालतको सेवा पाउने न्यायका उपभोक्ताका अधिकार हुन् भनेर सुझाएको छ । त्यसैगरी अदालतका कर्मचारीहरुले सेवाग्राही मैत्री व्यवहार गर्नु पर्दछ । हक्ल्याउने, दक्ल्याउने, अपमान जनक सम्बोधन गर्नु हुँदैन । राम्रो उचित परामर्श दिनु पर्दछ ।
सेवाग्राही मैत्री पूर्वाधारः
सोधपुछ तथा सहायता कक्षका लागि उपयुक्त दक्ष कर्मचारी राखेर सेवा प्रवाह गर्नु पर्दछ । ताकि सेवाग्राहीले न्यायका उपभोक्ताका रुपमा अदालतको सेवा उपभोग गर्न पाउन् । न्यायका उपभोक्ताहरुले उपयोग गर्ने शौचालयहरु पनि सफा सुग्घर हुनुपर्दछ । सफा स्वस्थ्य पिउने पानी सुविधा उपलब्ध हुनुपर्दछ । सुलभ चमेना गृह हुनु पर्दछ । स्तन पान कक्ष, पीडित मैत्री कक्ष, बालमैत्री कक्ष, परामर्श कक्ष, मेलमिलाप कक्ष, प्रतिक्षा कक्ष, सेवाग्राही बस्नको लागि प्रयाप्त फर्निचरको व्यवस्था हुनु पर्दछ ।
निष्पक्ष सेवाः
सेवाग्राहीलाई विना भेदभाव स्वतन्त्र र निष्पक्ष रूपमा सेवा प्रदान गर्नुपर्दछ । सेवाग्राहीलाई विना भेदभाव समानताका आधारमा सम्मानपूर्ण व्यवहार गर्नुपर्दछ । बालबालिका, महिला, असहाय, असक्षम, वृद्ध, फरक क्षमताका सेवाग्राहीहरूसँग मानवीय आधारमा व्यवहार गर्नुपर्दछ । शिष्ट र मर्यादितः
कर्मचारीहरुमा सेवा ग्राहीसँगको बोलीमा शालीनता, ब्यवहारमा चनाखोपन र आचरणमा मर्यादित देखिनु पर्दछ । सेवाग्राहीहरूसँग व्यवहार गर्दा आवेश, तनाव, आलस्य, आडम्वर, अपेक्षा वा उपेक्षाभावको प्रर्दशन गर्नु हुँदैन । सेवा ग्राहीहरूलाई आदरपूर्वक अभिवादन गर्ने, शिष्ट र मर्यादित रूपमा संवाद गर्ने सेवाग्राहीको कुरालाई ध्यान पूर्वक सुनी गम्भीरतापूर्वक मनन गरी समस्या पत्ता लगाई सहयोगी भावनाका साथ समाधानका लागि प्रयत्न गर्नु पदर्छ ।
छिटो छरितो सेवाः
आफुबाट सम्पादन गर्न सकिने कार्यलाई अविलम्ब सम्पादन गर्नुपर्दछ । आफुबाट सम्पादन हुन नसक्ने कामका लागि सेवाग्राहीलाई समयमै निजलाई सो कुराको जानकारी गराउनु पर्दछ । सो कार्य अन्य शाखा, फाँट वा निकायबाट सम्पादन हुने रहेछ भने सो कुराको समेत स्पष्ट जानकारी गराउने र सहयोगी कर्मचारीलाई त्यस्ता सेवाग्राहीलाई सम्बन्धित फाँट वा शाखामा पु¥याइ दिने व्यवस्था मिलाई दिनुपर्दछ । अन्य शाखा वा फाँटबाट सम्पादन हुने कामको लागि आफ्नो सहयोग आवश्यक पर्ने रहेछ भने तत्परताका साथ सहयोग गर्नु पर्दछ ।
आर्थिक र समय भार नपार्नेः
सेवाग्राहीलाई अनावश्यक आर्थिक भार पर्ने र अनावश्यक समय लाग्ने गरी कर्मचारीले काम गर्नु हुँदैन । आफुले गरेको कामको जवाफदेहिता वहन गर्न सदैव तत्पर रहनु पर्दछ । सेवाग्राहीलाई कामको लागि लाग्ने समय, दस्तुर, कार्यविधि, आवश्यक पर्ने कागज प्रमाण लगायतका आवश्यक सूचना तथा जानकारी सहज रूपमा निजले बुझ्ने गरी सुरुमै बताइ दिनुपर्दछ ।
निष्कर्षः
अदालतले सेवाग्राही न्यायका उपभोक्तासंग गरिने भनि मुद्धा व्यवस्थापन दिग्दर्शनले उल्लेख गरेका अधिकाँश व्यवहारहरु पुरा गरिएका छन् । यो सकारात्मक पक्ष हो । तर अझै पनि आर्थिक प्रभावमा परेर तारीख तलमाथि गरिदिएको गन्ध आउनु हुँदैन । फैसला कार्यान्वयन तहमा गएपछि अदालतका कर्मचारीहरुबाट हुने व्यवहारहरु अदालत प्रशासनलाई बद्नाम गराउने खालका छन् । त्यसैगरी धरौटी फिर्ता गर्ने बेला देखाईने अपेक्षाभावले पनि निष्पक्ष न्याय सम्पादन गर्ने अदालतको गरिमालाई धमिल्याएको छ ।
अदालतका कर्मचारीले उपभोग गर्ने दररेट भन्दा सेवाग्राहीले उपभोग गर्ने दररेट दोब्बर हुनुलाई सुलभ चमेना गृह मान्न सकिदैन । प्रभाव पार्ने पक्षको साक्षी दशै बजेबाट बकाउन सुरु गर्ने, विपक्षलाई सुचना पनि नदिने, वादीको साक्षी नवकाई प्रतिवादीको साक्षी वकाउने व्यवहारलाई सुधार मात्रै निष्पक्ष सेवा प्रवाह गर्न सकिन्छ ।
सेवाग्राहीसंग अदालतले गर्ने व्यवहार
previous post