प्रभात पोख्रेल
दमौली/पत्रकार अनि व्यवसाय पनि । यी २४ वर्षे ठिटालाई कामको भ्याई नभ्याई हुन्थ्यो । अझ लक डाउनमा कामको चटारो उस्तै । विहानै पसल खोल्न निस्किएर राती अबेर घर फर्कने यी युवा अबको करिब एक महिना पसल र पत्रकारिता दुवै कामलाई समय दिन नपाउने अवस्थामा छन् । आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा सन्क्रमित व्यक्तिहरुको सेवामा सघाउन एक निमेषमै निर्णय गरेका उनी साता दिन यता आदिकवि भानुभक्त क्याम्पस हाईस्कूलटारमा राखिएको आईसोलेशन केन्द्रमा सक्रिय छन् ।
दुई व्यवसाय र पेशामा हात हालेका उनले आखिर यस्तो जोखिमपूर्ण निर्णय कसरी लिए त ? भन्छन्, ‘कुनै न कुनै रुपमा सघाउने मन थियो तर सघाउने कोही नभएकाले सहयोग आह्वान गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले सामाजिक सञ्जालमा स्टाटस लेखेपछी सघाउने उपयुक्त मौका यहि हो भनेर क्याम्पसको आईसोलेशनमा जाने निर्णय गरेको हुँ ।’ उनी क्याम्पसमा राखिएका संक्रमितलाई माथिल्लो भागसम्म प्याकिङ खाना र खाजा पु¥याउन दैनिक पाँच पटकसम्म आइसोलेसन पुग्छन् । ’ क्यान्टिनमा बनेको खाना बाहिरी तहसम्म लगिदिनुहुन्छ’, उनले भने,’ त्यहाँबाट भित्र लैजादा खाना बनाउनेलाई पीपीई लगाउन असजिलो हुने अनि नलगाउदा जोखिम हुने भएकाले मैले लगिदिने गरेको छु ।’
एक्ला सारथि
क्याम्पस प्रमुख महाप्रसाद हड्खले आफै संक्रमितको सेवामा खटिएका बेला पानी ट्यान्की बनाउदा लडेर घाइते भए पछि अहिले सबै जिम्मेवारी सन्जयकै काँधमा आइपुगेको छ ।’ सर पनि लडेर घाइते भए पछि उहाँ नहुँदाको समस्या समाधान होस् भनेर सकेको सेवा गरेको छु’ उनले भने,’ मेयर सावले नियमित सहयोग गरिदिनुभएको छ ।’ हुन त क्याम्पसमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि छन् । तर स्वास्थ्यकर्मी माथि नै रहने र सुरक्षाकर्मी बाहिरी घेरामा नै रहने भएकाले भित्र र बाहिरको समन्वय गर्ने काम पनि सन्जयकै काँधमा छ । आफू कुनै लाभ वा प्रचारका लागि नआएको बताउने उनी अप्ठेरो परेका बेला सघाउने संस्कृति युवामा बसाउन आफुले सकेको भुमिका खेल्ने बताउँछन् ।
सुरक्षित छु
धेरैले आइसोलेसनमा भएकाले उनको सुरक्षामा चिन्ता गरेका छन् ।’ आइसोलेसनमा भएकाले परिवार र साथीभाईले चिन्ता लिनु स्वाभाविक हो,’ उनले भने,’ तर म सकेको सुरक्षा अपनाएर काम गर्दैछु ।’ खाना पु¥याउन जाँदा पीपीई लगाउने गरेका उनी काम सकेपछी साबुन र स्यानिटाइजर प्रयोग गर्छन् । तर यसो भन्दैमा म अरु कसैसँग भौतिक सम्पर्कमा छैन । पुस्तकालयमा बस्दै आएका उनी सुरक्षागार्ड र अरु कर्मचारी र साथीबाट टाढा बस्छन् ।’ सुरक्षा अपनाए पनि अरुमा केही नहोस् भनेर सबैसँग भौतिक दुरी बनाएर बसेको छु ।’ पछिल्ला दिनमा नियमित संक्रमित थपिएकाले कहिले घर फर्किने निश्चित नभए पनि आफ्नो आवश्यकता रहदासम्म सेवा दिनेमा विश्वस्त छन्, उनी । भन्छन्,‘अरु थप स्वयंसेवक तयार नहुँदासम्म म निरन्तर खट्नेछु ।’ कोरोनाको बढ्दो संक्रमणका बीच उनी कति समय खट्नुपर्ने हो, यसै भन्न सकिन्न ।