नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ हुन अब एक महिना पनि बाँकी छैन । सरकार र सम्बद्ध निकायहरु भ्रमण वर्षलाई सफल बनाउन लागि परिरहेका छन्, आवश्यक तयारी गरिरहेका छन् । यसै सन्दर्भमा तनहुँका पृथ्वी राजमार्गले छोएका स्थानीय निकायले राजमार्ग सरसफाई अभियान समेत सुरु गरेका छन् । जुन प्रसंसनिय काम हो । यद्यपि यो अभियानका बारेमा पनि विभिन्न खाले टिका टिप्पणी नभएका होइनन् । चियाको कपमा सुनामी ल्याउने नेपाली समाजमा कुनै कामका प्रति टिका टिप्पणी हुनलाई अस्वाभाविक मान्नु हुँदैन । तर मुल कुरा के हो भने भ्रमण वर्ष सफल बनाउनु छ र यो हामी सबैको कर्तव्य हुन आउँछ ।
भ्रमण वर्षमा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । हालको झण्डै एघार लाखलाई २० लाखसम्म पु–याउनु सहज छैन तर असम्भव पनि होइन तर हामी मा केही र अत्यावश्य सुधार नगर्ने हो भने त्यो लक्ष्य भेटाउनु असम्भव जस्तै हुनेछ । भ्रमण वर्षलाई अवसरको रुपमा सदुपयोग गर्ने हो र हाम्रो पर्यटनको विकासमा यसलाई कोशेढुंङ्गा बनाउन चाहेको हो यदि हामीले भने सडक तथा अन्य पूर्वाधारको विकासमा हामीले जोड दिनु आवश्यक छ भने हामीले आफ्नो आचरणमा पनि सुधार ल्याउनु जरुरी छ ।
हाम्रो अपेक्षा छ, चीनबाट लाखौं पर्यटक हरेक वर्ष विदेश भ्रमणमा निस्कन्छन् । ति मध्ये केही प्रतिशत नेपाल आए हुने । अथवा हरेक वर्ष अमेरिका, बेलायत लगाएत मुलुकका लाखौं पर्यटक विदेश भ्रमणमा निस्कन्छन्, ति मध्ये केही प्रतिशत नेपाल आइदिए हामीलाई २० लाख पर्यटक पु¥याउन कुनै कठिन हुने थिएन । तर हामीले यो अपेक्षा गर्नु कमसेकम हाम्रो पूर्वाधार विकासमा भएको कमिले दिदैन् । किनभने एक घण्टमा आफ्नो देशमा रेल चढेर सयौ किलोमिटर यात्रा तय गर्ने उनीहरका लागि नेपालको सडकमा गर्ने यात्रा कष्टकर हुने गरेको यथार्थ हामीले भुल्नु हुँदैन । हाम्रो सडकको अवस्था यति दयनिय छ कि काठमाण्डौंबाट विहान ८ बजे पोखरा हिंडेको पर्यटक मध्यान्ह पनि पोखरा पुग्दैन जबकि उसको देशमा यति दुरी यात्रा गर्न एक घण्टा र थप केहि समय मात्र लाग्छ । यात्रा त थकान मेटन् र आफुलाई ताजा बनाउन पो गर्ने हो र हाम्रो सडकमा यात्रा गर्दा झन थकाइ लागेर, शरिरका अङ्ग–प्रत्यङ्ग दुखेर हैरान भईन्छ । यस्तो अवस्थामा बेलायतमा दौडने सुविधा सम्पन्न चुच्चे रेलमा नेपाल भ्रमणका लागि आग्रह गरिएको व्यानरहरु टांग्दैमा कुनै पर्यटक हाम्रोमा आइहाल्लान भन्नु त्यति संगत कुरा हुँदैन ।
अहिले विश्वमा चलिरहेको पर्यटनको अर्काे लहर हो, साहसिक पर्यटन । हामी कहाँ साहसिक पर्यटनको प्रसस्त सम्भावना भएपनि त्यसको विकास र प्रचार प्रसार हुन नसक्दा पर्यटनको विकास अपेक्षा गरे अनुरुप हुन नसकेको हो । यसका साथै पर्यटन व्यवसायमा आउन चाहनेहरुलाई सहज वातावरण नभएका कारणपनि हामी कहाँ पर्यटनको विकासले गति लिन नसकेको हो । हामीलाई प्रकृतिले नै सगरमाथा दिएको छ, अन्य मनोरम दृष्यहरु दिएको छ अनि भौगोलिक तथा हावापानीमा विविधता दिएको छ धिमा गतिमा नै सहि पर्यटनको विकास भएको छ । न भए हामीले आफ्नो प्रयत्नमा पर्यटनको विकासका लागि खासै केही गरेका छैनौं । खेती नै नगरी बाली भित्र्याउने अपेक्षा गर्नु जायज हुँदैन पनि ।
अर्काे मूल समस्या त हाम्रो प्रवृत्तिमा छ । मुखले अतिथी देवो भवः भन्ने तर गोरो छाला भएका पर्यटक देखेपछि के गर्दा धेरै भन्दा धेरै ठग्न सकिन्छ भनेर दिलो ज्यानले लाग्ने हाम्रो प्रवृत्ति पर्यटन विकासमा ठूलो अबरोध हो । हाम्रो अतिथी सत्कार केवल पैसामा सिमित हुन पुग्दा एक पटक नेपाल आएको पर्यटक फेरी फर्केर नेपाल नआउने र अरु साथीहरुलाई पनि नेपाल आउन सल्लाह नदिने अवस्था सृजना भएको छ । भारतीय पर्यटकलाई धोती भनेर हेप्छौं भने आन्तरिक पर्यटकलाई पर्यटक मान्ने बानीको विकास हामीमा भर्खरै हुँदैछ नभए ति हेलाँका पात्र थिए । यी र यस्तै कारणले हामीले अपेक्षा गरे अनुरुप पर्यटनको विकास हुन नसकेको हो । यी पक्षहरुमा सुधार गर्ने हो भने अलौकिक सुन्दरताले भरिएको नेपाल भ्रमणमा विदेशी नआउने भन्ने कुरै हुँदैन ।