पृष्ठभूमिः
संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम व्यास नगरपालिकाले व्यास नगरपालिका फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७४ लाई नगर सभाबाट पारीत गरी २०७४ चैत्र २० गते स्थानीय राजपत्रमा प्रकाशित गरी २०७५ श्रावण १ गतेबाट प्रचलनमा ल्याएको छ । सोहीअनुसार अहिले व्यास नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई पृथक संकलन गर्न दैनिक सूचना प्रवाह गरेको छ । व्यास नगरपालिकाको फोहोर उठाउने साधनमा विसर्जन गर्न सूचित गरेको छ । ऐनले निषेधित क्षेत्र तोेकेको छ । निषेधित क्षेत्रभित्र फोहर विसर्जन गर्नेलाई प्रथम पटक, दोस्रो पटक गर्दै तेस्रो वा सो भन्दा बढी पटकेलाई प्रति पटकको पाँचहजार जरिवाना गर्ने कानूनी व्यवस्था गरेको छ ।
ऐनको स्वरुपः
व्यास नगरपालिकाले जारी गरेको ऐनमा पाँच परिच्छेद र एक अनुसूचीमा विभक्त बुझिन्छ । वेवसाईडले पाँच परिच्छेद मात्र देखाएको छ । व्यास नगरपालिकाको वेवसाइडमा राखेको सो ऐनको परिच्छेद एकमा संक्षिप्त नाम, परिभाषा, ऐनको व्याख्या, ऐनको संसोधन व्यवस्था गरिएको छ । परिच्छद २ मा सरसफाई शुल्क, निषेधित क्षेत्र भित्र, जरिवानाको व्यवस्था गरिएको छ । परिच्छेद ३ मा सरसफाई अुनगमन तथा कार्यान्वयन समिति गठनको व्यवस्था गरिएको छ । परिच्छेद ४ मा समन्वय, प्रोत्साहन, पुरस्कार र सम्मान र परिच्छेद ५ मा निषेधित क्षेत्र, फोहरमैला निष्कासन गर्ने समय र स्थानको बारेमा उल्लेख गरिएको छ ।
जरिवानाको स्वरुपः
व्यास नगरपालिका फहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७४ ले निषेधित क्षेत्रमा फोहर राख्ने वा फाल्नेलाई पहिलो पटकको लागि पाँच सय जरिवाना गर्नेछ । त्यसपछि दोस्रो पटक फोहार फाल्नेलाई एक हजार जरिवाना गर्नेछ । तेस्रो पटकदेखि पटकै पिच्छे पाँच हजार जरिवाना गर्ने गरी कानून पारीत गरिएको छ । त्यसैगरी कन्टेनर, सरसफाई सवारी साधन तोडफोड गर्नेलाई पहिलो पटकको लागि पाँच हजार जरिवाना गर्ने व्यवस्था छ । दोस्रो पटकको कसूरदारलाई दश हजार जरिवाना गर्नेछ । तेस्रो पटकदेखि पटकैपिच्छे ५० हजार जरिवना गर्ने अधिकार व्यास नगरपालिका निर्मित कानूनले प्रदान गरेको छ । फोहरमैला संकलन स्थल, विर्सजन मार्ग र विसर्जन स्थलमा अवरोध गर्नेलाई व्यास नगरपालिकाले पहिलो पटकका लागि ३० हजार जरिवना
गर्नेछ । त्यसपछि पटकैपिच्छे पचास हजारका दरले जरिवना गर्न सक्ने गरी व्यास नगरपालिकाले कानून अनुमोदन गरी कार्यान्वयनमा ल्याएको छ । सो बमोजिमको शुल्क र जरिवना नतिर्ने नगरवासीले प्रयोग गर्दै आएको विजुलीवत्ती, पिउने पानीको सुविधा कट्टी गर्ने, सञ्चालन गर्दै आएको उद्योग धन्दा बन्द गराई दिने र घरजग्गा विक्री वितरणमा समेत रोक लगाउन सक्ने कानूनको अनुमोदन गरिएको छ ।
सह्रानीय पक्षः
व्यास नगर पालिकाको सुन्दरता फोहरको उचित व्यवस्थापनबाट हुन सक्दछ । व्यास नगरपालिकाले नगरको सरसफाईमा चासो देखाउनु त्यसलाई उचित व्यवस्थापन गर्नु, पुरस्कार सम्मान र दण्डको व्यवस्था गर्नु हाम्रो सामाजिक मनोविज्ञानले थोपरेको वाध्यता हो भने बुझ्नु पर्नेहुन्छ । सभ्य समाजको पहिचान दिनका लागि पनि फोहोर मैलाको उचित व्यवस्थापन गर्नै पर्दछ । आम नगरवासीले सहयोग गर्नुपर्दछ ।
कमजोर पक्षः
व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापन गर्नका लागि पुरस्कार र दण्डको व्यवस्थापन गरेको छ । अनुगमन तथा कार्यान्वयनको लागि समिति गठन गरेको छ । काम कर्तब्य र अधिकार तोकेको छ । समन्वय गर्ने संयन्त्रको तर्जुमा पनि गरेको छ । यसको साथसाथै क्षतिपूर्तिको पनि व्यवस्था गर्न सकेको भए सह्रानाको प्रतिशत बढ्न सक्ने थियो । संविधानको भावनालाई आत्मसात गरेको मानिन्थ्यो । ध्वनी प्रदूषण नियन्त्रण र नियमनलाई पनि ऐनमा सम्बोधन गर्न सकेको भए स्थानीय सरकार सञ्चालन ऐनको भावनालाई उचित सम्मान दिएर व्यास नगरपालिका फोहोरमैला व्यवस्थापन सम्बन्धि ऐन २०७४ जारी गरेको सह्रानीय सन्देश प्रवाह हुन सक्दथ्यो ।
निष्कर्षः
हरेक कामको सकारात्मक पक्ष र नकारात्मक पक्ष हुन्छ नै । नकारात्मक प्रतिशतभन्दा सकारात्मक प्रतिशत बढी भयो भने त्यस्तो कार्यको सबैले सह्राना गर्नुपर्ने हुन्छ । त्यसैले फोहोरमैला उचित व्यवस्थापनको क्रियाशिलता, सरसफाई सचेतनाको अभिबृद्धिले आमनगरवासीमा आफ्नो कर्तब्यबोध हुनेछ भनेर विश्वास गर्न सकिन्छ । नगरवासीको कर्तब्यवोधबाट हाम्रो नगर सुन्दर सभ्य हुन पुग्दछ । देशभरमा आफ्नो खालको पहिचान कमाउन सक्दछ । संगसंगै नगरपालिकाको जिम्मेवार पक्षले नगरवासीलाई दण्ड र जरिवना गरेर आयस्रोत बृद्धि गर्ने सोंच राखेको सन्देश नजावस भन्नेतर्फ बढी सजगता अपनाउनु पर्दछ । जनसरोकारको अनुसूची ऐनको साथमा वेवसाईमा हुन गएको छुटले दिएको सन्देशप्रति चनाखो रहनु पर्दछ । नगरपालिकाको सेवा प्रवाह प्रतिको जिम्मेवारीवोधले नगरवासीको कर्तब्यवोधलाई प्रशिक्षित गराउदछ ।