अबको तीन दिनपछि अर्थात १५ असारमा धान दिवस मनाईँदैछ । कहिल्यै हिलो नटेकेका नेताहरु सस्तो लोकप्रियताकै लागि भएपनि क्यामेरामा कैद गरिन्जेल हिलो टेक्छन् । रमाएको स्वाङ गर्छन् र धानको महिमा गाउँछन् । धान उत्पादन बढाउने बडे बडे योजना सुनाउँछन् र भन्छन्, त्यसका लागि तपाईँहरु मलाई संसद बनाउनु पर्छ । नेताका भाषण सुन्दा यस्तो लाग्छ, धानको बीऊ र चाहे जति मल हाम्रो घरआंगनमा भोली नै आईपुग्छ । सिंचाई कुलो वा नहर तुरुन्तै बन्छ ।
नेपालको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढाउँदै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सन्देश आमनागरिकमा पु¥याउने उद्दश्यले यो दिवस मनाउने
गरिन्छ । केही वर्ष अगाडिसम्म खाद्यान्न अभाव झेलेका मुलुकलाई खाद्य सहायताको रुपमा धान पठाउने तथा धान निर्यात गर्ने हाम्रो देश नेपाल अहिले झण्डै वार्षिक ५० अर्बको चामल आयात गर्ने मुलुकमा पर्दछ । यस्तोमा धान दिवस, फेरी मुलुकलाई पूर्वावस्था अर्थात धान निर्यात गर्ने मुलुकको रुपमा लैजाने उद्देश्यका साथ मनाउन थालिएको अनुमानसम्म गर्न पर्ने बाद्यता र विवसतामा हामी छौं ।
हाम्रो विडम्बना के हो भने कूल जनसंख्याको झण्डै दुइतिहाई संख्या कृषि पेशामा रहेको मुलुक धान, मकै, गहुँ जस्ता खाद्यबाली आयात गर्नमा बर्षेनी खर्ब रुपैयाँ भन्दा बढी खर्च गर्ने अवस्थामा छ । खासगरी राज्यले कृषि उत्पादनमा आत्मनिर्भरताको नीतिलाई बहुआयामिक ढंगले हेरेर सोही अनुरुप कार्य प्रक्रिया कडाइका साथ कार्यान्वयन नगर्दासम्म खाद्यान्न उत्पादनमा पूर्वावस्थामा फर्कने सपना सपना नै रहने छ ।
सबैभन्दा पहिलो कुरा त किसानले समयमा उन्नत बीउ तथा मल सहजै पाउने अवस्था हाम्रोमा छैन । हरेक वर्ष धान, मकै वा गहुँ बाली लगाउने बेला मल अभावको कुरा जोड तोडले उठ्छ । मल कारखान खोल्ने भाषणहरु गरेर दलका नेताहरु किसानलाई अर्काे वर्ष समयमै र सहजै मल पाईने सपना बाँड्छन्, भनेको समयमा बीउ पाईँदैन । सिँचाईको समस्या उस्तै छ । अझैपनि उब्जाउँ फाँटहरु सिँचाईको अभावमा धाँजा फाटेर बसेका छन् । देशमा रोजगारीको उपयुक्त अवसर नहुँदा र कृषि उत्पादन गरेपनि बजारको अभावमा सडकमा मिल्काउनु पर्ने अवस्थाका कारण दैनिक जसो युवा जनशक्ति विदेशिने क्रम बढेको छ । उत्पादक उमेर समूहको जनशक्ति बाहिर पठाएर उत्पादन बढाउन सकिएन भन्नु व्यर्थ छ ।
धानबाली लगाउने यो सिजनमा मल अभावका कारण कतिपय किसानको रोपाई रोकिएका समाचार पढ्नु, सुन्नु परेको छ । यो हरेक वर्षको नियती हो । बीउको माला लगाउने वा गमलामा धान रोपेर धान दिवस मनाउने विडम्बना कहिलेसम्म ? समयमा मल बीउ उपलब्ध नगराउने तर धानको उत्पादन बढाउँछौं भन्ने हाम्रो राज्य संयन्त्रले धान दिवसको मर्म अनुसारको कर्म गर्न सक्नु पर्दछ । कृषिप्रधानदेशमा धान दिवसको मर्म अनुसार मनाउने संस्कार र श्रृङ्खला यो लोकतान्त्रिक राज्यसंयन्त्रले ढिलै भएपनि शुरु गरेर बढ्दो जनआक्रोसलाइ मथ्थर गर्न सकोस्–धान दिवसको हार्दिक शुभकामना ।
धान दिवसको मर्म र कर्म-सम्पादकीय
previous post