रमेश विकल
नेपालका पुराना र ठूला दलहरु नेपाली कांग्रेस, नेपाल कम्युस्टि पार्टी एमाले तथा नेकपा माओवादी विस्तारै अलोकप्रिय हुँदै गएको पछिल्ला तीन निर्वाचनको परिणामले देखाएको छ ।
लोकप्रियता घटेसंगै दलहरुले प्राप्त गर्ने मत पनि घट्दै गएको छ । तर दलका नेताहरु आफुलाई सच्याउनेभन्दा पनि जसो गरे पनि चल्छ भन्ने मानसिकताले काम गरिरहेका देखिन्छन् । सबैलाई दलको सबैभन्दा ठूलो नेता बन्ने वा आफुमात्र नेता बन्ने महत्वाकांक्षाले आम नागरिकको साथ र समर्थन गुमाउँदै जाँदा ठूलो दलको सानो नेता हुनु इन्कार गर्दै सानो दलको ठूलो नेता बन्ने होडमा नेताहरु लागिरहेका दखिँदैछन् ।
गणतन्त्रको स्थापनामा आफ्नो सबैभन्दा ठूलो भूमिका रहेको बताउने माओवादी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सर्वाधिक लोकप्रिय दल थियो । उसले कुल सदर मतको २९ं.२८ प्रतिशत मत पाएको थियो । प्रत्यक्ष तर्फका २४० मध्ये १२० स्थानमा जित हात पारेको माओवादीले समानुपातिकमा पनि पुराना दुई दलले भन्दा निकै धेरै १०० सिट हात पारेको थियो । कांग्रेसले प्रत्यक्ष तर्फ ३७ स्थान जितेर २१.१४ प्रतिशत मत पाउँदा एमाले प्रत्यक्षतर्फ ७० स्थान जितेर २०.३३ प्रतिशत लोकप्रिय मतमा खुम्चिएको थियो ।
त्यस पछिका तीन ओटै निर्वाचनले माओवादीको लोकप्रियताको ग्राफ तिब्र गतिमा ओरालो लागेको देखाएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कुल सदर मतको १५.२१ प्रतिशत लोकप्रिय मत पाएको माओवादीले २०७४ को निर्वाचनमा १३.६६ प्रतिशत तथा २०७९ को निर्वाचनमा ११.१३ प्रतिशत लोकप्रिय मत पायो । लडाकु शिविर घोटाला काण्ड, बहिर्गमित लडाकुको चेक खोस्ने काण्ड, सुन काण्ड, रोशनी काण्ड, हङकङका व्यापारीसंग सांसद खरिदविक्रिका लागि पैसा मागेको काण्ड, नेताहरुको परिवार र पैसा मोह आदिले माओवादीलाई लोकप्रियताको पुछारमा धेकेल्दै लगेको छ र खुम्चिँदै गएको छ ।
उता नेपालको सबैभन्दा जेठो दल भनिने नेपाली कांग्रेसले २०६४ को निर्वाचनमा गुमेको जनविश्वास दोस्रो संविधान सभा निर्वाचनका बेला केही आर्जन गरेको देखिएपनि त्यस यताका निर्वाचन परिणामले उ पनि अलोकप्रिय बन्दै गएको देखाएको छ । २०७४ को निर्वाचनमा ३२.८७ प्रतिशत लोकप्रिय मत पाएको कांग्रेस पछिल्लो निर्वाचनमा २५.७१ प्रतिशत लोकप्रिय मतमा खुम्चेको छ । यसैगरी नेकपा एमाले ३३.२५ प्रतिशत सहित लोकप्रिय मतका आधारमा सबैभन्दा अग्र स्थानमा थियो । लोकप्रिय मतको आधारमा उ अझै पनि अगाडि छ तर उसको मत भने २६.९५ प्रतिशतमा ओर्लेको छ । भ्रष्टाचारका अनकौं काण्डहरु, भद्रगोल भातृ तथा शुभेच्छुक संगठन र नेतापिच्छेका गुठका कारण कांग्रेसल जनसमर्थन गुमाउँदै गएको छ । उता एमालेको संगठन तुलनात्मक रुपमा चुस्त हुँदा हुँदै पनि भ्रष्टाचारको खुल्लमखुल्ला संरक्षण, फरक विचार राख्नेहरुको राजनैतिक भविष्य धूलिसात पार्ने नेतृत्वको व्यवहार, इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्ता पाखा लाग्ने अनि त्यसको ठाउँ नवधनाढ्यले लिने गर्दा जनताबाट टाढा हुँदै गएको छ ।