हिजो बुधबार मे २२ मा संसारभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइयो । पृथ्वीमा जीवनको समृद्धि र विविधतालाई वर्णन गर्ने यो दिवस मनाउने सम्दर्भ के थियो र कहिलेबाट मनाउन थालियो भन्ने विषयमा संक्षेपमा चर्चा गरेर अन्य विषयमा प्रवेश गर्ने अनुमति चाहन्छु ।
प्रजाति विविधता, आनुवंशिक विविधता र पारिस्थितिक विविधताको बारेमा विश्व समुदायलाई जानकारी गराउँदै जैविक विविधता र जीवनबीचको नङ–मासुको सम्बन्ध बताउने उद्देश्यले मनाउन थालिएको यो दिवस सन् १९९४ मे २२ बाट संसारभर मनाउन थालिएको हो । विश्व संस्था संयुक्त राष्ट्र संघले भने सन् २००० मा आएर यो दिवस मनाउने घोषणा गरेको हो ।
जैविक विविधता संरक्षण भित्र प्राणी अर्थात मानिस र पशुपंक्षीको विविधता र त्यसको संरक्षण मात्र पर्दैन बरु संसारमा भएको लाखौ प्रकारका वनस्पतिको विविधता र तिनको संरक्षण पनि पर्दछ । हामीले हाम्रालागि अनावश्यक ठानेका कतिपय प्राणी र वनस्पति अत्यन्त उपयोगी हुन्छन् । जैविक विविधता संरक्षणको महत्व बुझ्न खाध्य चक्रको महत्व बुझ्यौं भने पर्याप्त हुन्छ । अर्थात साग, बाघ र बाख्रोबीचको त्रिकाणीय सम्बन्ध बुझ्न सक्दा मात्र पनि जैविक विविधताको संरक्षण किन आवश्यक छ भन्ने कुरा बुझ्न सक्छौं । यसलाई सरल रुपमा अर्थात सबैले बुझिने रुपमा भन्नु पर्दा सागविना बाख्राको अस्तित्व सम्भव छैन किनभने उसको बाँच्ने आधार नै साग हो । अनि बाख्रोेविना बाघको अस्तित्व रहँदैन किनकी बाघको खाना भनेको बाख्रा हो । र अन्त्यमा बाघको अस्तित्वसंग सागको अस्तित्व जोडिएको छ । यसरी संसारमा जतिपनि प्राणी वा वनस्पति छन् तिनीहरुको आ–आफ्नो महत्व रहेको र त्यसलाई आत्मसाथ गर्दै सबैको अस्तित्व रक्षामा मानव समुदायको महत्वपूर्ण भूमिका हुने कुरालाई बुझाउन शायद विश्वव्यापि रुपमा यो दिवस मनाउन थालिएको हो ।
जैविक विविधताभित्र मुलतः तिन कुराहरु समावेश हुन्छन् । पहिलो हो जीवित प्राणी र वनस्पतिका प्रजातिका
विविधता । हालसम्म भएका खोज अनुसन्धानले संसारभर झण्डै १४ लाख प्रजातिको जीव तथा वनस्पति रहेको देखाएको छ । र मैले माथि भनिसकेको छु, हामीलाई हानीकारक लागेका तथा अनावश्यक लागेका कयौं जीव तथा वनस्पति अत्यन्त आवश्यक र उपयोगी हुने गर्दछन् । त्यसैले ति जीव तथा वनस्पतिको संरक्षण हुनु जरुरी छ । जैविक विविधता भित्र पर्ने अर्काे पक्ष हो, वासस्थानगत विविधता । पृथ्वीमा पाइने ति लाखौं जीवको वासस्थान कसैको पानी, कसैको जमिन त कसैको आकाश रहेको छ । यदि हामीले ति सबै जीवको संरक्षण गर्ने हो भने त्यो संगै तिनीहरुको वासस्थान संरक्षणको कुरा पनि जोडिएर आउँछ । कुनै जीव वा वनस्पतिलाई ओसिलो जमिन चाहिन्छ भने कुनैलाई मरुभूमि । यसो विचार गरौं त, याक र चौरीलाई तराईतिर लगेर छाडिदिने हो भने के होला ? अनि हात्ती र गैडालाई हिमाली भेगमा लगेर छोड्यौं भने के तिनको अस्तित्व रहला ? यि त एक, दुइ उदाहरण मात्र हुन् । बासस्थानगत विविधता भएका अरु थुप्रै जीव तथा वनस्पतिका अरु थुप्रै उदाहरण हामी भेट्टाउन सक्छौं । जैविक विविधताको तेस्रो पक्ष भनेको कुनै प्रजातिभित्र पाइने वंशानुगत विविधता हो । नेपालमा विभिन्न प्रजातिको गुराँसहरु पाईन्छन् । सल्लाका विभिन्न प्रजातिहरु पाईन्छन् । भ्यागुताको विभिन्न प्रजाति छन् । चराको प्रजातिको त हामी कहाँ कुरा गरी साध्य छैन । कुनै उड्न नसक्ने चरा, कुनै नाचेर मानिसलाई मोहित पार्ने चरा अनि कुनै कुसल कारीगरलेभन्दा राम्रो र बलियो घर बनाउने चरा । झण्डै ९०० प्रजातिका चराको वासस्थान हो , नेपाल ।
वनस्पतिगत विविधताका दुष्टिले पनि नेपाल निकै धनी छ । विश्वको कुल क्षेत्रफलको ०.१ प्रतिशत अंशमात्र ओगटेको नेपाल जैविक विविधताका दृष्टिले त्योभन्दा धेरै अंश ओगटन सफल छ । भनिन्छ, संसारमा पाईने फूल फूल्ने प्रजातिका विरुवामध्ये झण्डै तीन प्रतिशत विरुवा नेपालमा पाईन्छन् । त्यसैगरी स्तनधारी वन्यजन्तुका ४.५ प्रतिशत प्रजाति नेपालमा पाईन्छन् । आकाशमा सबैभन्दा बढी उचाइमा उड्ने खोया हाँस, सबैभन्दा अग्लो भूभागमा फल्ने मार्सी धान नेपालमा पाईन्छ । जुन एकताका निकै चर्चित थियो । यतिमात्र होइन संसारकै सबैभन्दा विषालु सर्पमध्येको राज गोमन पनि नेपालमा पाईन्छ । १८० भन्दा बढी प्रजातिका अनि संसारमै विरलै पाईने प्रजातिका माछाको वासस्थान मात्र होइन नेपाल बरु उचाइका हिसाबले संसारकै सबैभन्दा अग्लो अनि आकाशमा निर्वाध कावाखाँदै उँड्न सक्ने सारस पनि हाम्रै देशमा पाईन्छ । जैविक विविधताको खानी भनेपनि हुने हाम्रो मातृभूमि नेपाललाई संसारकै ठूलो नायन जातको भेडाले आफ्नो वासस्थान बनाएको छ भने विश्वकै ठूलो गौरी गाई पाइने देश पनि हाम्रै हो ।
तर पछिल्लो समय जैविक विविधता संरक्षण विश्व समुदायका लागि चुनौति बन्दै आएको छ । विश्वव्यापि जलवायु परिवर्तन, जीव तथा वनस्पति जगतमा देखा परेका आक्रामक प्रजातिहरु, त्यसैगरी देखापरेका अनकौं रोगहरु, मानिसले आफ्नो क्षणिक फाइदाका लागि गर्ने गरेको प्रकृतिको अधिक दोहन, बढ्दो जनसंख्यासंगै बढ्दै गएको प्रदूषण तथा सहरीकरण आदिका कारण जैविक विविधता संरक्षणमा चुनौति आएको छ । यसको संरक्षणमा कुनै एक समुदाय वा देश मात्र लागि परेर हुने अवस्था छैन बरु सम्पूर्ण विश्व समुदाय ढिला नगरी लागि पर्नुपर्ने बेला भएको छ ।
मानिसले आफ्नो अस्तित्व रक्षाका लागि जैविक विविधताको संरक्षण गर्नु आवश्यक त छ नै पछिल्लो समय पर्यटनको माध्यमबाट आय आर्जनका लागि पनि जैविक विविधता संरक्षण जरुरी भएको छ । हामीले बुझेकै छौं, चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गर्ने पर्यटक जैविक विविधताको रसस्वादन गर्नकै लागि आउने हुन् । त्यसैले जैविक विविधताको संरक्षण अब मानिसको जीवनका अतिरिक्त आर्थिक विकासको पक्षसंग पनि जोडिएको छ ।
सर्प देख्नासाथ मार्ने होइन बरु यसको महत्व मानव जीवनमा कति छ भन्ने सत्यलाई मनन गरेर बचाउने तिर लागौै । क्षणिक फाइदाका पछि लागेर जीव र वनस्पतिको विनाश नगरौं । जैविक विविधता संरक्षणमा नै हाम्रो जीवन जोडिएको छ । आफ्नो जीवनसंग खेलवाड गर्ने गल्ती नदाहो¥याउँ । अस्तु ।
नङ–मासु सम्बन्ध
previous post