भोली शुक्रबार विश्व उपभोक्ता अधिकार दिवस । उपभोक्ता अधिकारका कुरा गर्दा सन् १९६२ र तत्कालीन अमेरिकी राष्ट्रपति जोन एक केनेडीसम्म कुनु पर्ने हुन्छ । सन १९६२ मार्च १५ तारिखमा केनेडीले सूचना, सुरक्षा, छनौट र सुनुवाइलाई उपभोक्ता अधिकारका चार स्तम्भ घोषणा गरेका थिए । सोही ऐतिहासिक दिनको सम्झनामा र विश्वभर छरिएर रहेका उपभोक्तालाई सूचित र जागरुक बनाउन यो दिवस मनाउन थालिएको हो । नेपालको उपभोक्ताको हित संरक्षण हेतु २०५४ मा उपभोक्ता संरक्षण ऐन बनेको छ । यो ऐनले नेपाली उपभोक्ताका विभिन्न आठ अधिकार सुनिश्चित गर्दै उनीहरुले सचेतना पूर्वक र जागरुक भएर आफ्ना अधिकार उपभोग गर्नुपर्ने बताएको छ ।
अपभोक्ता संरक्षण ऐन २०५४ का अनुसार सुरक्षा, सूचना, छनौट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार उपभोक्तालाई
हुनेछ । तर प्रश्न के हो भने के नेपाली उपभोक्ताले यि सबै अधिकारको निर्वाध उपभोग गर्न पाएका छन् ? उत्तर सहज छ, पाएका छैनन । केही समय अगाडी दमौली सफा सडकमा रहेको रेष्टुरेन्टमा वासी अचार भेटेर नष्ट गरेको समाचार पढ्न÷सुन्न पाइयो । उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्ने रेष्टुरेन्ट सञ्चालक सामान्य जरिवानाबाट उम्किए । त्यस्तै अर्को समाचार तुरुन्त पढ्न पायो कि दमौली मेनरोडमा रहेको मदिरा पसले म्याद गुज्रेका वियर बेच्दैगर्दा रङ्गेहात पक्राउ परे । यो उपभोक्ताको स्वास्थ्य माथिको गम्भीर खेलवाड थियो । तर ति मदिरा व्यवसायी पनि सामान्य जरिवाना र भविष्यमा यस्तो नगर्ने लिखित प्रतिवद्धता पछि छुटे । ति मदिरा व्यवसायीको यो दोस्रो पटक थियो ।
यस्ता दृष्टान्त खोज्दै जाने हो भने थुप्रै
भेटिन्छन् । तर गम्भीर अपराधमा पनि सामान्य जरिवाना वा प्रतिवद्धतामा दोषीहरु छुट्ने भएपछि उपभोक्ताहरु जाखिममा छन् । जोखिमबाट पार पाउन हामी उपभोक्ता स्वयम सचेत र जागरुक हुनु जरुरी
छ । यो वर्षको विश्व उपभोक्ता अधिकार दिवसले हामी सबैमा सचेतना र जागरुकता ल्याओस भन्ने कामना ।