Tanahun Awaj
विचार/दृष्टिकोण

भोर्लेटार चोकको भित्तो

रमेश विकल

दैनिक भोर्लेटार चोक हुँदै दमौली बजार र घर गर्दै गर्दा मेरो मनमा भोर्लेटार चोकमा बनेको अग्लो भित्तोको कसरी सदुपयोग गर्न सकिन्छ होला ? भन्ने प्रश्न उब्जिरहन्छ ।
म राज्य व्यवस्थासँग असन्तुष्ट युवा भएको भए अथवा राज्य व्यवस्थाका क्रियाकलाप देखेर आक्रोषित युवा भएको भए मैले यो भित्तोलाई असन्तुष्टि अभिव्यक्त गर्ने वा आक्रोषको आगो ओकल्ने थलो बनाउने थिएँ होला, जुन अहिले भइरहेको छ । म पर्यटन व्यवसायी भएको भए मेरा आँखाले त्यो भित्तोमा के देख्दा
हुन ? वातावरणविदको आँखा, असल संस्कृति र परम्पराको निरन्तरतामा विश्वास राख्नेको आँखा, धार्मिक र आध्यात्मिक मनहरुको आँखा, भाषा, कला,संस्कृति र साहित्यका अनुरागीहरुका आँखाले त्यो भित्तोमा के देख्दा हुन् ? भन्ने जिज्ञासा पनि मेरो मनमा तँछाड मछाड गरेर आइरहन्छन् । कुनै दिन भने म अपाङ्गता भएको व्यक्ति वा जेष्ठ नागरिक भएको भए अथावा ट्राफिक प्रहरीको अधिकारी भएको भए भित्तासँगको मेरा अपेक्षा के हुँदा हुन् ? भनेर गम खाने गर्छु ।

यस्तै प्रश्नहरुको उत्तर खोज्न मैले अघिल्लो साता फेसबुकमा उक्त भित्तँोको तस्वीर राखेर लेखें, यो भित्तोको कसरी सदुपयोग गर्न सकिएला ? यो लेख तयार पार्दासम्म झण्डै ११ हजार फेसबुक प्रयोगकर्ताले हेरेको यो पोष्टमा थोरै तर महत्वपूर्ण प्रतिक्रिया आए । पहिले केही सकारात्मक प्रतिक्रिया उल्लेख गरेर अगाडि बढ्न चाहन्छु । दमौली निवासी करुण काफ्लेले प्रतिक्रिया जनाउँदै लेखेका छन्र्, “पारी सिधा साइडमा पनि पिल्लर उठाउने ठाउँ पाए त आकाशे पुल बनाउन सपोर्ट हुन्थ्यो होला यो भित्तोले”। समाजिक सञ्जाल प्रयोगकर्ता रामजी तिमल्सिनाले तनहुँको चिनारी झल्किने आकृतिहरुको तस्वीरहरु अंकित गर्नुपर्छ भन्ने मेरो धारणा छ भनेका छन् । प्रतिक्रियामा हुन्चिङ मगर्नीले लेखेकी छन्, यो बाटो हुँदै कति विदेशी पर्यटक हिँड्ने गरेको उल्लेख गर्दै उक्त भित्तोमा गौतम बुद्धको चित्र कोरेर बुद्ध वाज वर्न इन नेपाल लेख्नु पर्ने तथा दायाँबायाँ तनहुँ जिल्ला झल्काउने खाले चित्र कोर्ने । झलक पाण्डेले व्यास अंकित फोटो पेन्ट गर्दा राम्रो हुने बताएका छन् भने लक्ष्मण डौलियाले यसरी डेकोरेट गर्दा उत्तम देखिन्थ्यो कि भनेर केही एआई निर्मित तस्विर पोष्ट गरेका छन् ।
प्रतिक्रियामा धु्रव बानियाले ट्राफिक नियम पालन गर्ने तस्विर बनाईदिए राम्रो भनेका
छन् । यसैगरी टिकाराम दाहालले राम्रो प्लाष्टर गरी सन्देशमुलक नारा, व्यासको ठूलो फोटो तथा भानुभक्त र घाँसीको तस्वीर बनाउँदा राम्रो हुने उल्लेख गरेका छन् । भित्तोको दुरुपयोग हुन थालेकोमा मनोज श्रेष्ठले चिन्ता जनाएका छन् । अर्का फेसबुक प्रयोगकर्ता आयुष पोखरलेलले यसरी सदुपयोग गर्न सकिन्छ भन्दै एआईको सहयोगमा निर्मित सुन्दर तस्वीर सहित प्रतिक्रिया दिएका छन् र पोखरेलले राखेको तस्वीर यसै लेखमा संलग्न छ ।
यि प्रतिक्रियाहरु पढिसक्दा मलाई लाग्यो, सडक विस्तारका क्रममा बन्ने अग्ला र फराकिला भित्ताहरू केबल सिमेन्ट र ढुङ्गाका संरचना मात्र नभई नेपाली पहिचान झल्काउने खुल्ला क्यानभास बन्न सक्छन्, बनाउने सकिन्छ । आयुष पोखरेलले पोष्ट गरेको कमेन्टमा भित्तामा व्यास नपाको नक्सा, मानुङकोट, छाब्दी बाराही तथा व्यास ऋषिको चित्र कोरेको देख्न सकिन्छ ।
यो भित्तालाई व्यास नगरपालिका र समग्र तनहुँ जिल्लाको चिनारी बनेको कौरा नृत्य तथा घाटु, सोरठी, चुड्का जस्ता परम्रागत नृत्यहरु अनि विभिन्न जातजातिका भेषभुषा, संस्कृति झल्कने ठूला चित्रहरु बनाएर सुन्दर र सजिव बनाउन सकिन्छ । यो भित्ताँमा छाब्दी वाराही मन्दिर, व्यास गुफा, परासर गुफा, तनहुँ कालिका मन्दिर, मादी नदीमा बन्न लागेको आर्क ब्रिज, मानुङकोट, परेवाडाँडा, दुम्सीकोट, तनहुँसुर दरवार, घाँसी कुवा, क्यामिनकोट कालिका, गलेखामकोट लगाएतको ठूला चित्रहरु बनाउन सकिन्छ । यतिमात्र होइन यि चित्रहरुको छेउमा क्युआर कोड राख्ने तथा त्यसको स्क्यान गरेर पर्यटकले ति क्षेत्रहरुको इतिहास, भूगोल,संस्कृति, नजिकैका पर्यटकिय स्थलहरु र घरबास(होमस्टे)को बारेमा नक्सा सहितको डिजिटल जानकारी पाउन सक्ने व्यवस्था गर्न सकिन्छ । अथवा भित्ता मै जिल्ला वा क्षेत्रको पर्यटकीय रुट म्याप कोरेर आन्तरिक तथा वाह्य पर्यटकको यात्रा सहज बनाउन सकिन्छ ।
यो भित्तालाई भर्टिकल गार्डेन बनाउने पनि अर्काे उपयुक्त विकल्प हुन सक्छ । यसले स्थानीय प्रजातिका फूलहरुको संरक्षण हुने, हरियाली प्रवद्र्धन हुने तथा लोपोन्मुख प्रजातिका वनस्पतिको संरक्षणमा समेत सहयोग पुग्न सक्छ ।
व्यास, परासर तथा भानुभक्त र घाँसीको चित्र कोरेर माथि भनिए झै क्युआर मार्फत भाषा तथा साहित्यको विकासमा उनीहरुको योगदानबारे जान्न पाउने व्यवस्था पनि विकल्प हुनसक्छ ।
सही लेनबाट मात्र सवारी चलाउन, मोटरसाइकल चालकलाई हेल्मेट अनिवार्य रुपमा लगाउन, जेब्राक्रसबाट मोटरसाइकलको लेन परिवर्तन नगर्न, पैदल यात्रुलाई जेब्राक्रसबाट मात्र सडक पार गर्न, जेब्राक्रसमा पैदल यात्रुलाई पहिलो पालो दिन, अधिक गतिमा सवारी नचलाउन प्ररित गर्ने खालका सन्देश र चित्र कोर्न सक्दा ट्रफिक नियमको पालनामा वृद्धि र सडक दुर्घटनामा कमि आउन सक्छ । अपाङ्ता भएका वा जेष्ठ नागरिकलाई बाटो काट्न सघााइ रहेको दृश्य अंकित गरेर नयाँ पुस्तालाई जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान र सहयोग गर्न प्ररित गर्न सकिन्छ ।
भोर्लेटार चोकमा मात्र होइन अन्यत्र पनि बनेका यस्ता भित्ताहरुका सदुपयोग गर्ने अनेक विकल्पहरु छन् । यस्ता सडकका भित्ताहरूलाई सुन्दर बनाउँदा एकातिर दृश्य प्रदूषण कम हुन्छ भने अर्कोतिर पर्यटकहरूका लागि यात्रा रोचक बन्छ । यसले नेपालको सभ्यता, संस्कृति, परम्परा, इतिहास, धार्मीक तथा सांस्कृतिक महत्व, आदर्श र मौलिकतालाई विश्वसामु चिनाउन एउटा सस्तो र प्रभावकारी माध्यमको रूपमा काम गर्न सक्छ ।

Related posts

बाल दिवसका कुरा-सम्पादकीय

admin

हचुवा निर्णयको मूल्य र खस्कँदो शैक्षिक गुणस्तर-सम्पादकीय

Deepak Joshi

निभ्यो प्रदीपरुपी दीप

admin