Tanahun Awaj
कानुन

बैंकिङ कसूर तथा सजाय ऐनमा संसोधन

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
नेपाल सरकारले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ मा संसोधन गरेको सूचना चैत्र २४ गतेको राजपत्रमा प्रकाशित गरेको छ । सो संसोधनले सावकि ऐनका व्यवस्थामा रुपमान्तण र खारेजी समेत एघारवटा संसोधन गरेको छ, विशेष गरी यो संसोधनले नौ ओटा दफामा संसोधन तथा थप गरेको छ ।
भएका संसोधनहरुः
बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा २ को खण्ड ‘च’ लाइ संसोधन गरेर सहकारी बैंक भन्नाले सहकारी ऐन २०७४ को दफा १२ बमोजिम गठन भएको सहकारी बैंक सम्झानु पर्दछ भनिएको छ । त्यसैगरी खण्ड ‘ज’ मा रहेको सहकारी संघ संस्था भन्ने वाक्यांश झिकिएको छ । खण्ड ‘ञ’ पछि ट थप गरेर चेकको परिभाषा गरिएको छ । ‘ठ’ थपेर चेक अनादरको परिभाषा गरिएको छ । ‘ड’ थप गरेर धारकको परिभाषा गरिएको छ । दफा ३ पछि ३क थप गरेर रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था थप गरिएको छ । ऐनको दफा १२ मा भएको व्यवस्थामा केही शब्दांश सम्सोधन गरेर सहकारी संघ संस्थाको शब्दको सट्टा सहकारी बैंक भन्ने शब्द राखिएको छ । दफा १४ख मा संसोधन गरेर स्वीकृति प्राप्त नगरी बैंकिङ कारोवार गर्न नहुने भन्ने संसोधन गरिएको छ । दफा १५ मा संसोधन गरेर उपदफा १ पछि उपदफा १क थप गरिएको छ । यो संसोधनले चेक जारी गरेको मितिदेखि रकम भराएको मितिसम्म प्रचलित कानुन बमोजिमको व्याज समेत भराइ चेक जारी गर्ने खातावालालाई विगोको पाँच प्रतिशत जरिवना र कैद गर्ने व्यवस्था गरिएको छ । पहिलेको व्यवस्था अनुसार विगो भराइ विगो बमोजिम जरिवानाको व्यवस्था थियो । यो व्यवस्था अहिले बढी चर्चाको विषय बनेको छ । त्यसैगरी दफा १७ को देहायक १ पछि देहाय १क थप गरी चेक अनादर भएको मितिले पाँच बर्षभित्र मुद्धा दायर गर्न सकिने व्यवस्थालाई संसोधन गरेर एक बर्ष भित्र जाहेरी दिन पर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले चेक बाउन्स गराएर पाँच बर्षको हदम्यादभित्र पैसा उठाउन नसके मुद्दा दायर गर्ने मानसिकतामा बसेका धारकलाइ अप्ठ्यारो पारेको व्यापक चर्चाको विषय बनेको छ । यसैगरी दफा १९ पनि संसोधन गरेको छ । २६क को व्यवस्था थप गरेर बैंकिङ्ग कसुर मुद्दामा पनि मिलापत्र गर्न सकिने व्यवस्था राखेको छ । यो मिलापत्र अनुसन्धान चरणमा र अदालत प्रवेश गरिसकेपछि पनि हुने व्यवस्था छ । यसरी मिलापत्र हुँदा ऐन बमोजिम हुने सजाय हुनेछैन भन्ने व्यवस्था रहेको छ । यो संसोधित व्यवस्थाले बैंक तथा वित्तिय संस्था भन्ने शब्दहरुको सट्टा बैंक तथा वित्तिय संस्था वा सहकारी बैंक भन्ने शब्दहरु राखी रुपान्तरण गरेको छ । यो संसोधनले विनियमेय अधिकार पत्र ऐन २०३४ लाई खारेज गरेको छ । चालु् मुद्धा सोही खारेज भएको ऐन बमोजिम गर्न भने बाधा नपर्ने जनाएको छ । यो खारेजी विषयमा पनि सरकारी नियतको निकै आलोचना भएको छ ।
आलोचनाको विषयः
बैंकिङ्ग कसुर तथा सजाय ऐन २०६४ को करिव नौंवटा संसोधनको विषयमा आलोचना हुनुमा मुख्यतः सरकारले सबै धारकहरुलाई परेको अप्ठ्यारोलाई नजर अन्दाज गर्न हुँदैनथ्यो । मुठ्ठीभर निहित स्वार्थी समूहको प्रभावमा सरकारले यो ऐनलाई संसोधन गर्दा आमनागरिकलाई परेको मर्काप्रति सरकार उदासिन र गैरजिम्मेवार बन्यो भन्ने कानुनविद्हरुको धारणा रहेको छ ।
निष्कर्षः
कानुन सामाजिक आवश्यकता हो । सामाजिक हितका लागि कानुन बन्ने र संसोधन गर्ने कानुनको शासन मान्यता हो । जनहित विपरित स्वार्थसमूहको स्वार्थ पुरा गर्न
राज्यले भएको काननुमा संसोधन गर्नु शासकीय अपराध हो ।

Related posts

विव्यस विघटन, नियमावली र वैद्यता

admin

नैतिकता बोधित आचारसंहिता

admin

बदनियतपूर्वक अनुसन्धानको परिणाम

admin