Tanahun Awaj
विचार/दृष्टिकोण

विस्मृतिमा धकेलिन लागेका नायकको स्मृति

रमेश विकल

राजद्रोहको अभियोगमा विसं १९९७ कार्तिकमा तत्कालिन राणा सरकारबाट पक्राउ परेका ८६ जनामा उनी पनि एक थिए । सोही माघ ६ मा राजवन्दीहरुलाई जम्मा पार्दै श्री ३ जुद्ध समशेरको आदेशमा तत्कालिन मीरसुब्बा महेन्द्रबहादुर महतले उनी सहित चार जनालाई सर्वस्व सहित ज्यान सजायँ सुनाए । कोही सर्वस्व सहित जन्मकैदको सजाय पाउने थिए भने कोही सर्वस्व गुमाउने त कोही अन्य प्रकारका सजायँ पाउने थिए । उनले सबै तिर सर्सती हेरे । सजायको भागिदार बनेका कसैको मुहारमा कुनै प्रकारको विष्मय भाव
देखिएन । सबै, जहानीय राणा शासनको अन्त्यमा आफ्नो सानो भएपनि योगदान हुने ठानेर गर्वले छाती फुलाएका देखिन्थे । ज्यान सजाय पाएका अरु तीन साथीहरुलाई हेरे । उनीहरुको मुहारमा त झन देशका लागि ,नागरिक स्वतन्त्रताका लागि बलिदान हुन पाएकोमा प्रसन्नता झल्किन्थ्यो । उनले सोचे हाम्रो यो बलीदानले राणा विरोधी आन्दोलनमा मलजल गर्नेछ । यो अन्दोलन रुपि विरुवा हामीले गरेको मलजलले राम्रोसंग हुर्कने छ र नेपाली नागरिकले छिट्टै जहानीया राणा शासनको जञ्जिरबाट मुक्ति पाउने छन् । प्रसन्न मुद्रामा साथीहरुलाई सम्बोधन गर्दै भने, “मेरो पार्थिव शरीर भष्म भएर जाला, मेरो आत्मा तबसम्म सिंहदरबारका वरिपरि नै घुमिरहने छ जबसम्म राणाहरुको दानवी शासन भष्म खरानी हुन्न ।”
यस्तो विशाल हृदय भएका, आम नेपालीको स्वतन्त्रताको लागि हाँसीहाँसी आफ्नो प्राण उत्सर्ग गर्ने तयार हुने व्यक्ति थिए, दशरथ चन्द । १९९७ माघ १४ गते शोभाभगवतीमा तत्कालिन मेजर जनरल नरशमशेरले गोली हानेर मारिएका चन्दको १२२ औं जन्म जयन्ती अघिल्लो साता असार १७ मा मनाइयो । मनाइयो पनि के भनौं केही मानिसले उनलाई सम्झिए । उनी जन्मेको जिल्ला बैतडी जहाँ उनको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ, त्यहाँ उनको विशेष सम्झना भयो । दशरथ चन्द स्मृति प्रतिष्ठानले हरेक वर्ष जस्तो विभिन्न कार्यक्रमहरु गरेर उनको योगदानलाई सम्झियो र अरुलाई उनको योगदान बारे जानकारी गरायोे ।
तर दुःख पूर्वक भन्नु पर्छ राज्यको माथिल्लो निकायका मानिसहरुले उनलाई सम्झने कष्ट उठाएनन् । झण्डै एक शताब्दी जरा गाडेर वसेको जहानियाँ राणा शासनको अन्त्यका लागि आफ्नो प्राण उत्सर्ग गर्ने दशरथ चन्द र अन्य शहीदको सम्झना अब सहिद सप्ताहमा सीमित भएको छ । निर्वाचनका बेला शहीदका योगदानको चर्चा र तिनका सपना पूरा गर्ने गफ चर्काे स्वरमा गरिन्छ, सिर्फ जनमन आकर्षित गर्न र मत तान्न । न भए बर्तमान नेतृत्वलाई गंगालाल श्रेष्ठ जसले २२ वर्षको कलिलो उमेरमा आफ्नो प्राण देशका लागि अर्पित ग¥यो, धर्मभक्त माथेमा जसले २३ वर्षको उमेरमै नेपालीलाई संसारमा सभ्य जातिका पहिचान बनाउन भन्दै त्यसमा अवरोध गर्ने राणाहरुका विरुद्ध आवाज बुलन्द ग¥यो र ज्यान गुमायो अनि शुक्रराज जोशी जसले जन अधिकारको आवाज बुलन्द ग¥यो र राणाहरुको कोपभाजनमा परेर ज्यान अर्पण ग¥यो सम्झिने दरकार नै पर्न छाडेको छ । आखिर किन ?
यो प्रश्नको उत्तर खोज्न विसं १९९७ साल असार ९ गते नेपाल प्रजापरिषदले जावलाखेलमा छरेको राणा विरोधी पर्चाको विशेषता बारे चर्चा गर्नु आवश्यक हुन्छ । नेपाल प्रजा परिषद्को स्वर्णजयन्ती स्मारिका–२०४३ मा छापिएका चार पर्चा मध्ये पहिलो उक्त पर्चाले शहीदको बलिदानी किन भन्ने स्पष्ट पारेको छ । नेपाल प्रजापरिषद्का प्रेसिडेन्ट समेत रहेका टंकप्रसाद आचार्यले आफ्नै हातले लेखेर तयार पारेको पर्चामा नेपाल प्रजापरिषद् भन्ने संस्थाको स्थापना नेपाली जनतालाई राणाहरुको क्रुर पञ्जाबाट आजाद या स्वतन्त्र गराई शुद्ध शिक्षा दिई आफ्नो जातिको मान, सम्मान, धन र धर्मको उपार्जन र उन्नतिद्वारा संसारका सभ्य जातिहरुमध्ये एक गराई आफ्नो देशको गौरव हजारौं वर्षसम्म दिशा दिशामा गुञ्जने गराउने उद्देश्यले भएको उल्लेख छ । पर्चामा अगाडि भनिएको छ, राणाहरुलाई मौकाले ठूलो सत्कर्म गर्ने सौभाग्य दिएको तर उनीहरुलाई स्वार्थले गुलाम बनाएको उल्लेख छ । राणा विरुद्ध आगो ओकलेको पर्चामा प्रजाको उन्नति गराउने सट्टामा प्रजाको रगत चुसी आफ्नो छोरा नाती धनी गराउने कोशिशमा राणाहरु लागेको भनिएको छ । पर्चामा नेपाली जनता सामु राणाहरुको पापको पोल खुल्ने दिन आउने र उठेको आन्दोलनले राणाहरुलाई बढार्ने समेत उल्लेख छ ।
अवस्था अहिले पनि उस्तै छ । खाली फरक त्यतिबेला राणाका सन्तान दरसन्तान पालै पालो राज्यको सर्वाेच्च निकायमा हुन्थे । अहिले छिन् छिनमा फरक फरक व्यक्ति जान्छन् तर नेपालीको शिर उँचो राख्ने, सम्पूर्ण नेपालीलाई सुखी र समुन्नत बनाउने सोच र चिन्तन कुनै दलका नेतासंग छैन । छ त केवल आफ्नो सात पुस्ताका लागि कमाउने । आसेपासेलाई धनी बनाउने । यस्तोमा यी सबै बेथितिको विरुद्ध बोल्ने दशरथको सम्झना कसरी आउनु ? उनका प्रति सम्मान भाव कसरी प्रकट हुनु ?
तिमीहरुको हितमा काम गर्छाै भनेर युद्धमा होम्ने तर शान्ति प्रक्रियामा आएपछि राज्यले तिनैलाई दिएको सुविधा खोस्ने नेता हाम्रै । यती, ओम्नी, वतास आदिका नाममा कमिसन हसुर्ने नेता हाम्रो मै । आफ्नै देशका दाजुभाइलाई भुटानी बनाएर अमेरिका पठाउने भन्दै करोडौं खाने नेता हामीसंगै । मकै पोलेर, गाँस काटेर सहकारीमा जम्मा पारेको रकम हिनामिना गरेर आफु अथाहा सम्पत्तिको मालिक बन्ने पनि हाम्रै नेता । यस्तो लाग्छ, हाम्रा नेताहरु आफ्नै आमाको कात्रो किन्दा पनि कमिसन खान्छन् । अनि राणाले गरेका यस्तै वेथिती विरुद्ध देशविदेशमा अनकौं माध्यमबाट आवाज बुलन्द गर्ने दशरथको सम्झना कसरी आउनु ? हाम्रा नेताहरुलाई पनि बारम्बार जनताको नाममा असल कर्म गर्ने अवसर प्राप्त भएको छ तर विडम्बना त्यो अवसरलाई छोपेर जनमनको नेता बन्ने काममा भने उनीहरु चुकेकै छन् ।
वास्तुविद् शंकरनाथ रिमाल र मुर्तीकार रत्नबहादुर तुलाधरको शिल्पमा सजिएर अन्य तीन साथीहरुसंगै ६२ वर्षदेखि शहीद गेटमा वर्तमानको वेथिती नियालिरहेका विस्मृतिमा धेकेलिन खोेजिएका स्वतन्त्रता सेनानी शहीद दशरथ चन्द प्रति हार्दिक कृतज्ञता । शहीद दशरथको १२२ औं जन्मजयन्तीको अवसरमा हाम्रा नेताहरुमा यो मौकाको सदुपयोग गर्ने प्रेरणा प्राप्त होस् भन्ने
कामना ।

Related posts

नयाँ सरकारसंगको अपेक्षा-सम्पादकीय

admin

सुनौलो भविष्यको थालनी

admin

सम्झना करुणामय न्यायाधीशको, सन्दर्भ आफ्नै

admin